१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धरानमा थप २ जनाका कोरोना पुष्टि, समुदायस्तरमा ५ सयको स्वाब संकलन गरिदै

धरान उपमहानगरपालिकाको कार्यालय । तस्बिर : रोहित राई

धरान उपमहानगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती दुवै जना धरान औद्योगिक क्षेत्रको प्रिति भल्व तथा फिटिङ्स उद्योगमा काम गर्ने कर्मचारीको कन्ट्याक ट्रेसिङपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।  

कोरोना देखिएका एक जना धरान १ का २० वर्षीय पुरुष र धरान १५ का ४३ वर्षीय पुरुष पनि रहेका छन् । ती मध्ये ४३ वर्षीय पुरुषका दाजु प्रिति भल्वका कामदार हुन् । उनलाई यसअघि नै रिपोर्ट पोजेटिभ आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको थियो ।

उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार यो सँगै धरानमा संक्रमितको कुल संख्या २८ पुगेको छ । ती मध्ये १८ जना विदेशबाट आएकाहरु हुन् भने अन्य धरानमा नै रहेकाहरु हुन् । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि प्रिति भल्वलाई प्रहरीले सिल गरिसकेको छ ।

समुदायस्तरमा ५ सयको स्वाब संलकन गरिदै

संक्रमितको संख्या बढ्दै गएपछि धरानमा समुदायमा नै कोरोना संक्रमण फैलिएकोले लकडाउन गर्नुपर्ने आवाज निरन्तर उठिरहेको छ । तर, धरान उपमहानगरपालिकाले भने संक्रमण समुदायस्तरमा फैलिसकेको भनेर निचोड निकालेको छैन । समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर प्रष्ट हुन उपमहानगरपालिकाले आज(मंगलबार) र बुधबार ५ सय जनाको स्वाब संकलन गरेर परीक्षण गर्ने भएको छ ।

यसको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका चिकित्सकहरुले उच्च जोखिम क्षेत्र र वडागत रुपमा स्वाब संकलन गर्ने तथ्यांक निकालेका छन् । त्यसैको आधारमा स्वाब लिने र पिसिआर रिपोर्ट आएपछि मात्र समुदायस्तरमा संक्रमण भए नभएको निश्चित हुने मेयर तिलक राई बताउँछन् । ‘जोखिम क्षेत्र र वडागतरुपमा वीपीका डाक्टरहरुले तथ्यांक निकाल्नु भएको छ, त्यसको आधारमा धरानको २० वटै वडाबाट स्वाब लिदैछौं,’ मेयर राईले भने, ‘५ सयको पिसिआर रिपोर्ट आएपछि मात्र संक्रमण समुदायमा फैलिएको छ छैन भन्ने कन्फर्म हुन्छ ।’

समुदायमा संक्रमण फैलिएको निश्चित भएपछि मात्र धरानमा लकडाउन घोषणा गरिनेछ भने यसअघि कार्यपालिका बैठकले निर्णय गरेअनुसार ७ हजारको हाराहारीमा पिसिआर जाँचलाई पनि शुरुवात गर्ने उपमहानगरको योजना छ । स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार जनशक्तिको सिमितता हुनुको साथै धेरै तिर स्वाब संकलन गर्न पुग्दा संक्रमण फैलिने जोखिम हुने भएकोले एकै ठाउँ(वीपी प्रतिष्ठानको हेल्थ डेस्क)मा संकलन गरिनेछ । लक्षण देखिएका, पूर्वलक्षण देखिएका, मानिसहरुको बढी चहलपहल हुने प्रमुख पसलहरु, धेरै सम्पर्क हुने अटो रिक्सा चालक, उच्च जोखिममा रहेका प्रहरी, सशस्त्र तथा सुरक्षाकर्मीहरु, भारतबाट आएर सेलुनमा काम गर्नेहरु, स्वास्थ्यकर्मीहरु, धेरै भेटघाट र आउजाउ गर्ने जनीतिक दलका नेताहरुलाई लक्षित गरेर स्वाब संकलनको लागि नमुना छनौट गरिएको छ ।  

‘वडाको जनसंख्या र मानिसहरुको धेरै चहलपहल, गतिविधि हुने ठाउँहरुलाई आधार बनाएर स्वाब संकलनको तथ्यांक तयार पारिएको छ,’वीपी प्रतिष्ठानका सामुदायिक चिकित्सक डा.प्रज्वल प्याकुरेलले भने,‘बाहिरबाट बढी मान्छे कहाँ आएको छ, त्यो पनि हेरेका छौं । वडाका जनप्रतिनिधिहरुसँग पनि छलफल गरेर सुझाव लिइएको छ ।’

प्रकाशित: २० श्रावण २०७७ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App