१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना कहरः सरकारी कार्यालयदेखि बजारसम्म लापरबाही

तस्बिरः विनोद/नागरिक

समुदाय तहमा कोरोना फैलिए पनि रुपन्देहीका सरकारी कार्यालयहरुले भने कुनै सावधानी अपनाएका छैनन् । कोरोना नियन्त्रणमा सक्रिय हुनुपर्ने सरकारी कार्यालयहरुले नै यसलाई लत्याउँदै सेवाग्राहीको भिड अनियन्त्रित बनाउन गरेका छन् । मालपोत, नापी, जिल्ला प्रशासन र राजस्व कार्यालयमा लागेको सेवाग्राहीको भिडले कोरोना महामारीको संकटलाई बिर्साउने गरेको छ ।  

सरकारले लकडाउन खुलाएसँगै रुपन्देहीका सेवाग्राहीको भिड लाग्ने कार्यालयले कुनै पनि सुरक्षा सावधानी नै नपनाएर आफ्नो सेवा प्रवाहलाई निरन्तरता दिएका छन् । बुटववल स्थित मालपोत कार्यालयमा दैनिक सेवाग्राहीको बजार लाग्ने गरेको छ । मालपोत कार्यालय वरपरका दृश्यले सरकारी निर्देशनको खिल्ली उडाएको छ । कोरोनाको जोखिमलाई दैनिक बढावा दिइरहेको छ । कार्यालयका वरपरका लेखापढी व्यवसायीको कक्षदेखि मालपोत कार्यालयको सेवा प्रवाह गर्ने कक्ष सेवाग्राहीको भिडले घेरिएको छ ।  

अनियन्त्रित भिडलाई नियन्त्रण गर्न मालापोत कार्यालयले कुनै सावधानी अपनाएको छैन । त्यहाँ रहेका लेखापढी व्यवसायी र सेवाग्राहीले समेत मास्क समेत नलगाएर खुलेआम काम गर्ने गरेका छन् । मालापोत कार्यालय बुटवलमा दैनिक २ देखि ३ सयसम्म सेवाग्राही आउने गरेका छन् । कुनै दिन त ४ देखि ५ सयसम्म सेवाग्राहीको भिड लाग्ने गरेको छ । कार्यालयमा पुग्ने सेवाग्राहीले असुरक्षित भएर दिनभर उभिदा पनि काम नभएर फर्किनुपरेको गुनासो गरेका छन् । ‘एकातिर कार्यालयमा अनियन्त्रित भिडले कोरोनाको डर भयो, अर्कोतर्फ काम नै नहुँदा थप सास्ती पाइयो’ बुटवलका आकाश थापाले भने ।  

मालपोत कार्यालयले कार्यालय भित्र समेत कुनै सावधानी अपनाएको छैन । कार्यालयका मालपोत अधिकृत घनश्याम अर्यालले सेवाग्राहीको भिड थेग्न नसक्ने अवस्थामा रहेको बताए । ‘हामी आफै त असुरक्षित भएर काम गरेका छौं, असुरक्षा छ त्यो कुरा हामीलाई नि थाहा छ तर के गर्नु सेवा नरोकेसम्म भिड थेग्न सकिन्न ।’ उनका अनुसार मंगलबार मात्रै १ सय ४५ जनाको लिखत भएको छ । जबकी एक सय जनाको काम भने बाँकी रह्यो । सामान्यतया एकजनासँग जग्गाको कामका लागि २ देखि ३ जनासम्म मानिसहरु आउने गर्छन् ।  

मालपोत कार्यालय बुटवलमा २१ दिनमा ३ हजार ४ सय ५ वटा लिखत आएको मालपोत अधिकृत अर्यालले बताए । यसमध्ये १ हजार ४ सय ४४ राजीनामा छन् । अर्थात यो महामारीका बीचमा पनि जग्गा किनबेच भने धमाधम भइरहेको छ । यस्तै १ हजार ३ सय ३८ भने बैंक तथा वित्तिय क्षेत्रमा धितोका लागि आएका सेवाग्राही हुन । ६ सय ६२ भने अन्य प्रकारका सेवाग्राही छन् । यो तथ्यांकले कोरोना महामारीले कुनै प्रभाव पारेको देखिएको छैन ।  

