१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पाँच हजार बढी घर डुबानमा

अविरल परेको वर्षा पछि आएको बाढीले कैलाली जिल्लाको पूर्वी भेगका पाँच हजार बढी घर डुबानमा परेका छन् । जिल्लाको टीकापुर र भजनी नगरपालिकाका साथै जानकी र जोशीपुर गाउँपालिकाका बस्ती डुबानमा परेका हुन् । टीकापुर नगरपालिकामा मात्रै चार हजार बढी घर डुबानमा परेका छन् । विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीका अनुसार विजयनगर, शक्तिनगर, शिवनगर लगायतका मुक्त कमैया शिविरमा धेरैजसो घर भत्किएका छन् । मुक्त कमैया बस्तीमा घर भत्किएपछि स्थानीयको बिचल्ली भएको छ ।

उनले टीकापुर नगरपालिका–६ भर्तापुरका बासिन्दालाई उद्दार गरेर स्थानीय विद्यालयमा राखिएको बताइन् । घर भत्किएका परिवारलाई टीकापुर नगरपालिकाले त्रिपाल र टीकापुर उद्योग वाणिज्य संघले चाउचाउ लगायतका खानेकुरा सहयोग गरेको छ । उता भजनी नगरपालिकामा समेत सयौं घर डुबानमा परेका छन् । उपप्रमुख छाया देवकोटाका अनुसार वडा नं. ३, ५, ६, ७ र ८ का बासिन्दा डुबानमा परेका छन् । ‘अहिले यति नै घर डुबानमा परेको भन्ने छैन । हामी उद्दारकै क्रममा छौं’ उनले भनिन्–‘सुरक्षाकर्मी र स्थानीय युवाहरु उद्दारमा जुटेका छन् ।’

स्थानीय बासिन्दा बाढीले घर डुबानमा परेपछि हुलाकी सडक र विद्यालयमा बसेका छन् । बाढीले उनीहरुका घरमा रहेका सबै खाद्यान्न बगाएको छ ।  

यता जानकी र जोशीपुर गाउँपालिकाका विभिन्न गाउँ समेत डुबानमा परेका छन् ।

कर्णालीमा पानीको सहत बढ्दै

कर्णाली नदीमा पानीको सतहले चेतावनी लेभल पार गरेको छ । चिसापानीमा गरिएको मापन अनुसार नदीमा पानीको सतह १० दशमलव ७ मिटर पुगेको छ । गेज रिडर पार्वती गुरुङका अनुसार पानीको सहत बढ्दै गैरहेको छ । नदीमा पानीको सतह १० दशमलव ८ मिटर पुग्नुलाई खतरा मानिन्छ भने १० मिटर पार भए चेतावनी लेभल पार गरेको मानिन्छ ।

प्रकाशित: १४ श्रावण २०७७ ०७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App