१६ चैत्र २०८० शुक्रबार
समाज

ताप्लेजुङको देउराली क्षेत्रमा नमूना जैविक विविधता स्रोत केन्द्र बन्दै

देउराली क्षेत्रमा बन्ने गोलघर र स्रोतकेन्द्र भवनको डिजाईन ग्राफिक्स ।

कोरोना कहरले प्रभावित ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवामा अवस्थित देउराली भित्री सामुदायिक वन क्षेत्रमा निर्माणाधिन जैविक विविधता एकिकृत संरक्षण स्रोत केन्द्रको निर्माणको निर्माण कार्य तीव्र पारिएको छ ।

निर्माण र पूर्वाधारको बनावट दुबै दृष्टीले नमूना संरचनाका ठानिएको यो स्रोत केन्द्रको निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्न जिल्ला वन क्षेत्र समन्वय समिति सहितका सरोकारवालाले सुझाएसंगै निर्माण कार्यले थप गति लिएको हो । काठमाडौस्थित निर्माण व्यवसायी संस्था एसएनपीले निर्माण गरिरहेको भवन ‘नमूना’ स्वरुपमा देखिदैं गएकोले कामलाई तीव्रता दिई शीघ्र सम्पन्न गर्न सरोकारवालाले सुझाएका छन् ।

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले कोरोना प्रभावले अपेक्षाकृत निर्माण गति नलिएको स्रोत केन्द्र निर्माण कार्यमा अबको अवधि प्रयोग गर्न सुझाव दिए । फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले पर्यापर्यटन प्रवद्र्धनको उल्लेख्य सम्भावना बोकेको क्षेत्रमा निर्माणाधिन जैविक विविधता एकिकृत संरक्षण स्रोत केन्द्रको शीघ्र निर्माण कार्य पूरा भए यसले मुर्छित पर्यटन व्यवसाय क्षेत्रलाई पुर्नजागृत गर्ने बताउँछन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले यसलाई चाँडै सम्पन्न गरेर लक्ष्य अनुसारको प्रगति हासिल गर्ने योजनामा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

निर्माण व्यवसायी संस्था एसएनपीका सव इञ्जिनियर सागर पोखरेलका अनुसार निर्मार्णाधिन स्रोत केन्द्र पूर्णतया वातावरणमैत्री छ । अधिकाँस स्थानीय कच्चा पदार्थ प्रयोग गरिएका छन् । नेपालमा यस्ता कमै संरचना रहेको र त्यो तहको संरचना हिमाली जिल्ला ताप्लेजुङमा पनि बन्न लागेकोमा यो पूर्वी नेपालकै लागि गौरवकै विषय भएको उनले बताए । वातावरणमैत्री, स्थानीय कच्चा पदार्थको प्रयोग र टिकाउ तथा गुणस्तरीय भवनको स्वरुप आफुहरुले पाएकोले यसलाई शीघ्र सम्पन्न गर्न स्थानीय सरकारले समेत निर्माण व्यवसायी संस्थालाई अनुरोध गरेको फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा)को भनाई छ ।

पाथीभरा क्षेत्रको देउराली ननिक निर्माणाधिन स्रोत केन्द्रले १६१.७१ वर्गमिटर क्षेत्रफल ओगटेको छ । प्राविधिक पोखरेलका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री छन् । गोवर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चूना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । उल्लेखित सामग्रीको मिलानले संरचना वातावरणमैत्री बन्नुका साथै बलियो, टिकाउ र मौसम अनुकुलित प्रकृतिको हुने पोखरेलले बताए । उनका अनुसार प्रदेश नं १ मा यो तहको संरचना ताप्लेजुङपछि सोलुखुम्बुमा मात्र बन्न लागेको छ ।

हिमाली संरक्षण मञ्चको रेडपाण्डा नेवटर्कले यो स्रोत केन्द्र निर्माण गरिरहेको हो । १ करोड ५ लाख रुपैयाँको लागतमा हुने भनिएको स्रोत केन्द्र निर्माण कार्य त्यति बजेटले पूरा हुन नसक्ने स्थिति भएपछि परियोजनाको भेरिफिकेशन अर्थात पुर्नमूल्याङ्कन गरिने भएको छ । ‘कामको अवस्थाले आयोजनाको पुर्नमूल्याङ्कन अनिवार्य जस्तो देखिएको छ’निर्माण व्यवसायी संस्थाका साईड इञ्चार्ज अमृत भट्टराईले भने । २०२० को अगष्ट २६ भित्रमा पूरा हुनुपर्ने निर्माण कार्य पटक–पटकको झरी–बादल, हिमपात, कोभिड–१९ र लक डाउनका कारण भारत र चीन समेतबाट ल्याउनुपर्ने केहि निर्माण उपकरणको अभावले समस्यामा पारेको निर्माण कम्पनीले जनाएको छ ।

हिमाली संरक्षण मञ्चका कार्यक्रम निर्देशक रमेश राईका अनुसार स्थानीय स्तरमा भएको जैवि विविधता संरक्षण लगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन तथा सदुपयोग गर्न, पर्यापर्यटन व्यवसाय सचालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडिबुटी, रेडपाण्डा र संरक्षित जंगली जनावर, पंक्षि र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन स्रोत केन्द्र कामयावी हुने छ । पाथीभरा क्षेत्र रेडपाण्डाका लागि उपयुक्त वासस्थान भएको क्षेत्र भएकोले यो केन्द्रलाई एउटा अध्ययन केन्द्रको रुपमा समेत विकास गर्न सकिने राईले बताए ।

प्रकाशित: २७ श्रावण २०७७ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App