म खोटाङ जिल्लाको सालम्बु गाउँमा जन्मिएर त्यहीँ हुर्किएकी हुँ । म जन्मिँदा बुवा मोहनबहादुर बस्नेत अहिले भोजपुर जिल्लामा पर्ने दिङलापु भन्ने ठाउँमा हुनुहुन्थ्यो रे, जहाँ हाम्रो खेती र धनसार थियो । न्वारनको अघिल्लो दिन मात्र बुवा घरमा पुग्नु भएछ । ऊ बेला अहिलेजस्तो टेलिफोन थिएन, बच्चा जन्मिएको खबर गए पनि के जन्मियो भन्ने बुवालाई थाहा रहेनछ । त्यसैले आँगनमा पुगेपछि घोडाबाट नओर्ली मेरो बुवाले आमा (मेरी हजुरआमा)लाई ‘आमा, के जन्मियो ?’ भनेर सोध्नुभएछ । हजुरआमाले भन्नुभएछ, ‘छोराजस्तै छोरी जन्मिएकी छे ।’
सायद मेरी हजुरआमा आफ्नो छोराको मुडलाई सामान्य बनाउन चाहनुहुन्थ्यो, त्यसैले छोरी जन्मिई भन्ने हिम्मत गर्नुभएन ।
जेठी दिदी बिन्दापछि अर्की छोरी जन्मिएर १५ दिनमै बितेपछि म आमाको गर्भमा आएकी रहिछु । गर्भमा आएदेखि ‘हे भगवान्, योपल्ट चाहिँ मेरो छोरो जन्मियोस्’ भनी आमाले प्रार्थना गर्दागर्दै म जन्मिएकी थिएँ रे । फेरि पनि छोरी जन्मिई भनेर आमा रुनुभएछ, आमालाई सान्त्वना दिँदै हजुरआमाले भन्नुभएको थियो रे, ‘चिन्ता नगर छोरी भए पनि यो छोराजस्तै हुनेछे ।’ छोरी जन्मिएपछि परिवारमा हेला भइने डरले आमा रुनुभएको थियो भन्ने बुझ्न गाह्रो पर्दैन । ‘तिमी यस्तो हुन्छौ भन्ने थाहा पाएको भए म के रुन्थेँ र ?’ भनेर आमाले मलाई केही वर्षअघि भन्नुभएको थियो ।
हजुरआमाले नै ‘छोराजस्तै छोरी’ भनिदिएपछि सानैदेखि म सोही रूपमा हुर्किएँ । मलाई माइली होइन, ‘माइलो’ र ‘बग्गु’ भनेर बोलाउन थालियो । मेरो नाम बग्गुबाट बग्गी, बबी हुँदै बबिता भएको हो । मैले थाहा पाउँदादेखि नै बुवा घरमा बस्नुहुन्नथ्यो, कहिले दूधकोशी ब्वाँजर घाटको ठेक्का त कहिले दिङलापु धनसार– सधैँबाहिर । पछि राजनीतिमा लागेपछि झन् बुवालाई हामीले कमै देख्न पाउथ्यौँ । घरमा आउनुभएका बेला म बुवासँग असाध्यै झ्याम्मिन्थेँ, बुवासँगै सुत्थेँ । बुवाले जे बोल्यो, त्यो सही हुन्छ जस्तो लाग्थ्यो । बुवाभन्दा विद्वान् अरू कोही हुन्छ भन्ने मलाई पछिसम्म थाहा थिएन ।
घरनजिकै रहेको जलेश्वरी प्राविको बुवा संस्थापक र सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो । हाम्रो गाउँका मात्र नभएर टाढा–टाढाबाट बच्चा त्यहाँ पढ्न आउँथे । वरिपरि वर–पिपलका चौतारा भएको स्कुलको वातावरण राम्रो थियो । पहिलोपल्ट हात डो¥याएर बुवाले नै नाम लेखाउन स्कुल लिएर जानुभएको थियो । त्यसपछि बुवा बाहिर गइहाल्नुभयो, मलाई