१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

अस्कर कलेजको 'युवा सर्ट फिल्म प्रतिस्पर्धा' मा 'दसैं आयो' ले जित्यो १ लाख नगद

अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) द्वारा आयोजित 'दोस्रो युवा सर्ट फिल्म प्रतिस्पर्धा' मा शिल्पा केसीद्वारा निर्देशित 'दसैं आयो' प्रथम हुँदै एक लाख नगद पुरस्कार जितेको छ।

प्रतियोगितामा अर्जुन तिरुवाको 'द ब्रिज' र विशाल झाको 'अन्तिम यात्रा' ले द्वितीय र तृतीय स्थान हासिल गर्दै क्रमशः ५० हजार र २५ हजार नगद जिते। देवनन्दन मण्डलको 'पेपर बोन्ड्स' स्पेसल मेन्सनमा पर्न सफल फिल्म बन्यो।

पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौ वटा लघु चलचित्रहरू प्रदर्शन गरिएको थियो। २० वर्षमुनिका उमेर समूह लक्षित यो प्रतिस्पर्धामा सहभागीहरूलाई ८ देखि १५ मिनेटसम्मका फिल्म पठाउन गत कार्तिक पहिलो सातासम्मको समयसीमा तोकिएको थियो।

पुरस्कार घोषणा कार्यक्रममा कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी फिल्म प्राप्त भएको र त्यसबाट अन्तिम ९ छनोट गरिएको बताए। फिल्म निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको उनको भनाइ छ।

'फिल्म अत्यन्तै सिर्जनात्मक विधा हो र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकाले हामीले युवालक्षित फिल्म निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोगसमेत गर्न पहल गरेका हौं', प्रधानाध्यापक दाहालले भने।

प्रथम, द्वितीय, तृतीय र स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन्।

प्रकाशित: १३ मंसिर २०८१ १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App