coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले पृथ्वी राजमार्गको तनहुँ खण्डमा सडक अवरुद्ध

बन्दीपुर गाउँपालिका–१ नहालामा पहिरोले भत्किएको सडक । तस्बिर : नागरिक

पृथ्वी राजमार्गको तनहुँ खण्डमा अविरल बर्षाका कारण आएको पहिरोका कारण चार स्थानमा राजमार्ग अवरुद्ध बनेको छ । आइतबारदेखि अविरल रुपमा परिरहेको बर्षाका कारण पृथ्वी राजमार्गको आँबुखैरनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका दुई/दुई स्थानमा पहिरोका कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले बताए ।

आँबुखैरेनी गाउँपालिकाको ऐनापहरा र मार्कीचोकमा पहिरोले सडक अवरुद्ध बनेको डिएसपि तिमिल्सिनाले बताए । त्यस्तै बन्दीपुर गाउँपालिकाका–४ विमलनगरमा पहिरो गएको छ भने बन्दीपुर गाउँपालिका–१ नहाला पहिरो जादा राजमार्ग अवरुद्ध बनेको डिएसपी तिमिल्सिनाले बताए । ‘अन्य स्थानको पहिरो पन्छाउने काम भएपनि नहालामा सडक भासिएको कारण तत्कालै बनाउन असहज भएको छ,’ उनले भने । सडकमा पहिरो भए तत्काल पन्छाउन सहज हुन्थ्यो तर सडक नै पुरै भासिएकाले समस्या भएको उनले बताए ।

म्याग्दे गाउँपालिकाका गुणादीमा पहिरोका कारण विहान अवरुद्ध सडक पहिरो फालेर सञ्चालनमा आएको डिएसपी तिमिल्सिनाले जानकारी दिए । त्यस्तै, डुम्रे बेसिशहर सडक खण्ड पनि बाढी पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध बनेको छ । तनहुँको भानु नगरपालिका–९ पुर्कोट रानीपानीमा दशमिटर कालोपत्रे सडक बगाएपछि यातायात सञ्चालन गर्न समस्या भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । लमजुङ सदरमुकाम बेसिशहरसंग जोडिएको उक्त सडक अवरुद्ध हुँदा स्थानीय मारमा परेका छन् ।

त्यस्तै, पहिरोका कारण व्यास नगरपालिका १ स्थित छाव्दी मार्ग समेत अवरुद्ध बनेको छ । बाढीका कारण सडकको कालोपत्रे समेत खसेपछि सडक अवरुद्ध बनेको व्यास–१ का वडाध्यक्ष खरसिंह दरैले बताए । त्यस्तै पहिरोले तनहुँको बन्दिपुर–१ स्थित डुम्रे आसपासको क्षेत्र चिसापानी, रिमाल्नी, नाहाला लगायतको स्थानमा पहिरोले बिभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । अविरल परेको बर्षाले ४ वटा घर र एउटा गाडी ग्यारेजमा क्षति पुगेको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेले जनाएको छ । बन्दीपुर–६ खहरे नजिक गएको पहिरो बाट ३ घर पुर्ण रूपमा क्षति पुर्‍याएको छ भने अन्य घर खतरा अवस्थामा रहेको स्थानीय शिद्धान्त गर्जा मगरले जानकारी दिए ।

प्रकाशित: ६ श्रावण २०७७ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App