१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागपञ्चमी नालिबेली

हिन्दू धर्मशास्त्रले चराचर जगत्मा साकार रूपमा रहेका सम्पूर्ण प्राणी तथा वनस्पतिको अस्तित्वलाई पनि स्वीकार गर्दै सम्मान गरेको छ र ‘वसुधैव कुटुम्बकम्’लाई चरितार्थ गरेको छ । अथवा, तिनलाई पनि पुज्न र संरक्षण गर्न लगाएको छ । प्रकृति र वातावरणबीचको अन्योन्याश्रित सम्बन्धलाई अनुकूल बनाइराख्न अहिंसालाई प्राथमिकता दिएको छ र विभिन्न देवीदेवताको वाहनका रूपमा होस् या त तिनको अवतारकै रूपमा सर्प (नाग), काग, कुकुर, मुसा, बाघ, गोरु आदि जीव अनि वर, पीपल, दुबो, कुश, तुलसी, शमी, पाख्री, तुलसी, आँप, आँक आदि वनस्पति र शालिग्राम (शिला), पर्वत, नदी आदि निर्जीव वस्तुलाई सम्मानपूर्वक पूजा गर्नुपर्ने विधान गरिदिएको छ ।  

यसै सन्दर्भमा नागपञ्चमी पनि जीवको पूजा गर्ने एउटा महत्पूर्ण पर्व हो । यस पर्वले सम्पूर्ण नाग (सर्प) जातिको संरक्षण र नाग बसोबास गर्ने पानीका स्रोत वा मूलको संरक्षणमा सहयोग पु¥याएको छ ।  

प्रत्येक संवत्सरको श्रावण शुक्ल पञ्चमीमा मनाइने नागपञ्चमी पर्व हिन्दू धर्मावलम्बीको महान् पर्व हो । ज्योतिष शास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता भएकाले पनि यस दिन नागका अष्टकुल ‘अनन्तो वासुकी पद्मो महापद्मश्च तक्षकः, कुलिरः कर्कटः शंखश्चाष्टौ नागाः प्रकीर्तिताः’ (लोकमा अनन्त, वासुकी,  पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख नाम गरेका आठवटा नागहरू चर्चित) ती नागको नाम लेखिएको चित्र घरको मूल ढोकामाथि वा ढोकाको दायाँबायाँ गाईको गोबरले टाँसेर पूजा गरिन्छ ।

यसका साथै अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु, जैमिनि नाम गरेका नागलाई पनि वज्रवारकको रूपमा पुज्ने गरिएको छ । यसरी नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत विषालु जीव र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।  

नाग रिसाए पानीका मुहान सुक्ने र पानीको हाहाकार हुने मान्यताका आधारमा पनि नागलाई खुसी पार्न पूजा गर्ने शास्त्रीय परम्परा रहिआएको हो । यसै आधारमा हरेक घरको जगमा नागको बास हुने र नाग रिसाए घरको जग नै भासिन्छ वा भत्कन्छ भन्ने मान्यता छ । त्यस्तै, पातालमा नाग देवताको बसोबास हुने र नागपञ्चमीका दिन भूमि खन्दा नागलाई कष्ट हुने भएकाले यस दिन हलो जोत्नु वा घरको जग राख्नु शुभ हुँदैन भन्ने मान्यता छ ।

शास्त्रमा नाग
सर्वप्रथम शुक्लयजुर्वेदले ‘ॐ नमोस्त्तुसर्पेब्भ्यो येकेचपृथिवी मनु येऽन्तरिक्षेयेदिवितेब्भ्यः सप्र्पेभ्यो नमः’ अर्थात् हे सर्पहरू हो, पृथिवी, अन्तरिक्षलगायत भूमण्डलमा जति पनि हुनुहुन्छ, तपाईहरूलाई नमस्कार छ ।

नागपूजाका लागि नागपञ्चमीको दिन बिहानै उठी स्नान गरिन्छ । त्यसपछि दियो, कलश र गणेशको पूजा गरी दूध, दही, घिउ, चिनी, मह (पञ्चामृत), अघ्र्य, चन्दन, अक्षता, तिलजौ, फूल, दूबो आदिले नागको पूजा गरी दूध र लावाको नैवेद्य चढाइन्छ । केरा वा कुनै पनि वनस्पतिका पातमा गोबरको नाग बनाई पूजाआजा गर्ने विधान पनि छ ।

