२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पूर्वरथी खड्काको निधन

नेपाली सेनाका अवकाशप्राप्त रथी कुलबहादुर खड्काको मंगलबार निधन भएको छ। करिब ४ महिनादेखि प्यांक्रिायाजको क्यान्सरबाट पीडित खड्काको उपचारका क्रममा मंगलबार अपराह्न  थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।  

खड्का चर्चित कटवाल काण्डका एक पात्र हुन्। २०६६ वैशाख २० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको निर्णय नमानेको भन्दै प्रधानसेनापति रुक्मागत कटवाललाई हटाएर खड्कालाई कायममुकायमको जिम्मेवारी दिएका थिए। तर तत्कालीन राष्ट्रपति रामवरण यादवले सरकारको निर्णय उल्ट्याइदिएपछि खड्कालाई प्रधानसेनापति बनाउने दाहालको योजना सफल हुन सकेको थिएन।दाहालले सोही घटनाका कारण जिम्मेवारी सम्हालेको नौ महिनामा पदबाट राजीनामा दिनुपरेको थियो।  

खड्कालाई प्रधानसेनापति बनाउने तत्कालीन प्रधानमन्त्री दाहालको असफल प्रयासबारे कटवाल काण्डका मुख्यपात्र पूर्वप्रधानसेनापति रुक्मागत कटवालले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन्। त्यस्तै पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङले लेखेको पुस्तक ‘जनताको छोरा’ मा पनि खड्काको भूमिकाबारे लेखेका छन्। दुई पूर्वसेनाप्रमुखले पुस्तक लेखेर आफूलाई तारो बनाएपछि उनले पनि उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउने भन्दै पुस्तक लेख्ने जनाएका थिए। सैनिक मुख्यालयले उच्च सैनिक अधिकारीले पुस्तकमार्फत सेनाको गोपनीयता भंग गरेको भन्दै आचार संहितामार्फत पुस्तक प्रकाशनमा अंकुश लगाएपछि उनको पुस्तक प्रकाशित हुन सकेको थिएन।  

सन् १९५१ मा लमजुङमा जन्मिएका खड्का सन् १९७० मासैनिक सेवामा प्रवेश गरेका थिए। उनको मंगलबार नै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ। उनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो। खड्काका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रकाशित: १४ श्रावण २०७७ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App