भने स्कुल जानै मन नलाग्ने । आमाले कतिपल्ट ‘सिस्नो लाउँछु’ भन्दै जबर्जस्ती स्कुल पठाएको सम्झना छ । म स्कुल नजानुको कारण भने मेरो कपाल थियो । मेरो घुंग्रिएको कपाललाई लिएर साथीहरूले ‘निगुरमुन्टी न’ भनेर जिस्क्याउँथे । नामै ‘निगुरो’ राखिदिएपछि ‘स्कुल जान्नँ’ भनेर म रुन्थेँ, आमाले जबर्जस्ती पठाउनुहुन्थ्यो । हिजोआज सम्झिँदा ममाथि स्कुलमा ‘ह्यारेसमेन्ट’ भएको रहेछ । त्यसरी मलाई ‘निगुरो’ भन्नेमध्ये एकजना बालन्द राई पनि हुन्, उनी अहिले नाम चलेको राम्रो गायक छन् । हामी एउटै कक्षामा पढ्थ्यौँ । यो विषयमा हामी पछिसम्म हाँस्दै कुरा गथ्र्यौं ।
पछि थाहा भयो, मेरोजस्तो कपाल बनाउन मानिसले पार्लरमा धेरै पैसा र समय खर्च गर्दा रहेछन् । म कपालका कारण स्कुल जान नचाहेको थाहा पाएपछि बुवाले मलाई ‘तिम्रो जस्तो कपाल कसैको छैन’ भनेर ‘स्पेसल फिल’ गराउन खोजेको सम्झिन्छु । घोडा चढ्न मलाई बुवाले नै सिकाउनुभएको हो । पहाडी जिल्लाहरूमा जाँदा अहिले पनि म जस्तोसुकै घोडा सहज रूपमा चढ्न सक्छु ।
बुवाकै कारण रेडियो नेपालमा बिहान ७ बजेको समाचार सुन्ने बानी परेको थियो । घरमा रेडियो भएकाले गाउँका मानिस समाचार सुन्न हाम्रो घरमा आउँथे । बिहान चिया खाँदै सबैले समाचार सुनिसकेपछि मात्रै हामी आ–आफ्नो काम सुरु गथ्र्यौं । गाउँका महिला रेडियो सुन्न आएको मैले कहिल्यै देखिनँ । हुलाकबाट गएको गोरखापत्र २८ दिनपछि हामी पढ्न पाउँथ्यौँ । बुवाले माहोल बनाइदिएकै कारण मैले समाचारबारे बुझ्न पाएकी थिएँ ।
यति ठूलो सहरमा छोरीलाई एक्लै छाड्ने हिम्मत गर्नु सानोतिनो कुरा थिएन । त्यतिबेला घर फर्कंदै गर्दा बुवाको मुहारको तनाव म अहिले पनि महसुस गर्छु । तर, म काठमाडौं आउन पाएकामा दंग थिएँ ।
३ कक्षासम्म नजिकको स्कुलमा पढेपछि ४ कक्षादेखि हामी हाइस्कुल जान थाल्यौँ, चिसापानी मावि चिसापानी । घरबाट स्कुल जान मात्रै ठ्याक्कै डेढ घन्टा लाग्थ्यो । नौ वर्षकी सानी केटी म आउन र जान गरी दिनको तीन घन्टा हिँडेर स्कुल पढ्न थालेँ । ५ कक्षा सकेपछि म बिरामी भएँ । हिँड्न गाह्रो भयो भनेर बुवाले मलाई पढ्नका लागि उर्लाबारीकी मेरी कान्छी फुपू लक्ष्मी बाबा थापाकहाँ लिएर जानुभयो । ६ कक्षादेखि ८ कक्षाको आधासम्म मैले राधिका मावि उर्लाबारीमा अध्ययन गरेँ । तराईको पानीका कारण लगातार टनसिलले दुःख दिएपछि फेरि म खोटाङ फर्किएँ । मलाई अहिले पनि तराईको कलको पानी खाँदा घाँटी दुख्छ । बुवा नहुनु हुँदो हो त सायद मेरो अध्ययनको यात्रा ५ कक्षामै रोकिने थियो । उहाँले ‘छोरीलाई हिँड्न गाह्रो भयो, बिरामी भई’ भनेर मलाई कान्छी फुपूकहाँ पठाउनुभयो । मसँगै पढेका गाउँका साथी (उमेरमा दिदी)हरूले बीचैमा पढाइ छाडेर विवाह गरी अर्काको घर गएका थिए ।
