११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना भाइरसबाट थप २ को मृत्यु

मोरङमा कोरोना भाइरस कोभिड १९ को संक्रमित २ जना पुरुषको बुधबार विराटनगरमा मृत्यु भएको छ । कोसी अस्पतालमा उपचाररत एक जना र अर्का उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।  

कोसी अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर–९ का ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई ज्वरो र जण्डिसको समस्या रहेको भन्दै मंगलबार राति उपचारका लागि अस्पताल ल्याइएको थियो । कोरोनासँग मिल्ने लक्षण देखिएसँगै स्वाब संकलन गरी उपचारका लागि आइसोलेसनमा लगिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर चुमनलाल दासले बताए । 

मृत्यु भइसकेपछि साढे तीन बजेतिर मात्रै कोरोना पोजेटिभ रिपोर्ट आयो र मृत्युको कारण त्यही नै देखियो, डाक्टर दासले भने । मृत्यु भएका विराटनगरका पुरुषकी ३५ वर्षीया श्रीमतीमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

त्यसैगरी बुधबार नै रंगेली नगरपालिका–८ का ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । बिरामी भएपछि उपचारका लागि कोसी अस्पताल ल्याउँदै गर्दा रंगेलीका एक पुरुषको बाटोमै मृत्यु भइसकेको, डाक्टर दासले बताए । बिहान करिब साढ १० बजेतिर अस्पताल आइपुगेको ती बिरामी पुरुषको लक्षण कोरोनासँग मिल्ने देखिएपछि उनको स्वाब परीक्षण गराइएको थियो । उनको समेत रिपोर्ट पोजेटिभ आएको थियो, डाक्टर दासले भने ।  

दुवै मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई बुझाइने डाक्टर दासले बताए । प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

प्रकाशित: २१ श्रावण २०७७ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App