१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कालिकोट टिपर दुर्घटना : मृतक र घाइतेका आफन्तले राहत पाएनन्

भारतबाट आएका नागरिकहरु चढेको सरकारी टिपर दुर्घटना हुँदा ज्यान गुमाएका र घाइतेका आफन्तहरुले सरकारले घोषणा गरेको राहत नपाएको गुनासो गरेका छन्। जेठ २८ गते भारतबाट घर फर्कदैं गरेका नागरिकहरु चढेको रास्कोट नगरपालिकाको टिपर लालीघाट बजार नजिकै दुर्घटना भएर कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए।  

दुर्घटनाका पीडितहरुले मृतकका परिवारलाई १० लाख राहत, घाइतेको उपचार र नदीमा बगेको सम्पत्तीको क्षतिपूर्ति दिने स्थानीय र प्रदेश सरकार प्रमुखले आश्वासन दिएपनि पूरा नभएको पीडितहरुले बताएका छन्।  

‘प्रदेश सरकारका मुख्यमन्त्री र नगर प्रमुख दुबै जनाले क्षतिपूर्ति, उपचार र राहत दिने आश्वासन दिनुभएको थियो,’ पीडित हर्सिङ सार्कीले भने, ‘दुई महिना वित्यो अहिलेसम्म राहत पनि पाएका छैनौं।’ उनले सरकारकै लापरवाहीले दुर्घटना भएको भन्दै टिपर चालक र सुरक्षाकर्मीमाथि कारवाही हुनुपर्ने आफुहरुको माग पनि सम्बोधन नभएको बताए।

‘नगरपालिकाको सरकारी टिपरमा धेरै मान्छे राखेपछि विवाद भएको हो, त्यहीँ विवादमा चालकले स्टेयरिङ छोडेर भागे,’ उनले भने, ‘जानाजान मान्छे मार्ने चालक र टिपरमा धेरै राख्दासम्म पनि वास्ता नगर्ने लालीघाटमा ड्युटीमा रहेका प्रहरीलाई पनि कारबाही हुनुपर्छ।’

सरकारले गरेको बाचा अनुसारको राहत नदिएकाले आफूहरु थप पीडित बनेको घाइते मिन सार्कीले बताए। ‘सरकारकै लापरवाहीले आफन्त गुमायौं, अंगभंग भयौं,’ उनले भने, ‘समयमै राहत र क्षतिपूर्ति दिएको भए घाउमा मल्हम लाग्थ्यो।’ उनले सरकारले गरेको बाचा पुरा नगरे आफूहरु आन्दोलित हुने चेतावनी दिए। घटनालगत्तै स्थानीय सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको थियो। अहिलेसम्म समिति पनि गठन भएको छैन।  

नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्चवापत ५०–५० हजार रुपैयाँ दिएको बताए। ‘दश लाख दिने गरेर नगरसभाबाट निर्णय भएको छ,’ रास्कोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद आचार्यले भने, ‘चालू आर्थिक वर्षभित्रै पीडितहरुले राहत पाउनुहुन्छ।’

कालिकोटको नरहरिनाथ गाउँपालिकामा भएको टिपर दुर्घटनामा मृतक तथा घाइतेलाई कांग्रेस नेता भूपेन्द्रबहादुर शाहीले राहत वितरण गरेका छन्। जेठ २८ गते भारतबाट घर फर्कदैं गरेका नागरिकहरु चढेको रास्कोट नगरपालिकाको टिपर लालीघाट बजार नजिकै दुर्घटना भएर कर्णालीमा खसेको थियो। दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए।  

शाहीले मृतक तथा घाइतेको परिवारलाई १०–१० हजार नगदसहित मास्क, स्यानीटाइज, तेललगायत वितरण गरे। यस्तै दुर्घटनामा बाँचेका पाँच महिने बालक देवराज सार्कीलाई लत्ताकपडा र उनको परिवारलाई खाद्यान्न पनि वितरण गरे।

 

प्रकाशित: २७ श्रावण २०७७ ०६:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App