म १३ वर्षकी हुँदा दशैँका बेला पहिलोपल्ट महिनावारी भएँ । त्यतिबेला अर्काको घरमा बार्न बसेकी थिएँ । बुवाले ‘चाडबाडको समयमा धेरै बार्नुपर्दैन’ भनेर मलाई घर बोलाउनुभएको थियो । अहिले सामान्य जस्तो लागे पनि त्यतिबेला किशोरी मानसिकतामा धेरै ठूलो आत्मबल दिने घटना थियो त्यो । बुवालाई छोरीहरू आफ्नो खुट्टामा उभिऊन् भन्ने थियो । यद्यपि छोराका लागि हरिवंशको पुराण लगाउने परिवार हो हाम्रो । तीनजना छोरी जन्मिएपछि छोराका लागि हरिवंशको पुराण लगाउँदा म पाँच वर्षकी थिएँ । अचम्म त के भने, पुराण लाएकै वर्ष भाइ जन्मियो । अहिले हामी चार छोरी र दुई छोरा गरी ६ सन्तान छौँ ।
बुवा राजनीतिमा लागेपछि मैले धेरै कुरा जान्ने अवसर पाएँ । जिल्ला पञ्चायत सदस्यमा निर्वाचित भएपछि बुवाको घर बसाइ झनै कम हुन थाल्यो । आमा (राधा)ले हाम्रो रेखदेख, घर तथा बाहिरको काम, वस्तुभाउको हेरचाहदेखि स्कुल पठाउनेसम्म एक्लै गर्नुहुन्थ्यो । जिल्ला पञ्चायत सदस्यपछि बुवाले जिल्ला उपसभापतिमा चुनाव लड्नुभयो, त्यतिबेला हामीले गाउँगाउँमा भोट माग्दै हिँड्यौँ । थोरै मतले बुवा पराजित हुनुभयो । तर मैले राजनीतिमा हुने दुःख र उतारचढावबारे प्रत्यक्ष जान्ने मौका पाएँ । राजनीति अहिले जस्तो थिएन । बुवाले राजनीति गर्दा हाम्रा केही खेत र बारी सकिए । खेतबारी सकिँदै गएपछि केही समय हामीले दुःख पायौं । सम्पत्ति सकिएको खान्दानी परिवारले के कस्ता परिस्थिति झेल्नुपर्छ भन्ने कुराको अनुभव मसँग छ ।
गाउँमा एसएलसी गरेपछि हामीसँग दुईवटा विकल्प थिए, सदरमुकाम दिक्तेलमा पढ्ने या काठमाडौं । दिदी दिक्तेलमा पढ्ने भएकाले सहज हुन सक्थ्यो, तर मैले काठमाडौं बसेर पढ्न जिद्धी गरेँ । काठमाडौंमा मेरो कान्छो मामा हुनुहुन्थ्यो, अर्जुन केसी । मामाको सहारामा बुवाले मलाई २०४५ सालमा काठमाडौं लिएर आउनुभयो । बुवाका लागि काठमाडौं सहर नयाँ थिएन, तर मेरा लागि नितान्त नयाँ । आफ्नो भाइसँग छोरीलाई पठाउन पाएकामा आमा खुसी हुनुहुन्थ्यो, तर खर्च जुटाउनेदेखि यात्रा गर्नेसम्मको उत्तरदायित्व बुवाकै थियो । यति ठूलो सहरमा छोरीलाई एक्लै छाड्ने हिम्मत