१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा कोरोनाः ४२ हजार परीक्षण गर्दा १९ सय बढीमा कोरोना

कर्णालीमा हालसम्म ४२ हजार एक सय ४१ जनाको कोभिड–१९ अर्थात् कोरोना परीक्षण गरिएको छ । काम विशेष र रोजगारीका लागि प्रदेश बाहिर, दोस्रो तथा तेस्रो मुलुकमा गएकाको कोरोना परीक्षण गरिएको हो ।

रोजगारीका लागि भारत गएका फर्किएपछि कर्णालीमा कोरोना संक्रमण बढी देखिएको थियो । परीक्षण गरिएका स्वाबमध्ये एक हजार नौ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ भने ३९ हजार ६ सय चारजनामा कोरोना नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । 

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले सबैभन्दा बढी १९ हजार दुई सय ८६ जनाको कोरोना परीक्षण गरेको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले १८ हजार आठ सय १०, दैलेख अस्पतालमा दुई हजार तीन सय ८१ र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा एक हजार ६ सय ६४ जनाको कोरोना परीक्षण भएको छ । दैलेख र रुकुम पश्चिममा ढिलो गरी कोरोना परीक्षण थालिएको थियो ।

त्यस्तै यहाँ परीक्षणका बेलाबेला समस्या हुँदा र बढी लोड हुँदा काठमाडौं, बाँके र दाङ र कैलालीमा समेत कोरोणा परीक्षणका लागि स्वाब पठाइएको थियो । बुधबार मात्र कर्णालीमा दुई सय ९३ स्वाब परीक्षण गर्दा ११ जनामा मात्र कोरोना पृष्टि भएको छ ।  

स्वास्थ्य सेवा महाशाखाका अनुसार हुम्लामा पाँच, मुगुमा नौ, डोल्पामा चार, जुम्लामा ४०, कालीकोटमा ७०, जाजरकोटमा ३१, दैलेखमा नौ सय ४०, सुर्खेतमा पाँच सय ४०, रुकुम पश्चिममा २६ र सल्यानमा दुई सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । ५९ जना प्रदेश बाहिरका व्यक्तिलाई पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाका महाशाखा प्रमुख लक्ष्मी नारायण तिवारीले जानकारी दिए । उनका अनुसार कर्णालीमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । कर्णालीका आइसोलेसनमा हाल एक सय ७८ जना मात्र सक्रिय बिरामी रहेको उनले जानकारी दिए ।

प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाकामा आरडीटी परीक्षण गरेको थियो भने हेल्थ डेस्क स्थापना गरेको थियो । ‘सर्वसाधारण कर्णाली भित्रिँदा नै हामी गम्भीरताका साथ स्वास्थ्य परीक्षणलाई व्यवस्थित बनाएका थियौं,’ कर्णाली प्रदेश सरकारकी प्रवक्ता विमला केसीले भनिन्, ‘प्रदेशमा बन्दाबन्दी (लकडाउन) पनि व्यवस्थित गर्दा कम संख्यामा मात्र कोरोना देखियो ।’ यसलाई प्रदेश सरकारले सामान्यरूपले बुझेको भए भयावहस्थिति हुने भन्दै उनले पहिलो प्राथमिकता कोरोना न्यूनीकरणलाई दिएको बताइन् । प्रदेश सरकारले स्वास्थ्यकर्मीको मनोबल बढाउन प्रोत्सान भत्तासमेत व्यवस्था गरेको उनको भनाइ छ ।

कोरोना न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेको थियो । प्रदेश सरकारले कोरोना रोकथामका लागि चेतनामूलक र उपचारात्मक कार्यक्रम गरेको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले जानकारी दिए । उनका अनुसार सुरक्षा अपनाउने खालका नयाँ कार्यक्रम निर्माण भइरहेका छन् । अहिले क्वारेन्टिनमा रहेको मात्र स्वाब परीक्षण गरिएको स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन केएन पौडेलले जनाए । केही उद्योगी व्यवसायी र सांसदलाई देखिँदा मात्र सर्वसाधारणको कोरोना परीक्षण गरिएको उनले बताए ।

प्रकाशित: २१ श्रावण २०७७ १२:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App