coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साउने सोमबार : घुम्न जाम, शिवपुरी धाम

एक सय ८ फिटको शिवलिङ्ग, वरपर एक सय आठ तुलसी मठ, एक सय ८ केजीको घण्ट, एक सय आठ ओटा घण्ट र एक सय आठ ओटा धारा रहेको सुन्दर देवस्थल। यही देवस्थलमा साउने सोमबारे ब्रतमा हजारौँ श्रद्धालु भक्तजनको भीड लाग्न थालेको छ धनगढीको उत्तरबेहडीस्थित शिवपुरी धाममा। साउनको हरेक सोमबारका दिन शिवपुरी धाममा ब्रतालु महिलाको भिडभाड बिहानैदेखि लाग्ने गरेको छ।  

साउनको हरेक सोमबार धनगढीका मात्रै नभई, कैलाली, कञ्चनपुरका  भक्तजन आउन थालेको बताउँदै मन्दिर व्यवस्थापन समितिका सदस्य नरेशबहादुर शाहले भने,‘विशेषगरी साउने सोमबारमा बढी भिडभाड हुनुका साथै हरेक शनिबार, शिवरात्रि, नयाँ वर्ष, गौरापर्व तथा होली पर्वमा भक्तजनको घुइँलो लाग्ने गरेको छ।’ पछिल्लो समयमा धनगढीमा पूजआजा गर्नका लागि मात्रै नभई अग्लो शिवलिङ्ग हेर्नका लागि पनि धार्मिक पर्यटकको घुइँचो लाग्ने गरेको उनको भनाइ छ। शिवपुरी धाममा नेपाल आमाको मन्दिर, दुर्गा मन्दिर, मुक्तिनाथ मन्दिर, सूर्यनारायण मन्दिर, गणेश मन्दिर, ५ वटा बाटिका, शिवकुण्ड, गणेशकुण्ड, दुर्गाकुण्ड, विष्णुकुण्ड, सूर्यनारायणकुण्डका साथै उग्रतारा मन्दिर, पुरानो शिवमन्दिर छन्। यस्तै जातीय सहिष्णुताका आधारमा थारु समुदायको थनुवा मन्दिरसमेत निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले बतायो।  

धनगढीमा धार्मिक वनसहितको हिन्दूहरुका लागि ठूलो र आकर्षणका रुपमा शिवपुरी धाम रहेको बताउँदै स्थानीय ज्ञानु शाहले भनिन्,‘शिवपुरी धाम यहाँका धार्मिक पर्यटकका लागि उपयुक्त र मनोरम स्थल बनेको छ।’ ठूला भौतिक संरचना, मठ मन्दिरका साथै एक सय आठ फिटको शिवपुरी उत्तररामेश्वरम् ज्योर्तिलिङ् भएको शिवलिङ्गले धेरैको मन आकर्षित गर्ने गरेको उनले बताइन्। पछिल्लो समयमा शिवपुरी धाममा धार्मिक पर्यटक मात्रै नभई घुमघामका लागि पुग्ने युवायुवतीको पनि भिडभाड लाग्ने गरेको स्थानीय धनबहादुर भण्डारी बताउँछन्।  

 

 

 

प्रकाशित: ५ श्रावण २०७७ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App