१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी

ताप्लेजुङको फुङलिङस्थित नर्सरीमा रहेको बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको ट्यांकी । तस्बिर : नागरिक

ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको छ । सदरमुकाम अवस्थित फुङलिङ नगरपालिकाका उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजनाका साथ प्रशोधन केन्द्र परियोजना निर्माणको तयारी थालिएको हो । अहिले ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत फुङलिङ नगरपालिकाका विभिन्न वडाका उपभोक्तालाई खानेपानी सुविधा प्रदान गरिँदै आएको छ ।  

समितिले उपभोक्ताको घर–घरसम्म पाइप तथा धारा जडान गरेर खानेपानी सुविधा उपलब्ध गराउँदै आएको भए पनि बर्खा सिजनमा पानी धमिलो र मैलो हुने भएकाले स्वच्छ पानीका लागि प्रशोधन केन्द्र निर्माणको योजना अघि बढाइएको हो । फुङलिङ नगरपालिकाका उपभोक्तालाई स्वच्छ पानीको सुविधा उपलब्ध गराउनेगरी दैनिक १६ लाख लिटर पानी प्रशोधन गर्ने क्षमताको परियोजना सुरु गर्न लागिएको ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव रणबहादुर कार्कीले जानकारी दिए ।  

फुङलिङ नगरपालिका–४ र ७ मा पर्ने ताक्मेडाँडा नर्सरी क्षेत्रमा उच्च प्रविधियुक्त प्रशोधन केन्द्र निर्माणको योजना अघि बढाएको समितिका अध्यक्ष कमलप्रसाद गुरागाईंले बताए । अहिले उपभोग गरिँदै आएको पानीको मुहानमा बर्खा सिजनमा दर्के वर्षा हुँदा सडक नाली सहितको भलपानी पसेर फोहोरमैला हुने समस्या रहेकाले मैलो÷धमिलो पानीलाई फिल्टर गरेर स्वच्छ बनाउनेगरी उक्त प्रविधियुक्त प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको अध्यक्ष गुरागाईंले जानकारी दिए ।

उनका अनुसार प्रशोधन केन्द्र परियोजना निर्माणका लागि उपयुक्त र आवश्यक जग्गा उपलब्ध भएमा संघीय सरकारअन्तर्गत खानेपानी तथा व्यवस्थापन आयोजना इलाममार्फत चालू आवदेखि नै योजना स्वीकृत भई बजेटसमेत व्यवस्था भएर निर्माणको कार्य सुरु हुने छ । ताप्लेजुङ बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिमार्फत हालसम्म फुङलिङ नगरपालिका–९ हाङ्देवा बुङ्कुलुङ क्षेत्रका विभिन्न ६ वटा मुहान र पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २ वटा मुहानको पानी उपभोक्तालाई वितरण हुँदै आएको छ ।  

उक्त मुहानहरूबाट ल्याइएको खानेपानी विभिन्न ११ वटा रिजर्भ ट्यांकीमार्फत दैनिक १२ लाख ६० हजार लिटर पानी सदरमुकाम बजारसहित फुङलिङ नगरपालिका वडा नं. १ देखि ८ सम्म एक हजार ८२७ वटा धारा जडान गरी उपभोक्तालाई सुविधा दिँदै आएको समितिले जनाएको छ । प्रशोधन केन्द्र परियोजनाका विषयलाई लिएर उपभोक्ता समितिले आयोजना गरेको अन्तक्र्रियामा सबै पक्ष तथा क्षेत्रसँग समन्वय गरेर प्रशोधन केन्द्र निर्माणको प्रक्रिया सुरु गर्न सहभागीले सुझाव दिएका छन् । प्रशोधन केन्द्रका लागि पर्याप्त जग्गा चाहिने हुँदा सो उपलब्ध हुनलाई सहज नहुने सरोकारवालाले बताएका थिए ।  

निजी जग्गा भए जग्गाधनीसँग र सार्वजनिक भए सामूदायिक तथा डिभिजन वन कार्यालय लगायतका निकायसँग समन्वय गर्न सरोकारवालाले सुझाएका छन् । कार्यक्रममा पूर्व सांसद तिलकुमार मेन्याङ्बो, प्रदेश १ का सांसद बलबहादुर साम्सोहाङ,जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेन, फुङलिङ नगरप्रमुख छत्रपति प्याकुरेलसहित स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रकाशित: ३१ श्रावण २०७७ ०९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App