नियामक प्रशासनमा पनि उस्तै भिड  

रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा समेत नियमित सेवा लिनेहरुको भिड अत्यधिक लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयमा मात्रै दैनिक ३ सयको हाराहारीमा सेवाग्राहीहरु आउने गरेका छन् । सेवाप्रवाह गर्नुपर्ने भएकाले सावधानी अपनाएर सेवा दिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनका अनुसार लाईन लगाएर सेवा दिने गरिएको भएपनि कोरोनाको जोखिम भने कायमै छ ।  

जिल्ला प्रशासन आफैले कोरोनाको जोखिम हुन सक्ने भन्दै नागरिकलाई दूरी कायम गर्न, भिडभाडमा नजान र सरकारी निर्देशनको पालना गर्न आग्रह गर्दै आएको छ । तर, आफैले दूरी कायम गर्न भने सकेको देखिदैन । ‘सेवा दिन भनेर कार्यालय खोलेपछि दिनैपर्ने, तर सेवाग्राहीले कुरा बुझ्दैनन्’ प्रजिअ पन्थले भने । उनले जिल्ला प्रशासनसहित सेवाप्रवाह गर्ने सबै कार्यालयलाई सावधानी अपनाउन भनिएको बताए ।  

रुपन्देहीमा नापी कार्यालयमा पनि दैनिक ३ देखि ४ सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन् । नापी कार्यालयका प्रमुख अच्यूत कुँवरले दैनिक रुपमा सेवाग्राहीको भिड लाग्ने गरेको बताए । उनले मंगलबार मात्रै २ सय ५० जनाको बैकिङ प्रयोजनको सेवा प्रवाह गरिएको बताए । उनले कार्यालयमा अत्यधिक भिड लाग्न थालेपछि तालिका बनाएर सेवा प्रवाह गर्न थालिएको बताए । यसैगरि राजस्व कार्यालयमा समेत कर बुझाउने सेवाग्राहीको भिड बाक्लो लाग्ने गरेको छ । सरकारले नै नियम बनाउने तर सेवाप्रवाह भने लापरबाही पूर्ण ढंगले दिँदा कोरोनाको जोखिम थप उच्च भएको छ ।  

बजार पनि चहलपहल  

कोरोना महामारीको संकट समुदायस्तरमा फैँलदै गर्दा बुटवल र भैरहवा क्षेत्रका मुख्य बजारमा समेत न्यूनतम सावधानी समेत अपनाइएको छैन । मास्क बाहेक अन्य सुरक्षाका उपाय अपनाएको पाइँदैन । बुटवल बजारमा पार्किङ गर्न नमिल्ने गरि भिडभाड हुने गरेको छ । पसलमा दैनिक रुपमा मानिसहरुको जनघनत्व बाक्लिदै गएको छ ।  

निजी क्षेत्रका ठूला सपिङ कम्प्लेक्स, बैंक तथा वित्तिय संस्था, होटल र हाटबजारहरुमा मानिसहरुको भिड लाग्ने गरेको छ । सरकारी हरेक कार्यालयहरु सबैभन्दा बढि जोखिममा देखिएका छन् । सरकारी कार्यालय आफैले सभा सेमिनार, गोष्ठि र पत्रकार सम्मेलन गरेर कोरोनालाई निम्त्याइरहेका  छन् । प्रदेश सरकार, स्थानीय सरकारले समेत बुटवलमा मानिसहरुको जमघट हुने कार्यक्रम गर्ने गरेका छन् ।

प्रकाशित: २७ श्रावण २०७७ १३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App