भनेर सर्पको उपासना गरेको छ । तिनै सर्पका राजालाई नाग मानिएको छ । वेदमै सृष्टिकालमा जलमाथि शेषनाग शड्ढयामा फणाको छातामुनि शयन गरेका विष्णु भगवान्को स्परूप उल्लेख गरिएको छ । त्यस्तै, शिवले गलामा वासुकि नागको माला लगाएको स्वरूप उल्लेख गरिएको छ । सबैभन्दा पहिला पूजाको वरदान पाएका भगवान् गणेशको पनि एउटा हातमा नाग छ । पौराणिक शास्त्रले त्रेता युगमा भगवान् विष्णुको अवतार लिएका श्रीरामका भाइ लक्ष्मण र द्वापर युगका श्रीकृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रूपमा लिएका छन् र नागलाई देवताको रूपमा पूजा गर्नुपर्ने विधान बनाइदिएका छन् ।

नागका धेरै प्रकार र कुलहरू भएको शास्त्रमा उल्लेख छ । तीमध्ये कुनै एक मात्र शिर भएका र कुनै चार–पाँच सयसम्म शिर भएका नागको वर्णन पाइन्छ । शेषनागलाई चाहिँ नागको राजा मानिएको छ, जसको शिरमा नागमणि वा जीवमणि हुन्छ र हजार जिब्रा हुन्छन् भनिएको छ । नागमहिमाको अर्को प्रसंगमा शेषनागले पृथ्वीलाई आफ्नो शिरमा धारण गरी अड्याएको छ र शेषनागलाई पृथ्वीको भार सस्र्यंूको दाना जति हुन्छ भन्ने प्रसंग पनि उल्लेख गरिएको छ ।  

त्यस्तै, वराह पुराणका अनुसार यसै दिन नागराज र ब्रह्माको संवाद भएका आधारमा नागनागिनीको पूजा गर्ने चलन चलेको मानिन्छ । नागपञ्चमीको खास महत्व महाभारतसँग जोडिएको छ । राजा परीक्षित् अर्जुनका नाति तथा अभिमन्यु र उत्तराका छोरा थिए । पाण्डवहरू उत्तराखण्ड जानुअघि युधिष्ठिरका उत्तराधिकारीका रूपमा हस्तिनापुरको राजगद्दीमा बस्ने यिनै हुन् । एक दिनको कुरा उनी सिकार हेतुले जंगल गएका थिए । उनलाई प्यास लाग्यो र उनी पानीको खोजीमा भौँतारिँदै थिए, श्रृंगी ऋषिको आश्रममा पुगे । त्यसबेला त्यहाँ शमिक ऋषि आँखा बन्द गरेर ध्यानमग्न थिए । राजा परीक्षित् प्यासले आकुलव्याकुल थिए । उनले ऋषिमुनिसँग पानी मागे तर ध्यानमग्न भएकाले उनले कुनै प्रतिक्रिया जनाएनन् । शिरमा रहेको स्वर्णमुकुटमा निवास गरेको कलियुगको प्रभावले राजा परीक्षित्मा घमण्ड बढ्यो । अनि क्रोधित भएका राजाले ऋषिको गलामा मरेको सर्प बाणले उठाएर लगाइदिए र फर्किए ।

पछि ऋषिपुत्र श्रृंगीले यो कुरा थाहा पाए । अनि उनले ‘जसले यस्तो कुमर्म ग¥यो, त्यसको सात दिनभित्र तक्षक नागले डसेर मृत्यु होस्’ भनेर श्राप दिए । नभन्दै राजा परिक्षित्को तक्षक नागले डसेर मृत्यु भयो । त्यही सात दिनको अवधिमा शुकदेवबाट यिनले श्रीमद्भागवत पुराण सुनेका थिए । भनिन्छ, यिनकै राज्यकालदेखि कलियुग प्रारम्भ भएको थियो ।  

नागका धेरै प्रकार र कुलहरू भएको शास्त्रमा उल्लेख छ । तीमध्ये कुनै एक मात्र शिर भएका र कुनै चार–पाँच सयसम्म शिर भएका नागको वर्णन पाइन्छ । शेषनागलाई चाहिँ नागको राजा मानिएको छ, जसको शिरमा नागमणि वा जीवमणि हुन्छ र हजार जिब्रा हुन्छन् भनिएको छ ।

