६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

‘मेथामफेटामिन’ लागुपदार्थसहित एक पक्राउ

अन्तर्राष्ट्रिय बजारमा धेरै महँगो लागुपदार्थ बरामद

विराटनगरमा मंगलबार प्रहरीले अन्तर्राष्ट्रिय बजारमा महँगो भाउमा बिक्री हुने लागुपदार्थसहित एक जनालाई पक्राउ गरेको छ । यो पक्राउ परेसँगै प्रदेश १ पुनः लागुऔषध कारोबार हुने अखडाको रूपमा देखिएको छ ।  

४/५ वर्षअघिसम्म प्रदेशमा लागुऔषध कारोबार हुने ठूलो अखडाको रूपमा रहँदा प्रहरीको टाउको दुखाइको विषय हुने गरेको थियो । एक प्रहरीका अनुसार केही वर्षअघिसम्म विराटनगरमा विभिन्न देशका लागुऔषध प्रयोगकर्ता मात्रै होइनन्, यहाँ ठूलो लागुपदार्थ खरिदविक्री गर्ने थलो र विदेश जाने रुटसमेत रहेको थियो । यस संजलालाई भत्काउन ठूलो चुनौती रहेको थियो ।  

प्रदेश १ मा लकडाउन अघि र लकडाउनका समयमा भारतबाट लागुऔषध ओसारपसार हुने गरेको भए पनि प्रहरीका सक्रियताले गर्दा कारोबारी पक्राउ पर्ने गरेका थिए । अन्य समयको जस्तो ट्याबलेट वा फर्मासिटीकल्ली औषध नभएर कडा र महँगो लागुपदार्थको ओसारपोसार हुन थालेपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीले मंगलबार विराटनगरमा बरामद गरेको लागुपदार्थ महँगो हुने र यो उच्च घरानाले मात्रै प्रयोग गर्नसक्ने बताएको छ । यससँगै लागुपदार्थ हिजोको दिनमा निम्न आय भएकाको केन्द्र हुने गरेको भए पनि पछिल्लो समय यसले उच्च घरानामासमेत प्रवेश पाएको लागुपदार्थविरुद्ध काम गर्ने अभियानकर्ता बताउँछन् ।  

विराटनगरस्थित बरगाछी चोकमा मंगलबार सुन्दरहरैँचा नगरपालिका–८ सलकपुर घर भएका ४२ वर्षीय रामप्रसाद पोखरेललाई मेथामफेटामिन (आइस) नाम कडा प्रकारको लागुऔषधसहित पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । पोखरेलको पक्राउले लागुपदार्थको क्षेत्रमा व्यापार बढ्दै गएको देखिन्छ । उनको साथबाट प्रहरीले २ सय २२ ग्राम र सुन्दरहरैंचास्थित घरमा छापामार्दा ३ सय ८ ग्राम मेथामफेटामिन बरामद गरेको एसपी खड्काले बताए ।  

नेपाली बजार मूल्य कम्तीमा ९ हजार ६ सय प्रति ग्राम रहेको छ । पक्राउ परेका पोखरेल १६ वर्षअघि वैदेशिक रोजगारका क्रममा इराक पुगेको र पछिल्लोसमय घरमै सुनचाँदीको व्यवसाय र त्यसपछि फाइबरको काम गर्दै आएका थिए । पोखरेलको फाइनबर कारोबारको सिलसिलामा भारत जाँदा त्यहाँको नागरिकसँग चिनजान भएको र उनकै सरसल्लाहमा ९ महिनाअघिबाट मेथामफेटामिन बिक्री वितरणमा लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।  

