१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘खोसिएको काख राहतले भरिँदैन’

चौरजहारी घटना

गत जेठ १० गते भएको रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोती घटनाका पीडित परिवारले संघीय सरकारले उपलब्ध गराउन लागेको राहत रकम प्रति शंका व्यक्त गरेका छन्। राहतका नाममा पैसा दिँदा न्यायमा चलखेल हुनसक्ने उनीहरूले शंका व्यक्त गरेका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले सोती घटनामा ज्यान गुमाएका जाजरकोटका नवराज विकसहित ६ जनाका परिवारलाई १०÷१० लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो।  

सरकारको उक्त निर्णय पीडित परिवारले बुधबार बिहान मात्रै थाहा पाएका थिए। राहत रकम लिँदा न्यायमा प्रभावपर्न सक्ने भन्दै राहत लिने विषयमा पीडित परिवार अन्योलमा छन्। आफूहरूलाई राहत नभई न्याय चाहिएको पीडित परिवारको भनाइ छ। ‘हामीलाई पैसा चाहिएको छैन,’ नवराजकी आमा उर्मिलाले भनिन्, ‘न्याय चाहिएको छ।’ राहतका नाममा पैसा दिएर न्याय कमजोर गराउन खोजेको उनको आरोप छ। नवराजका बुबा मोहनले पीडित परिवार सबै बसेर सल्लाह गर्ने बताए। राहत स्वरूप १० लाख रूपैयाँ दिने भन्ने सुनको भन्दै उनले भने, ‘यो राहतले अदालती प्रक्रिया फितलो गराउँछ कि भन्ने शंका छ।’ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको मुद्दा जस्तै फितलो भएमा राहतले न्याय मार्ने उनको भनाइ छ।

अर्का मृतक सञ्जु विककी आमा सविताले पनि न्यायभन्दा ठूलो पैसा नहुने बताइन्। ‘न्यायका अगाडि हामीलाई राहतको आशा छैन,’ उनले भनिन्, ‘हामीलाई राहतभन्दा न्याय चाहिएको छ।’ सरकारले मुद्दा कमजोर गराउन राहत दिन लागेको उनले आरोप लगाइन्। मुद्दा प्रक्रिया जारी भएकाले राहत रकम बुझ्दा न्याय मर्न सक्ने पीडित परिवारको भनाइ छ। मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म राहत रकम लिँदा न्याय कमजोर हुने उनले बताइन्।

‘हामीलाई पैसा चाहिएको छैन, न्याय चाहिएको छ। राहतका नाममा पैसा दिएर न्याय कमजोर गराउन खोजेको छ।’ – उर्मिला विक

‘राहत होइन हामीलाई न्याय देऊ सरकार,’ उनले भनिन्, ‘खोसिएको काख राहतले होइन न्यायले पूर्ति गर्छ।’ यता सोती हत्या काण्ड संघर्ष समितिले सरकारको निर्णय स्वागत योग्य भएको बताएको छ। न्यायलय र सरकार फरक फरक पाटो भएकाले यो निर्णय स्वागत योग्य भएको संघर्ष समितिका संयोजक नगेन्द्र शाहले बताए। ‘पीडित परिवारले केही शंका गर्नुभएको छ,’ उनले भने, ‘राहत लिँदा न्यायलयलाई प्रभाव नपार्ने हुँदा सरकारको निर्णय सकारात्मक छ।’ सांस्कृतिक रूपान्तरमा बलिदानी दिएकाप्रति सरकारले सम्बोधन गर्नुमा शंका गर्न नहुने उनको भनाइ छ।  

गत जेठ १० गते चौरजारीको सोतीस्थित मल्ल थरकी प्रेमिकालाई विवाहका लागि केटी लिन गएका जाजरकोटका नवराजसहित ६ जनाको मृत्यु भएको थियो। अन्तर जातीय विवाहका लागि उनी साथीहरूसहित प्रेमिकाको घर पुगेका थिए। अहिले उक्त मुद्दा जिल्ला अदालत रुकुम पश्चिममा क्रियामा छ। अदालतले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ, भने दुईजना सुधारलाई गृहमा पठाएको छ।

त्यस्तै एकजना धरौटीमा रिहाभएको र तीनजनालाई अदालतको आदेश अनुसार सामान्य तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले बताए। उनकाअनुसार निष्पक्ष छानबिनपछि सपुथ प्रमाणसहित अदालतमा मुद्दा दर्ता भएको छ। मृतक ६ जनाको शव भेरी नदीको जाजरकोट तर्फको किनारामा फरकफरक मितिमा भेटिएको थियो।

प्रकाशित: २९ श्रावण २०७७ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App