६ चैत्र २०८० मंगलबार
समाज

‘हामी के खाएर बाच्ने सरकार ?’

बालुवा निकाल्ने मजदुर

जिल्लाको सिद्धलेक गाउँपालिका–७ का बाबुराम आचार्य त्रिशुली नदिमा बाुलवा झिकेर बिहान बेलुकाको छाक टार्छन्। सात जनाको परिवार पाल्न २५ वर्षदेखि यसरी नै बालुवाको सहारा लिएको उनी बताउँछन्। तर उनले ११ दिन भयो त्रिशुली किनाराबाट बालुवा झिक्न पाएका छैनन्। स्थानीय प्रशासनको निर्देशनमा अवैध रूपमा बालुवा झिक्न रोक लगाएपछि मजदुरीको रोजीरोटी खोसिएको उनी बताउँछन्। थोरै जग्गाजमिनमा उब्जनी कम भएपछि छाक टार्न अन्य उपाय नभएको आचार्यले बताए। ‘११ दिन भयो बालुवा झिक्न पाएका छैनौं, हाम्रो रोजीरोटी खोसिएको छ,’ उनले भने, ‘हामीलाई अन्य वैकल्पिक व्यवस्था गरियोस् भन बालुवा झिक्न दिइयोस्।’

खोलाले बगाएर जाने बालुवा हामी जस्ता मजदुरले झिकेर गरि खान समेत नदिएको उनले गुनासो गरे। ‘काम गरे चुल्हो बल्यो, नगरेको दिन भोकै बस्नुपर्छ,’ उनले भने, ‘हामीलाई सरकारले बाच्नका लागि काम गर्ने वातावरण बनाइदिनु प¥यो।’ बालुवा निकालेरै चार छोराछोरीको पढाईं खर्च, परिवारको दैनिक गुजारा चलाइरहेका उनले सरकारले मजदुरलाई अन्याय गरेको आरोप लगाए।

जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदी र आसपासका अन्य खोलाबाट बालुवालगायत नदीजन्य वस्तु उत्खनन्मा रोक लगाएपछि मजदुरहरूले काम गर्न पाउनुपर्ने माग राखेका छन्। सयौंको संख्यामा आएका मजदुरले जिल्ला प्रशासन कार्यालय धादिङ अगाडि नाराबाजी गर्दै प्रदर्शन समेत गरेका छन्। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाउँदै सोमबारदेखि काममा फर्कने मजदुरले बताए। गुजारा चलाउन काममा जाँदा पनि प्रहरीले अवरोध गर्छ,’ अर्का मजदुर भवानी अर्यालले भने ‘एकातिर कोरोना भाइरसको संकट, अर्कोतर्फ बालुवा झिक्न नदिएपछि हाम्रो गुजारा कसरी चल्छ सरकार ?’  

त्रिशुली नदी किनारमा २०५० सालदेखि मजदुरहरूले बालुवा निकाल्दै आएका थिए। लकडाउनले काम गरेर खाने कुनै उपाया नभएको, राहतमा विभेद गरिएको भन्दै मजदुरले आफूहरू काममा फर्कन पाउनुपर्ने माग राखेका छन्। पहिले त्रिशुली नदीमा डोजरको प्रयोग गरेर नदीजन्य वस्तुको उत्खनन गर्न नपाइने व्यवस्था भएपनि यस वर्षदेखि स्थानीय प्रशासनले मानिसले समे नदी र खोलाजन्य वस्तु निकाल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। ‘मानिस आफैं र मेसिन लगाएर नदी उत्खनन कार्य बढ्दो छ, मजदुरको ज्यान समेत गएको घटना छ,’ प्रजिअ तामाङले भने, ‘नेपाल सरकारको निर्देशन अनुसार हामीले कार्यविधि बनाएर काम गरेका हौं।’

नदी र खोलाबाट बालुवा निकाल्ने मजदुरलाई ठेकेदारले काम लगाउने गरेका छन्। बालुवा झिक्ने क्रममा नदीले बगाएर ज्यान गएमा क्षतिपूर्ति समेत नपाउने भएपछि उत्पन्न समस्या समाधानका लागि पनि उत्खननमा रोक लगाइएको हो। वर्षाको समयमा नदी तथा खोलामा पानीको सतह बढ्ने तथा बाढी आउने हुँदा यो समयमा मजदुरको सुरक्षालाई मध्यनजर गरेर उक्त निर्णय गरिएको प्रजिअ तामाङले बताए। जथाभावी नदी उत्खननले त्रिशुली नदीलाई नै कुरूप बनाएको छ। त्यसैले पनि नदी र खोलाजन्य बस्तुहरूको उत्खननमा रोक लगाएको जिल्ला प्रशासनले जनाएको छ।

जिल्लामा त्रिशुली नदीलगायत अन्य खोलामा हरेक वर्ष हजारौं मजदुर बालुवा निकाल्ने काममा संलग्न हुने गरेका छन्। नदीजन्य पदार्थ उत्खननमा रोक लगाएपछि मजदुरको सुरक्षा, प्राकृतिक सम्पदाको संरक्षण तथा त्रिशुली बचाउ अभियानमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ। लकडाउनको क्रममा पनि उत्खनन् रोकिएको थिएन। वर्षातको समयमा त्रिशुली नदीमा बाढी आउनासाथ नदी किनारामा बालुवा निकाल्ने मानिसको भिड लाग्ने गर्छ। बाढीका कारण वर्षेनी नदीले बगाएर मजदुरको ज्यान समेत जाने गरेको थियो।

प्रकाशित: २६ श्रावण २०७७ ०३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App