लागुपदार्थविरुद्धको अभियानकर्ता सञ्जीव चापागाईंका अनुसार मेथामफेटामिन अन्तर्राष्ट्रिय बजारमा अत्याधिक महँगो लागुपदार्थमा पर्ने गर्छ । हिजोका दिनसम्म न्यूनतम मूल्य तिरेर लागुपदार्थ दुव्यर्वसनी भेटिने गरेको भए पनि पछिल्लोसमय कडा र अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्यको लागुपदार्थ बजारमा देखिन थालेको चापागाईंले बताए । मेथामफेटामिन (आइस) बरामद भएपछि उनी भन्छन्, ‘यसबाट हाम्रो समाजले महँगो लागुपदार्थलाई स्वीकार गर्दै गएको देखिन्छ । जुन निकै नै खतरनाक अवस्था हो । लागुपदार्थले उच्च र साभ्रान्त समूहमा समेत प्रवेश पाएको देखिन्छ ।’ मेथामफेटामिनको बजार प्रदेश १ मा भन्दा पनि काठमाडांैमा अधिक रहेको छ । विशेषत यसले निन्द्रा नलाग्ने, शारीरिक सम्पर्कमा बढी रुची गराउने, डान्सपार्टी, डिस्कोथेकमा जानका लागि युवाहरूले प्रयोग गर्ने गरेको अभियानकर्ताहरू बताउँछन् ।  

यस्ता लागुपदार्थ भारतबाट नै आउने गरेको बताएका उनीहरू भन्छन्, ‘मेथामफेटामिन जस्ता खतरनाक, महँगो लागुपदार्थ भारतको नागाल्याण्डतर्फबाट झिकाउने गरेका पाइन्छ । बजारका लागि बाटो प्रदेश १ को प्रयोग हुनसक्छ वा भनौं ट्रान्जिट प्वाइन्ट बन्दै गएको हुनसक्ने देखिन्छ ।’  

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार कडा लागुपदार्थ आसोरपोसारका क्रममा प्रदेश १ मा गत वर्ष २०७६/७७ मा ब्राउन सुगर(खैरो हिरोइन) २ किलो ९ ग्राम ७० मिलिग्राम बरामद भएको छ । त्यसैगरी, चरेश ६१ ग्राम ८ मिलिग्राम, १ किलो ५ सय ग्राम अफिमलगायत प्रहरीले बरामद गरेको छ । २०७७ वैशाखदेखि असारसम्म ब्राउन सुगर ३ सय २० दशमलव ३०२ ग्राम, गाँजा १९ दशमलव ८ सय ५० किलो गाँजा, डाइलेक्स डिसी १ हजार १ सय १६ बोतल, नाइट्राभेट–१० १ हजार ८ सय ६६ ट्याबलेटलगायत प्रहरीले बरामद गरेको छ । प्रहरीले १ सय ४० पुरुष र ११ महिलालाई पक्राउ परेका छन् भने १८ पुरुष र १ महिला कारोबारी फरार छन् ।  

प्रहरीले पहिलो पटक प्रदेश १ बाट मेथामफेटामिन (आइस) महँगो मूल्यको लागुपदार्थ बरामद गरेको हो । प्रहरीका अनुसार विराटनगर धेरै वर्षअघि लागुपदार्थको ठूलो ट्रान्जिट प्वाइट नभए पनि सामान्य रूपको कारोबार हुने थलो रहेको र पछिल्लो समय त्यो अखडासमेत भत्काइदिएको बताए । प्रदेशको विराटनगर, काँकडभिट्टा, ताप्लेजुङ र इलाम हुँदै भारत, श्रीलंका, बंगलादेश, थाइल्याण्ड लागुऔषध जाने गरेको थियो । अहिले पनि सुनसरी, मोरङ र झापाबाट लागुऔषध कारोबार भइरहेको छ ।  

तर, प्रहरीले यी नाकामा विशेष लागुऔषध ‘अप्रेसन’ भनेर काम थोलेपछि नियन्त्रणमा आएको थियो । विश्वभरका लागुऔषध प्रयोगकर्ता र कारोबारीले २०७५ वैशाख १ गते संखुवासभामा ‘साँगीतिक’ कार्यक्रम गर्ने भनेर भेला भएका थिए । तर, प्रहरीले त्यहाँ विशुद्ध साँगीतिक कार्यक्रम नभई लागूपदार्थ सेवन गरेर ३/४ दिन बस्ने र त्यहीँबाट अन्तर्राष्ट्रिय स्तरमा लागुऔषध कारोबारको भद्र सहमति हुने थाहा पाएसँगै प्रहरी प्रशासनले कार्यक्रम गर्न दिएन ।

प्रकाशित: १४ श्रावण २०७७ १४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App