८ वैशाख २०८१ शनिबार
समाज

तनहुँका २० जना संक्रमित एकै बस्तीका बासिन्दा

तनहुँको भानु नगरपालिका–१ का २० जना बासिन्दामा शुक्रबार कोरोना भाईरस संक्रमण पुष्टि भयो। संक्रमितमध्ये ६ जना महिला छन्। एकैबस्तीका ती बासिन्दामा संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रमा त्रास छाएको छ। संक्रमितको घुलमिल बढी हुने क्षेत्र नजिकैको डुम्रे बजार भएकोले त्यहाँ पनि संक्रमण फैलिएको हुनसक्ने स्थानीयको आशंका छ।  

कोरोना भाईरस संक्रमण बढेसँगै गरिएको चारमहिने लकडाउन खुलेपछि प्रदेश २ का दुईजना निर्माण व्यवसायी भानुमा आएका थिए। ती व्यवसायीले सहरी विकास मन्त्रालय अन्तर्गतको डुम्रे–भन्सार सडक नयाँ सहर आयोजनाको कामको जिम्मा पाएका थिए। ती निर्माण व्यवसायीको सम्पर्कमा आएका दुईजना स्थानीयमा कोरोना संक्रमणको लक्षण देखिएपछि साउन २३ गते परीक्षण गरिएको थियो। कुनै ट्राभल हिस्ट्रि नभएका उनीहरुलाई रुघाखोकी, ज्वरो देखिएपछि कोरोनाको संक्रमणको आशंका गरेर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो।  

नगरपालिकाका वरिष्ठ अधिकृत तथा सूचना अधिकृत सुनिल पाण्डेका अनुसार दुईजनामा संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्ति पहिचान गर्दै केहीदिन अघि १२२ जनाको नमुना संकलन गरेर परीक्षणका लागि पठाउँदा शुक्रबार बिहानसम्म ८६ जनाको रिपोर्ट आउँदा २० जनामा संक्रमण देखिएको छ। जनप्रतिनिधि र नगरपालिकाका कर्मचारीबाहेक एकै बस्तीका ती गाउँलेमा संक्रमण पुष्टि भएको उनले बताए।  

‘८६ जनाको रिपोर्ट आउँदा २० जनामा संक्रमण पुष्टि भएको छ। अरु रिपोर्ट आउन बाँकी छ,’ पाण्डेले भने, ‘अझै केही रिपोर्ट पोजेटिभ आउने आशंका छ।’ उनका अनुसार प्रदेश २ बाट आएका दुईजना ठेकेदारमध्ये एकजना सम्पर्कमा छैनन। अर्का एकजनाका ठेकेदारको पनि नमूना संकलन गरेर पठाइएको छ। ती ठेकेदारको भने रिपोर्ट आईसकेको छैन।  

पाण्डेका अनुसार संक्रमण देखिनेमा एकैवडाका र एकै बस्तीका बासिन्दा हुन्। ती निर्माण व्यवसायीको त्यो बस्तीमा बाक्लो आउजाउ भएकोले उनैमार्फत नै बस्तीमा संक्रमण फैलिएको हुनसक्ने अनुमान छ। ‘भानु–१ भन्सारका एकै बस्तीका मान्छेमा संक्रमण देखिएको हो। ठेकेदारको त्यही टोलमा बाक्लो आउजाउ हुने गरेको जानकारी पाएका छौ,’ उनले भने, ‘ठेकेदारमार्फत संक्रमण फैलिएको आशंका गरेपनि ती ठेकेदारकहाँ काम गर्न कामदार भने अहिलेसम्म सुरक्षित छन्। जे जति संक्रमित भेटिए, ती सबै स्थानीय हुन्।’  

संक्रमितमध्ये दुईजना भन्सार चौकीका प्रहरी छन्। त्यसबाहेक वर्कसप व्यवसायी पनि संक्रमित भएका छन्। भन्सारका धेरै मान्छेको नजिकैको डुम्रे बजारमा बाक्लो आउजाउ छ। डुम्रे बजार डुम्रे बजार बन्दिपुरमा गाउँपालिकामा पर्छ। मान्छेको बढी आउजाउ डुम्रेमा हुने भएकोले त्यस क्षेत्रमा पनि संक्रमण फैलिएको हुनसक्ने भन्दै स्थानीय त्रसित रहेको उनले बताए। डुम्रे पृथ्वी राजमार्गमा पर्छ। त्यसबाहेक सुरुमा दुईजना संक्रमित भेटिएकामध्ये एकजना बन्दीपुर गाउँपालिका–५ याम्पाका बासिन्दा हुन्। उनको सम्पर्क पनि तराई क्षेत्रबाट आएका व्यवसायीसँग बढी सम्पर्क थियो। याम्पाका ती व्यक्तिमा संक्रमण देखिएपनि उनको सम्पर्कमा आएका अरु ४० जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गर्न थालिएको उनले बताए। संक्रमित भेटिएपछि अहिले भन्सार क्षेत्रको बस्ती पूर्ण रुपमा सिल गरिएएको छ। संक्रमित सबैलाई दुलेगौंडास्थित जिपि कोइराला स्वासप्रस्वास केन्द्रमा उपचारार्थ पठाइएको छ।  

भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पनि सुरुमा दुईजनालाई संक्रमण देखिएपछि आशंकामा अरु गाउँलेको परीक्षण गरिएको बताए। ‘गाउँका दुईजना युवामा संक्रमणको आशंकाले परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो। त्यसपछि हामीले उनीहरुको सम्पर्कमा रहेका १२२ जनाको परीक्षण गराएका हौ,’ गौलीले भने। गौलीका अनुसार शुक्रबारका सबैजसो संक्रमित एकैबस्तीका हुन्। त्यो बस्तीमा १५० घरजति रहेको भएपनि कन्टयाक्ट ट्रेसिङको आधारमा परीक्षणको तयारी भएको गौलीले बताए।  

 

 

प्रकाशित: ३० श्रावण २०७७ १०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App