पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुर नजिकै सोमबार दिउँसो तीन सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना यात्रु घाइते भएका छन्।

चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुवाहक बसको टायर पड्किएर अनियन्त्रित भई हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको र सो ट्रक अनियन्त्रित भई काठमाडाैंबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोक्ने खाली ट्याङ्करलाई ठक्कर दिई दुर्घटना हुँदा बस र ट्रकमा सवार गरी ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घाइते सबैको उद्धार गरी उपचारको लागि हेटौंडास्थित हेटौंडा अस्पताल र सिएमसी चुरेहिल अस्पताल हेटौंडामा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ६ आश्विन २०८२ १५:५६ सोमबार