गर्नु सानोतिनो कुरा थिएन । त्यतिबेला घर फर्कंदै गर्दा बुवाको मुहारको तनाव म अहिले पनि महसुस गर्छु । तर, म काठमाडौं आउन पाएकामा दंग थिएँ । अध्ययन गर्ने, आफ्नो खुट्टामा उभिने– सपनाहरू साधारण थिए । काठमाडौं भित्रिएको यो ३२ वर्षमा जिन्दगीले अनेकौँ परीक्षा लियो । कतिमा उत्तीर्ण भइयो, कतिमा भइएन, कतिलाई आफैँले ‘गिभ अप’ गरियो । काठमाडौंले मलाई जीवन बाँच्ने कुरामा मात्र सीमित नगरेर संसार बुझ्ने र सकेको अरूलाई पनि बुझाउने मौका दियो । मेरो बुवाले ‘जिल्लामै क्याम्पस छ, काठमाडौं किन जानुप¥यो ?’ भनेर दिक्तेल पठाउनुभएको भए म अहिले जे गरिरहेकी छु, यी काम गर्ने अवसरबाट वञ्चित हुने थिएँ । त्यतिबेला १७ वर्षकी मलाई काठमाडौंमा छाड्ने आँट गरेको र मप्रति विश्वास गरेको विषयलाई लिएर म बुवाप्रति सधैँ आभारी छु । अहिलेजस्तो टेलिफोन थिएन, हुलाकमार्फत बुवाले चिठी पठाइरहनुहुन्थ्यो । ‘प्यारी छोरी’बाट सुरु भएको चिठी ‘राम्रो गर्नू’मा पुगेर टुंगिन्थ्यो ।
हुर्काइका क्रममा पाएको वातावरणमा म विश्वास गर्छु । त्यति बेला जमाना त्यस्तै थियो, छोरीलाई ‘छोराजस्तो’ भन्दा इज्जत बढेजस्तो ठानिन्थ्यो । त्यसलाई म अहिले गलत ठान्छु । अहिले भए ‘म छोरी भएरै छोरीजस्ती छु’ भन्ने थिएँ होला । छोरीको पनि आफ्नै संसार हुन्छ भन्ने लागेको भए हजुरआमाले पनि निर्धक्कसँग ‘छोरी जन्मिई’ भन्नुहुन्थ्यो होला । बुवाले माइलो भनेपछि गाउँमा प्रायः मलाई माइला भन्थे ।
म सानो हुँदा छिमेकी कार्की बडाउ (बडाबा) ‘माइलो ठूलो हुन्छ, लाहुर जान्छ र मलाई कोट हालिदिन्छ’ भन्ने गर्नुहुन्थ्यो । गाउँमा छोराहरू लाहुर जाने चलन थियो । मेरो दिमागमा सानैदेखि आफूले कमाएर कार्की बडाउलाई कोट हालिदिनुपर्छ भन्ने भयो । पछि काठमाडौंमा कलेज पढ्दै परोपकार माविमा पढाउन थालेपछि पहिलो तलबले कार्की बडाउलाई कोट किनेर पठाइदिएँ । उहाँहरू अहिले उदयपुरमा बसाइँ सर्नुभएको छ ।
मेरो विचारमा बुवाहरू आमाहरूले जस्तो आत्मीयता देखाउन जान्दैनन्, तर सन्तानका लागि कहाँ कतिबेला के गर्नुपर्छ, त्यसको हेक्का राख्छन् । भावनात्मक हुन्छन्, तर व्यक्त गर्न सक्दैनन् । केही अनुत्तरदायी बाबुहरूका कारण हामीले सबै बाबुहरूलाई एकै ठाउँमा राखेर हेर्ने गरेका छौँ, जुन गलत हो । मेरो बुवा अहिले ७७ वर्षको हुनुभयो । उहाँको छहारी मेरा लागि अहिले पनि त्यतिकै महत्वपूर्ण छ, जति वर्षौंअघि थियो ।
प्रकाशित: ३ भाद्र २०७७ ०३:२१ बुधबार