coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

व्यवसायीलाई घरभाडा छुट

कोरोनाका कारण चैत ११ गतेदेखि बन्दाबन्दी भएको नेपालमा घर भाडामा बसेकाहरु र घर भाडामा लिएर व्यवसाय सञ्चालन गरेकाहरुलाई मार्का परेको छ । लगातारको बन्दाबन्दीले आर्थिक स्रोत कमजोर भएको भन्दै मनकारी घरबेटीले सहुलियत गर्दै आएका छन् ।  

धनगढी बसपार्ककी फूलमाया लामाले दुई महिनाको घर भाडा छुट दिएकी छिन् । उनको धनगढी बसपार्क स्थित तीन तले घरमा होटेल सञ्चालन गर्दै आएका मनोज देउवालाई दुई महिनाको भाडा छुट दिएकी हुन् । मासिक ४६ हजार रुपैयाँ भाडा तिर्दै आएका शुभारम्भ होटेलका सञ्चालक देउवाका अनुसार दुई महिनाको घर भाडा छुट दिइएको छ । 

‘चैतदेखि होटेल बन्द छन्, यस्तोमा आम्दानी नहुँदा घरभाडा कसरी तिर्ने भन्ने चिन्ता थपिएको थियो,’ देउवाले भने,‘मनकारी घरबेटी आमैले अस्ती होटेलमै आएर दुई महिनाको घरभाडा छुट दिएको सुनाउनु भयो ।’ लकडाउनका कारण व्यवसाय नै बन्द गर्ने मनस्थितिमा पुगेका बेला घरबेटीले गरेको सहयोगले व्यवसायलाई निरन्तरता दिने आत्मबल पुगेको उनले सुनाए । उनले भने,‘घरधनीले झै बैंकहरुले पनि केही महिना ताकेता नगरेर सावाँ र व्याज बुझाउने मिति पछाडि धकेलिदिए व्यवसाय गर्नेहरुलाई सहयोग पुग्ने थियो ।’  

यस्तै धनगढी हसनपुरका भोजबहादुर बमले पनि कैलालीको मसुरियामा रहेको ६ वटा सटरमा व्यवसाय गर्दै आएका व्यापारीलाई एक महिनाको भाडा छुट गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर केही दिन अघि मात्रै ६ वटा सटरमा व्यवसाय गर्दै आएकाहरुलाई एक महिनाको भाडा छुट गर्ने खबर पठाएका थिए ।  

लामा र बम जस्तै आफ्नो घरमा १४ परिवार भाडामा बस्दै आएकाहरुलाई एक महिनाको भाडा छुट दिएको बताउँदै धनगढी बसपार्कका तिलकबहादुर बोहराले भने,‘कोरोनाले सबै त्रासमा बसेका बेला मैले मेरो घरमा बसेका १४ परिवारलाई एक महिनाको भाडा छुट गरेको छु ।’ मानवियताका हिसावले आफूले भाडामा बसेकाहरुलाई सहुलियत गरेको बताउँदै उनले भने,‘बन्दा बन्दीले सबैको आम्दानी ठप्प छ, यस्तो बेला केही राहत होस् भनेरै भाडा छुट गरेको हुँ ।’ उनले १४ परिवारको करिब ५० हजार रुपैयाँ छुट दिएका छन् । उनको घरमा विद्यार्थी र दैनिक ज्यालादारी गरेर गुजारा गर्ने मजदुरहरु भाडामा बस्दै आएका छन् ।  

 पछिल्ला दिनहरुमा घर भाडामा बस्दै आएकाहरुलाई बन्दाबन्दीको समयमा भाडा छुट दिने क्रम बढ्दै गएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । उनले भने,‘यस्तो विपद्का बेला व्यवसायीलाई सबैतिरबाट घर भाडामा सहुलियत आउन थालेको छ ।’ उद्योग वाणिज्य संघले मनकारी घरबेटीको नामावली संकलन गर्ने काम गरिरहेको बताउँदै उनले भने,‘कोरोनाले थलिएका व्यवसायीलाई घरभाडामा सहुलियत गरेर मल्हम लगाएको भन्दै हामीले उहाँहरुलाई सम्मान गर्ने सोच बनाएका छौँ ।’ 

निजी घरधनीसँगै पछिल्लो समयमा सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि भाडामा दिएका घर तथा व्यापारिक सटरहरुमा छुट दिन थालेको उनले बताए । ‘धनगढी उपमहानगरपालिका र नगरविकास समितिले पनि धनगढीमा रहेका आप्mना मातहतका कम्प्लेक्स तथा व्यापारिक सटरहरुमा छुट दिने घोषणा गरेको छ,’ उनले भने । 

प्रकाशित: ३ श्रावण २०७७ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App