२९ पुस २०८१ सोमबार
image/svg+xml
समाज

वीपी प्रतिष्ठानमा पदाधिकारीले पुर्णता पायो

नवनियुक्त रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीद्धारा पदभार ग्रहण

पदभार ग्रहण कार्यक्रममा नवनियुक्त रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी(फुलमाला पहिरिएका) । तस्बिर : रोहित राई नागरिक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले पदभार ग्रहण गरेका छन् ।

बिहिबार प्रतिष्ठानमा एक समारोहबीच डा.रेग्मीले पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै प्रतिष्ठानको उर्जा अडिट गरेर वैकल्पिक उर्जा प्रयोग गर्ने पहिलो निर्णय गरेका छन् । रजिष्ट्रार रेग्मीले प्रतिष्ठानमा उर्जाको समस्या भएकोले अब वैकल्पिक उर्जाको प्रयोगतर्फ पनि अघि बढ्नुपर्ने बताए ।

‘चुनौतीपुर्ण समयमा जिम्मेवारी पाएको छुँ, सबैबाट साथ सहयोग पाउनेछु भन्ने अपेक्षा छ,’उनले भने, ‘मेरो व्यक्तिगत स्वार्थ केही छैन । प्रतिष्ठानको स्वार्थलाई केन्द्रमा राखेर निर्णय हुन्छ । टिमले काम गर्नुपर्छ ।’ उनले प्रतिष्ठानलाई प्रविधिमा ढाल्न सके चुहावट रोक्न सकिने पनि धारणा राखे । साथै, जवाफदेहिता पनि कार्यान्वयन हुने बताए ।  

प्रतिष्ठानको नियमावलीअनुसार उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सिफारिश गरेका तीन जनामध्ये डा.रेग्मीलाई सहकुलपति एवं स्वास्थ्यमन्त्रीले नियुक्ती गरेका हुन् । डा.रेग्मी प्रतिष्ठानका स्त्री तथा प्रसुती रोग बिशेषज्ञ चिकित्सक हुन् ।  

उनी प्रतिष्ठानको विभागीय प्रमुख पनि हुन् ।रजिष्ट्रार नियुक्ती भएसँगै प्रतिष्ठानमा चार जना पदाधिकारीले पुर्णता पाएको छ । यसअघिका उपकुलपति डा.आरके रौनियारलाई अख्तियारले रंगेहात घुसको रकमसहित पक्राउ गरेपछि उपकुलपति पद कार्यवाहक भएर रेक्टररले चलाउँदै आएका थिए ।  

गत चैत २८ गते सरकारले डा.गिरीलाई उपकुलपतिमा नियुक्ती दिएको थियो । यस्तै, प्रतिष्ठानको रजिष्ट्रार पद पनि करिब एक बर्षदेखि रिक्त रहेको थियो । उपकुलपतिले नै रजिष्ट्रारको पनि जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रतिष्ठानका चार पदाधिकारीहरूमध्ये उपकुलपतिबाहेक रेक्टर, अस्पताल निर्देशक र रजिष्ट्रार प्रतिष्ठानभित्रैका चिकित्सक हुन् । प्रतिष्ठानको इतिहासमा रजिष्ट्रार पदमा चिकित्सक पेशाका र प्रतिष्ठानभित्रैबाट पहिलो पटक डा.रेग्मी नियुक्त भएका हुन् ।

चारै जना पदाधिकारीले पुर्णता पाएपछि प्रतिष्ठानका चिकित्सक, कर्मचारीहरूले खुशी व्यक्त गरेका छन् । साथै उनीहरूले प्रतिष्ठानको आर्थिक, भौतिक र शैक्षिक उन्नति भएर स्थापनाको निर्दिष्ट लक्ष्य हासिल गर्ने पनि अपेक्षा व्यक्त गरे । कार्यकारिणी समिति सदस्यसमेत रहेको हाडजोर्नी विभाग प्रमुख डा.पशुपति चौधरीले प्रतिष्ठानलाई राम्ररी बुझेको व्यक्ति रजिष्ट्रारमा नियुक्ती भएको बताए । साथै उनले पदमा पुगेपछि व्यक्तिमा अहंता पलाउनसक्नेतर्फ ध्यान दिन र अहंता नदेखाई जिम्मेवारी पुरा गर्न पनि आग्रह गरे ।  

प्रतिष्ठानको कर्मचारी कल्याण समाजका कार्यवाहक अध्यक्ष उमेश थापाले प्रतिष्ठानका पदाधिकारीहरूले पुर्णता पाएको र अब प्रतिष्ठान सफलरुपमा अघि बढ्ने अपेक्षा गरिएको बताए । ‘प्रतिष्ठानलाई बुझेको, बहुआयामिक व्यक्तित्व नियुक्त हुनभएको छ । अब चारै जना पदाधिकारीहरू एकढिक्का भएर संस्थाको हितमा लाग्नुहुनेछ, र उत्कृष्ट शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा प्रतिष्ठानले दिन सकोस्,’उनले भने ।  

प्रतिष्ठानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलले पनि ढिलै भएपनि पदाधिकारीविहिन भएको र कुशल व्यक्ति रजिष्ट्रारमा नियुक्त भएको भन्दै खुशी व्यक्त गरे ।  

एक वर्षभित्र पुर्ण विश्वविद्यालय बनाउने

प्रतिष्ठानका उपकुलपति डा.गिरीले प्रतिष्ठानलाई एक वर्षभित्र पूर्ण विश्वविद्यालयमा परिणत गर्ने बताएका छन् । नवनियुक्त रजिष्ट्रार डा.रेग्मीको पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उपकुलपति डा.गिरीले प्रतिष्ठानलाई उच्च शिक्षाको उत्कृष्ट केन्द्रका रुपमा पहिचान दिलाउने बताए ।  

‘यस प्रतिष्ठानलाई मुलुककै मात्र नभई विश्वकै नमुना उच्च स्वास्थ्य शिक्षा र सेवाको केन्द्रकारुपमा विकास गर्न आवश्यक साधन, स्रोत सम्पन्न बनाउन पहलहरू भईराखेको छ,’उनले भने,‘एक वर्षभित्र पुर्ण विश्वविद्यालय बनाउन लागि पर्नेछौं ।’

उनले अस्पतालको स्तरोन्नति गर्ने र निर्माणाधिन मातृशिशु भवनलाई सम्पन्न गरेर सञ्चालनत गर्ने पनि बताए । यस्तै, कार्डियोलोजी र क्यान्सरको केन्द्रको स्थापना गर्ने, ट्रमा सेन्टर, अंग प्रत्यारोपण केन्द्रको स्थापना गर्ने पनि डा.गिरीले बताए । यसैगरि, औषधी उद्योगको स्थापना गर्ने र विभिन्न शैक्षिक विभागहरूको स्थापना सहित भौतिक पूर्वाधार निर्माण र विकासको लक्ष्यमा प्रतिष्ठानलाई अघि बढाउने उनले बताए ।

प्रकाशित: ८ श्रावण २०७७ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App