परीक्षित्का छोरा जनमेजयले यो रहस्य थाहा पाए । अनि उनले बुवाको मृत्युको प्रतिशोधका लागि तक्षकसहित संसारका सबै सर्पलाई मार्ने उद्देश्यले सर्पयज्ञ गरेका थिए । सो यज्ञको हवन कुण्डमा तक्षकबाहेक अन्य सर्प भष्म हुन थाले । तर, तक्षकचाहिँ बचाउ गर्दै स्वर्गमा इन्द्रको शरणमा पुगे । अन्ततः जनमेजयको यज्ञको शक्तिले तक्षक पनि बिस्तारै राजा इन्द्रसहित यज्ञस्थल आइपुगे । तत्कालै इन्द्र र मानसदेवीका पुत्र आस्तिकले जनमेजयसमक्ष माफी मागेपछि उनले यज्ञ रोके र यसअघि होमिएका सम्पूर्ण सर्पले पुनर्जीवन पाए । त्यसै दिनदेखि नागलाई पूजा गर्न थालिएको भनिन्छ । पौराणिक मान्यताअनुसार, धर्ती शेष नागको फन्कोमाथि अवस्थित रहेकाले सम्पूर्ण पृथ्वीकै रक्षाका लागि पनि नागपूजा गर्नुपर्ने मान्यता छ । त्यस्तै, भविष्योत्तर पुराणमा वासुकि, तक्षक, कालिय, मणिभद्रक, ऐरावत, धृतराष्ट्र, कार्कोटक र धनञ्जय नाम गरेका नागले अभय प्रदान गर्दै प्राणीको रक्षा गर्छन् भनिएको छ ।  

नाग र सर्प एउटै प्रजाति भए पनि शास्त्रमा नाग र सर्पलाई भिन्न रूपमा समेत उल्लेख गरिएको पाइन्छ । श्रीमद्भगवद्गीतामा श्रीकृष्णले ‘म सर्पहरूमा वासुकि हुँ भने नागहरूमा अनन्त हुँ’ भनेका छन् । त्यस्तै, कतैकतै विषयुक्त सर्प र विषरहित नाग हुन् पनि भनिएको छ । महातलमा बस्ने तक्षक आदि सर्प हुन् भने पातालमा बस्ने वासुकि आदि नाग हुन् भनिएको छ । गीताभाष्यमा श्रीरामानुजाचार्य र रामायणको व्याख्यानमा श्रीतीर्थले एउटा फणायुक्त सर्प र अनेक फणायुक्त नाग हुन्छन् भनेका छन् । यसरी शास्त्रले सर्प र नागलाई फरक मानेको छ भने कतै एउटै प्रजातिका रूपमा लिएको पाइन्छ ।

पूजाविधि  
नागपूजाका लागि नागपञ्चमीको दिन बिहानै उठी स्नान गरिन्छ । त्यसपछि दियो, कलश र गणेशको पूजा गरी दूध, दही, घिउ, चिनी, मह (पञ्चामृत), अघ्र्य, चन्दन, अक्षता, तिलजौ, फूल, दूबो आदिले नागको पूजा गरी दूध र लावाको नैवेद्य चढाइन्छ । केरा वा कुनै पनि वनस्पतिका पातमा गोबरको नाग बनाई पूजाआजा गर्ने विधान पनि छ । यस दिन विभिन्न नागको वासस्थान भएका पोखरी, पानीका मूल कुवा, इनार लगायत स्थलमा गएर पूजा गर्ने चलन छ । नागदेवतालाई श्रीखण्ड चन्दन प्रिय भएकाले पूजामा श्रीखण्ड चन्दन प्रयोग गर्नु शुभ मानिन्छ । पूजा गर्दा सेतो रङका फलफूल, विशेषगरी सेतो कमल र लाजा (धान भुटेर बनाइएको फूल) चढाउने विधान छ ।  

नागपञ्चमीको व्रत गर्नेले अघिल्लो दिन एक छाक भोजन तथा पञ्चमीको दिन उपवास गरेर बेलुका व्रत उद्यापन गर्ने गर्छन् । पूरै दिन निराहार बसेर सूर्यास्त भएपछि नागको पूजा गर्ने र खीर पकाएर नाग देवताको मूर्ति वा शिव मन्दिरमा भोग लगाई प्रसाद वितरण गर्ने र आफूले पनि ग्रहण गर्ने विधान छ । साथै, व्रतविधि वा व्रतसँग सम्बन्धित सबै नियम पालना गर्नु राम्रो मानिन्छ । नागले गुलियो र बेसार मन नपराउने हुनाले चढाउनु हुँदैन । साथै धूपबत्ती गर्दा पनि नाग डराउने भएकाले परबाट गर्नुपर्ने विधान छ ।

