८ वैशाख २०८१ शनिबार
समाज

पाँच दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो

अविरल वर्षाका कारण पाँच दिनदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ । पहिरोका कारण कर्णाली राजमार्गमा चल्ने सवारीसाधन रोकिएका थिए । कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै तीन दर्जन भन्दा बढी ठाँउमा पहिरो गएको थियो । जसमध्ये दुई ठाउँमा ठुलो पहिरो खसेको थियो ।  

सामान्य वर्षा हुने वित्तिकै सडकमा पहिरो आउन थाल्छ, स्थानीय भन्छन्, ‘हिउँमा हिलो र वर्षायाममा पहिरोले कर्णाली सडक यात्रा गर्न लायक पनि हुदैन् ।’ कालिकोट प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले पाँच दिन पछि कर्णाली राजमार्गमा सवारी आवागमन भएको बताए ।  

डिभिजन सडक कार्यालय जुम्लाको डोजरले पहिरो पन्छाएपछि राजमार्ग नियमित रुपमा चलेको हो । कालिकोट जिल्लाको तिलागुफा नगरपालिकास्थित टाकुल्ला खोलामा पानीको बहाव बढेपछि राजमार्ग अवरुद्ध हुने र पानीको बहाव घटेपछि राजमार्ग सञ्चालन हुने गरेको छ । यो वर्षेनी भइरहन्छ ।  

कर्णाली राजमार्गको दैलेख र कालिकोटको सिमाना दहिखोला, गगने खोला, काले खोला, शेरीघाट, मान्म, ताडी, बिहानी खोला, शेरावाडा, टाकुल्ला, खल्लागाड लगायतका तीन दर्जन भन्दा बढी ठाँउमा खसेको पहिरो पन्छाएपछि कर्णाली राजमार्ग सञ्चालनमा आएको डिभिजन सडक कार्यालय जुम्लाका इन्जीनियर लिलाबहादुर भण्डारी बताउँछन् । ‘पहिरोका कारण पाँच दिनदेखी अबरुद्ध राजमार्ग खुलाउनका लागि जुम्लादेखी डोजर सहित डिभिजन सडक कार्यालय जुम्लाको टोली पहिरो पन्छाउदै कालिकोट हुँदै दैलेखको सिमानासम्म पुगेको थियो ।’ उनले भने, ‘ती सबै स्थानमा पहिरो पन्छाएर राजमार्ग खुलाइएको छ । तर सामान्य वर्षा हुने बित्तिकै पहिरो खसिहाल्छ । सवारी आवागमन रोकिहाल्छ ।’

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे लामो समय राजमार्ग अवरुद्ध हुन नदिन डिभिजन सडक कार्यालय जुम्लालाई निर्देशन दिइएको बताउँछन्। डिभिजन सडक कार्यालय जुम्लाबाट एउटा डोजर कालिकोटमा राख्ने व्यवस्था मिलाइएको छ । उनले भने, ‘राजमार्गका धेरै ठाँउमा पहिरो खेस्ने समस्याले अवरुद्ध राजमार्ग समयमै खुलाउन सकिएको अवस्था छैन् । तर पहिरो पन्छाउने कार्य चलिरहन्छ ।’ लगातार एक हप्तासम्म राजमार्ग अवरुद्ध हुन नदिन सबै सरोकारवालाबीच छलफल र समन्वय भइरहेको उनको भनाइ छ ।

‘कर्णाली राजमार्ग निकै साँघुरो छ । सामान्य पहिरो आउने बित्तिकै बाटो बन्द भइहाल्छ,’ उनले भने, ‘कर्णाली राजमार्गको स्तरउन्नती गर्नु अहिलेको अपरिहार्य हो । तर हुन सकिरहेको छैन् ।’ राजमार्ग स्तरउन्नतीको लागि स्थानीय सरकारको क्षमता पुग्दैन । सडक हस्तान्तरण गर्न सकिएको छैन भन्दै प्रदेश सरकार पन्छदै आएको छ । संघीय सरकार कर्णाली राजमार्गको स्तरउन्नतीमा चासो जादैन । बर्षौ देखि कर्णाली राजमार्गको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन् ।

कर्णाली राजमार्गको दैलेख र कालिकोट खण्डमा सबैभन्दा बढि पहिरो खस्छ । पाँच दिन सम्म कर्णाली राजमार्ग नचल्दा जुम्ला खलंगामा दैनिक उपभोग्य सामान अभाव हुन थालेको छ । सामान अभाव भए संगै महंगी बढ्न थालेको छ ।

प्रकाशित: २० श्रावण २०७७ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App