यति ठूलो सहरमा छोरीलाई एक्लै छाड्ने हिम्मत गर्नु सानोतिनो कुरा थिएन । त्यतिबेला घर फर्कंदै गर्दा बुवाको मुहारको तनाव म अहिले पनि महसुस गर्छु । तर, म काठमाडौं आउन पाएकामा दंग थिएँ ।
फूलपाती सकिएपछि बुवाले माइलो बुवासँग सोध्नुभएछ, ‘बबु नहुँदा नरमाइलो भयो, के गर्ने ?’ माइलोबुवा यस्ता कुरामा असाध्यै कडा, भान्सामा चप्पल लगाएर बनाएको खाना अहिले पनि खानुहुन्न। तर उहाँले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। उहाँले भन्नुभएछ, ‘केही हुन्न, तीन दिन भइसक्यो, भोलि बोलाउनू।’