६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भोटेकोशी खोलाको बहाब बढेपछि ११ वटा मालवाहक कन्टेनर सारियो

क्याप्शन

सोमबार दिउँसोदेखि भोटेकोशी खोलामा पानीको बहाब बढेको छ । पानीको बहाब बढेसँगै भन्सार जाँचपासका लागि निर्माणाधीन सुख्खा बन्दरगाह क्षेत्रमा रोकेर राखिएका ११ वटा मालबाहक कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको छ । यसअघि पनि त्यस क्षेत्रमा सवारी साधन बगाउनुको साथै कामदार बस्ने घरमा समेत क्षति पुर्याएको थियो ।  

चीनबाट आएको लेन्दी खोलामा पानीको बहाब बढेपछि नेपालतर्फको भोटेकोशी खोलामा बहाब बढेको हो । यो खोलाले बर्खाको बेलामा क्षति पुर्याउँदै आएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २१, राजस्व भन्सार गस्ती सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक लक्ष्मण थापाले जोखिमलाई मध्यनजर गर्दै सवारी साधनलाई सुरक्षित स्थानमा सारिएको बताए ।  

गएको असारमा रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिप्पर, जेसिबी र लोडर बगाएको थियो । त्यसैगरी सोमबार बिहानदेखि अवरुद्ध भएको चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अझै खुलेको छैन ।  

स्याफ्रु–रसुवागढी सडक खण्डको कुलुङ क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । यस क्षेत्रमा वर्षा सुरु भएसँगै पटकपटक सडक अवरुद्ध हुँदै आएको छ ।  

यो सडक खण्डको कुलुङ क्षेत्रमा झरेको पहिरो पन्छाउनका लागि प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । यो सडक खण्ड अवरुद्ध भएको समयमा रसुवागढी जलविद्युत् आयोजनाले सडक खुलाउँदै आएको छ । वर्षा भइरहेका कारण सडक खुलाउनका लागि समस्या भएको प्रहरीले जनाएको छ ।  

पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्ड भने अवरुद्ध भएको छैन । सडक हिलो भएका कारण सवारी सञ्चालन गर्न भने कठिन भएको छ । 

प्रकाशित: ५ श्रावण २०७७ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App