coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश नं २ : संक्रमण बढेसँगै धमाधम निषेधाज्ञा, बढेन परीक्षण

शनिबार पहिलो पटक सिरहामा समुदायका दुई जनामा कोरोना संक्रमण पुष्टि भयो। उनीहरुमध्ये सिरहा नगरपालिका –१६ का राजनीतिकर्मी र लहान गरपालिका –८ का गैरसरकारी संस्थाका कर्मचारी हुन्। दुबैजना ब्यापक घुमफिर गरेका व्यक्ति हुन्।

दुबैजनाको अनियन्त्रित सम्पर्क इतिहासका कारण उनीहरुको कन्ट्रयाक ट्रेसिङमा सकस भैरहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले बताए। उनीहरुको सम्पर्क इतिहास खोतल्न दुई वटा टिम शनिबारदेखि परिचालन गरिएको छ, यादवले भने,‘मंगलबार सम्पर्क व्यक्तिहरुको स्वाब संकलन गर्दैछौं।’  

प्रदेश २ को आठ वटै जिल्लामध्ये सबैभन्दा कम परीक्षण सिरहामा छ। हालसम्म ४ हजार २ सय २ स्वाब संकलन गरिएकोमा २ सय १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। १ सय ७५ जनाको रिपोर्ट आउन बाँकी छ। समुदायमा संक्रमण देखिएपछि परीक्षणको दायरा बढाउन लागिएको छ। तर, स्वाब संकलनका लागि आवश्यक भिटिएम अभावले परीक्षण प्रभावित बन्ने देखिन्छ।

स्वास्थ्य प्रमुख यादवकाअनुसार प्रदेश आपूर्ती महाशाखाबाट मागअनुसारको भिटिएम उपलब्ध नहुँदा परीक्षणको आयतन बढाउन सकिएको छैन। अर्को समस्या संकलित स्वाब परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल प्रयोगशाला पठाउँदा नलिइदिनाले पनि परीक्षण बढाउन नसकिएको यादवले बताए।

आइतबार डिसिएमसि सिरहाको निर्णयअनुसार यस महिनाभित्र समुदायका ९ हजार जनाको परीक्षण गर्ने निर्णय गरेको यादवले बताए। जसका लागि ४ हजार भिटिएम प्रादेश आपूर्ति महाशाखासँग माग गरिएको उनले बताए। तर, प्रदेशबाट पाँच सय भिटिएम मात्र उपलब्ध गराउन सकिने आश्वासन दिएको छ। प्रदेशबाट मागअनुसारको भिटिएम आपूर्ति नहुने भएपछि प्रत्येक पालिकालाई कम्तीमा एक हजार भिटिएम खरिद गर्न डिसिएमसिले आग्रह गरेको छ।  

समुदायमै संक्रमण फैलिएपनि प्रदेशमा परीक्षणको दायरा र आयतन बढेको छैन। शुक्रबारसम्म प्रदेशभर ५८ हजार ५ सय ८४ स्वाब संकलन भएको थियो। आइतबारसम्म ६० हजार ४ सय ६७ जनाको स्वाब संकलन गरिएको छ। शुक्रबारसम्म संक्रमितको संख्या ४ हजार ६ सय ७३ थियो भने सोमबारसम्म संक्रमितको बढेर ४ हजार ९ सय ६ पुगेको छ। तीन दिनमा प्रदेशभर मात्र १ हजार ८ सय ८३ स्वाब संकलन भएको छ। यस अवधिमा २ सय ३३ जना  संक्रमित थपिएका छन् भने दुई जना मृतक थपिएका छन्। आइतबारसम्म मृतकको संख्या १९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ३ हजार १ सय ७३ छ। संक्रमितको दायरा बढ्दै गएपछि परीक्षणको दायरा बढ्न नसक्नु बिडम्बना भएको चिकित्सकहरु बताउँछन।  

धमाधम निषेधाज्ञा

देशव्यापी लकडाउन हटाइए पनि समुदायमा धमाधम कोरोना संक्रमित भेटिन थालेपछि प्रशासनले लकडाउन र निषेधाज्ञा गर्न थालेका छन। प्रदेश २ को राजबिराज र वीरगंजमा गत शनिबारदेखि जारी निषेधाज्ञा सोमबारबाट धनुषाको जनकपुरधाम उपमहानगरपालिका र महेन्द्रनगरमा जारी गरिएको छ। यस प्रदेशको आधा दर्जन स्थानीय तहमा लकडाउन छ।

समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएपछि सोमबार रातीबाट जनकपुर उप महानगरपालिकामा एक साताका लागि निषेधानज्ञा जारी गरिएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले सोमबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

सप्तरीको अग्नीसाइर कृष्णसवरण, राजगढ, विष्णुपुर गाउँपालिका र रुपनी, शम्भुनाथ, डाक्नेश्वरी नगरपालिकाले  विज्ञप्ति जारी गरी समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम रहेकोले  गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको छ। अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिँदै यादवले हाटबजार नलगाउन, गोष्ठि (सेमिनार नगर्न, भीडभाड नगर्न, पसल, व्यापार, व्यवसाय, सरकारी, गैरसरकारी र वित्तीय संस्था सञ्चालन नगर्न, नगराउन, अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरेको छ।  

सर्लाहीका बुद्धिजीबी रजनीकान्त झाले सरकारी पक्षको अकर्मण्यताका कारण जनता फेरि निषेधाज्ञामा बस्नुपरेको बताए । ‘करिब ४ महिनापछि जनजीवन सहज बन्दै गएको थियो,’ उनले भने, ‘तर सरकारको कमजोरीले कोरोना फैलियो ।’ सरकारले बिस्तारै लकडाउन खुकुलो बनाउदै खुल्ला गर्नुपथ्र्यो उनले भने,‘तर एकै पटक खोलिदिएपछि स्थिती बिग्रिन पुग्यो।’ ‘सबैलाई लाग्यो अब कोराना गयो उनले भने,‘अलिकति सहज भएपछि सरकारी निकाय सुते र नागरिकमा हेलच्क्रयाइँ बढेर अवस्था असहज बन्यो। झाले  सीमाबाट आउनेजाने क्रम नरोकिएको बताए।

 

 

प्रकाशित: १८ श्रावण २०७७ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App