नागगायत्री मन्त्र ‘ॐ नवकुलाय विध्महे विषदन्ताय धीमहि तन्नो सर्पः प्रचोदयात्’ तीन माला जप्दा नाग देवता प्रशन्न हुन्छन् भनिएको छ । नागगायत्रीको सट्टा ‘ॐ कुरुकुल्ये हुँ फट् स्वाहा’ मन्त्र नौ माला जप्ने चलन छ । अन्त्यमा आरती गर्नुपर्छ ।  

यस दिन प्रत्यक्ष रूपमा घर वरिपरि सर्प आए शुभ मानिन्छ । सर्पलाई दक्षिण फर्केर पूजा गरी बिदा गर्ने र अन्त्यमा नागपञ्चमीको कथा सुने व्रत पूर्ण हुने शास्त्रमा उल्लेख छ ।  

नागपञ्चमीका दिन ज्योतिष शास्त्रअनुसार शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नुनपर्ने ज्योतिष पण्डित रामानन्द रिजाल बताउँछन् । कुनै पनि भवन निर्माण गर्दा भूमिमा नाग देवताको बास भए यसै दिन विधिवत् पूजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ ।  

यस दिन कालसर्प योग शान्ति गर्न पनि राम्रो मानिन्छ । जन्मकुण्डलीमा राहुकेतुको दोष वा कालसर्प योग भए यस दिन भगवान् शिवको विधिवत् रूपमा पूजा गरेमा अथवा नाग देवताको पूजा गरी विशेष मन्त्र ‘आस्तिकस्य मुनेर्मातः जगदानन्दकारिणी एह्येहि मनसे देवि नागर्मातर्नमोस्तुते वा ‘नमोस्तु सर्पेभ्यो...’ (हे मानसदेवी नागमाता, आस्तिक मुनिकी आमा तथा जगत्लाई नै आनन्द प्रदान गर्ने तपाईंलाई नमस्कार गर्दछु ।) जप गरे राहु र केतुको दोषबाट पर्ने प्रभाव हटेर जीवनमा सुख मिल्ने ज्योतिषीय मान्यता रहेको ज्योतिष पण्डित रामानन्द रिजाल बताउँछन् । उनका अनुसार नागपञ्चमीका दिन सुन र चाँदीमिश्रित नागको जोडी प्रतिमा बनाई विधिवत् पूजा गरी शिवालयमा चढाए वा नदीमा विसर्जन गरे कालसर्प योग निवारण हुने मान्यता छ । साथै, साढेसाती शनिदशा लागेकाहरूले विधिपूर्वक पूजा गर्दा दशा काटिने विश्वास गरिन्छ । अझ शिवलिंगसँगै यस दिन नागपूजा गर्नाले विवाह नहुनु, सन्तान नहुनु, दाम्पत्य जीवनमा हुने असन्तोष, मानसिक अशान्ति, स्वास्थ्यमा पर्ने हानि जस्ता समस्याको समाधान हटेर जाने विश्वास गरिएको छ ।  

त्यस्तै, भदौ, असोज र कात्तिकमा पूर्वमा, मंसिर, पुस र माघमा दक्षिणमा, फागुन, चैत र वैशाखमा पश्चिममा तथा जेठ, असार र साउनमा उत्तरमा नागको शिर हुने भएकाले वास्तुशास्त्रअनुसार घर बनाउनुपूर्व घरको जग खन्ने बेला नागको शिरको विचार गर्नुपर्छ । यदि खन्दा नागको शिर परे आफूलाई पीडा, पछाडि परे छोरा र पत्नीलाई दुःख, जाँघमा परे अनावश्यक व्यय, पेटमा परे सर्वत्र सफलता पाइन्छ भन्ने विधान छ ।  

