६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

वडा–वडामा वृद्धवृद्धा भेटघाट चौतारी

वृद्धवृद्धालाई लक्षित गरेर खोटाङको खोटेहाङ गाउँपालिकाले हरेक वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाएको छ । ९ वडा रहेको गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा विनियोजन गरिएको ९ लाख बजेटबाट सवै वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाएको हो । वृद्धवृद्धा भेला हुने, आराम गर्ने, गफगाफ गर्ने लगायतका प्रयोजनका लागि हरेक वडामा वृद्धवृद्धा भेटघाट चौतारी निर्माण गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

गाउँपालिकाको सहयोगमा वडा–वडामा ढलान गरेर फलामका पिलर हालेर जस्ताको छाना हालेको, चारैतिर बस्न र आराम गर्न मिल्ने संरचना बनाइएको छ । भेटघाट चौतारीमा अन्य स्थानीयले समेत विश्राम र आराम गर्न सक्ने छन् । वृद्धवृद्धा भेटघाट चौतारी निर्माणका लागि गाउँपालिकाले हरेक वडालाई एक÷एक लाख रकम उपलब्ध गराएको थियो । कतिपय वडाले गाउँपालिकाले दिएको बजेटमा केही रकम थप गरेर वृद्धवृद्धा भेटघाट चौतारी निर्माण गरेको गाउँपालिका अध्यक्ष राईले बताए ।

वृद्धवृद्धाको सम्मान एबं उनीहरुको सहजताका लागि गाउँपालिकाले वडा–वडामा भेटघाट गर्ने चौतारी निर्माण गरेको जनाएको छ । गाउँपालिकाले हरेक वृद्धवृद्धालाई ज्येष्ठ नागरिक परिचयपत्र पनि वितरण गर्दै आएको छ । हरेक वडामा वर्षको एक दिन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्ने गरिएको र सोही अवशरमा स्वास्थ्य परीक्षण समेत गर्ने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

प्रकाशित: १५ श्रावण २०७७ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App