नागपञ्चमी कथा  
पौराणिक कथाअनुसार, एक किसानले एक दिन खेत खनिरहेका थिए । सो क्रममा उनले नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । तिनकी आमा आहारा खोज्न गएकी थिइन् । फर्केर आउँदा आफ्ना सबै बच्चा मरेको देखेर उनी साह्रै रिसाइन् । रिसले चुर भएकी नागिनीले किसानलाई नै डसेर मारिदिइन् । त्यति गर्दा पनि रिस नमरेकाले ती नागिनी किसानकै घरमा गइन् र किसानका पत्नी र दुई छोरालाई समेत मारिदिइन् । संयोगवश किसानकी छोरी घरबाहिर रहेकी हुनाले बाँचिन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै गइन् र बाटामा फेला पारी मार्न लागिन् । तर, किसानकी छोरीले अनेक प्रकारले अनुनय–विनय गरी आफूलाई नमार्न अनुरोध गरिन् । ती किसानकी छोरीले नागिनीलाई ‘पूजाआजा गरी दूध पिउन दिन्छु’ भनेर बिन्ती गरेपछि नागिनीले दया गरी उनलाई छाडिदिइन् । मृत्युको मुखबाट बच्न सफल भएकी उनले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पिउन दिइन् । यति गरेपछि खुसी भएकी नागिनीले वर माग्न भनिन् । किसानकी छोरीले पनि आफ्ना मातापिता र भाइलाई जीवनदान दिन आग्रह गरिन् । प्रशन्न भएकी नागिनीले तथास्तु भनी उनको परिवारका सबै सदस्यलाई बचाइदिइन् । यसरी किसानको परिवारलाई बचाइदिएको दिन यही श्रावण शुक्ल पञ्चमी भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा सुरु भएको मानिन्छ ।  

त्यस्तै, अर्को कथाको प्रसंग छ । एउटा राजाका सात भाइ छोरा थिए । सबैको बिहे भइसकेको थियो । ६ भाइका सन्तान भए पनि कान्छा राजकुमारका चाहिँ लामो समयसम्म सन्तान भएका थिएनन् । उनी साह्रै दुःखी थिए । सबैले कान्छी बुहारीलाई अरू जेठानीले बाँझी भन्दै गिज्याउँथे ।

सन्तान नभएको पीडामा घर–परिवारका सदस्य सासू, नन्द र जेठानीहरूले व्यंग्यबाण प्रहार गर्दा उनी सहन नसकेर पतिको काखमा परी धुरुधुरु रुन्थिन् । उनका पति भने उनलाई सम्झाइरहन्थे, ‘सन्तान हुनु÷नहुनु विधाताको खेल र हाम्रो कर्म हो । किन रोइरहन्छ्यौ ?’

उनको दुःखको एउटै कारण थियो र भन्थिन्, ‘सबैजना मलाई बाँझी भनेर जिस्काउँछन् ।’ पतिको कुरा सुनेर उनलाई सान्त्वना प्राप्त त हुन्थ्यो, अरूले यसरी बाँझी भनेको सुन्दा भने आँसु थाम्न सक्दिनथिन् ।

समय बित्दै गयो । श्रावणशुक्ल पञ्चमी (नागपञ्चमी) आयो । नागपञ्चमीको अघिल्लो चौथीको रात उनले सपनामा पाँचवटा नाग देखिन् । तीमध्ये एउटाले उनलाई भने, ‘हे छोरी, तिमी यति धेरै दुःखी नहोऊ । भोलि नागपञ्चमी छ । तिमी नागनागिनीको पूजा गर । सन्तान प्राप्त हुनेछ ।’

सपनाबाट ब्युँझिएपछि उनले देखेअनुसार पाँचवटा नागका आकृति बनाएर पूजा गरिन् । नागलाई चिसो खानेकुरा मन पर्ने भएकाले उनले काँचो दूध चढाइन् र नागनागिनीलाई खुसी बनाइन् । त्यही नागपूजाको प्रभावले एक वर्ष नपुग्दै उनका सन्तान भए । त्यसपछि उनी साहै्र खुसी भइन् र प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजालाई निरन्तरता दिइन् । यसरी नागपञ्चमीको महत्व झनै बढ्दै गएको प्रसंग पौराणिक कथामा भेटिन्छ ।

त्यस्तै, गुरु गोरखनाथले तपस्या गर्दा नौवटा नागलाई आसन बनाएका थिए । उनले लगातार १२ वर्ष तपस्या गरेका र ती नागलाई यसरी थिचेर राख्दा पानी नपरेकाले सबैतिर खडेरी सुरु भएको थियो । यो समस्या समाधानका लागि गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठे र नाग मुक्त भएर पानी बर्साएको किंवदन्ती प्रचलित छ । समुद्र मन्थनपछि कालकुट विष नीलकण्ठ भगवान्ले पिएका र एक दुई थोपा भुइँमा झरेको अनि सर्प बिच्छी आदि जीवले खाएको हुँदा सर्प वा नागमा विष रहेको शास्त्रमै उल्लेख छ । साथै, प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायत जीवले शोषण गरी मानव लगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने मान्यताले ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने परम्परा सुरु गरेको पाइन्छ।

प्रकाशित: १० श्रावण २०७७ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App