१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनकपुर प्रयोगशालामा प्रमुखको मनोमानी : कर्मचारी भर्नामा व्यापक अनियमितता

प्रादेशिक प्रयोगशाला जनकपुरका प्रमुखको मनोमानीले आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेपछि प्रयोगशालाको कामकाज प्रभावित भएको छ । प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले गैरकानुनी रुपमा गरेको कर्मचारी भर्ना, समान खरिद लगायतका विषयमा कार्यालयका अन्य कर्मचारीले असन्तुष्टि जनाएपछि द्वन्द्व सिर्जना हुँदा प्रयोगशालामा फेरी कोरोना परीक्षण नै स्थगित हुने परिस्थिती उत्पन्न भएको छ । आन्तरिक विवादका साथै अन्य कारणले समेत गरी पटक पटक कोरोना परीक्षण अबरुद्ध हुने गरेको जनकपुर प्रयोगशालामा विवाद यसैगरी चलिरहे फेरी पनि अषारपछि परीक्षण रोकिने प्रयोगशालाका निमित्त प्रमुख साहको भनाइ छ ।

निमित्त प्रमुख साहले गत अषार १ गते प्रयोगशालाको भित्तामै सूचना टाँसेर प्रक्रिया पुरा नै नगरी १९ जना कर्मचारी भर्ना गरेका थिए । अषार मसान्त अवधिका लागि करारमा कर्मचारी भर्ना गर्ने र आवश्यक्ता अनुसार म्याद थप्नेगरी २४ जना कर्मचारी भर्नाका लागि निकालिएको सूचना अनुसार ३५ जनाले आवदेन दिएका थिए । तीन दिनपछि निमित्त प्रमुख साहले पहुँचकै भरमा आवेदकलाई लिखित मात्र नभइ अन्तर्वार्ता समेत नलिई मनलाग्दी कर्मचारी भर्ना गरेका थिए । प्रयोगशालाका अनुसार आवदेन परेकामध्ये १ जना ल्याब टेक्निशियन, ४ जना कार्यालय सहयोगी, २ जना मेडिकल ल्याब टेक्नोलोजिस्ट, ल्याब टेक्निशियन २ जना, कम्पयुटर अपरेटर ३ जना, सेक्युरिटी गार्ड ४ जना, भान्से दुई र स्वीपर एकजनालाई फोनमार्फत बोलाएर सिधा हातमै नियुक्त पत्र थमाइएको हो । आह्वान गरिएको माइक्रोबाइलोजिस्ट पदका लागि आवदेन दिएकामध्येबाट उपयुक्त उम्मेद्वार नदेखिएपछि सो दरबन्दी रिक्त रहेको प्रयोगशाला प्रमुख साहको भनाइ छ ।  

प्रयोगशाला कर्मचारी स्रोतका अनुसार पहुँच र आर्थिक लेनदेनको भरमा १९ जना कर्मचारी नियुक्त गरिएको हो । ‘भर्ना भएकामध्ये केही व्यक्ति पहुँचवाला व्यक्तिको सिफारिसमा आएको हो तर धेरैजसोलाई पैसा लिएर नियुक्ति दिइएको छ । बार्गेनिङ गरेको हामीसँग प्रमाण पनि छ तर उसलाई समस्या हुन्छ त्यसैले हामी दिन प्रमाण दिन सक्दैनौ,’ स्रोतले भन्यो । तर प्रयोगशाला प्रमुख साहले पैसा लिएर नियुक्ति दिइएको कुरा अस्वीकार गरे ।  

‘कोरोना परीक्षण दर बढाउन समाजिक विकास मन्त्रालयले कर्मचारी भर्ना गर्न सहमति दिएको थियो । त्यसैअनुसार हामीले समाजिक विकास मन्त्रालयको वेबसाइटमा समेत सूचना प्रकाशित गर्यौ । तीन दिनको समय दियौँ । सर्टलिस्ट गर्यौ । सबैको इन्टरभ्यु लिने मसँग समय पनि हुनुपर्यो नि ? कसलाई छान्ने मेरो अधिकारको विषय हो,’ प्रयोगशाला प्रमुख साहले भने, ‘हिनामिना गर्न नपाएपछि प्रयोगशालाकै कर्मचारीले मेरो विरुद्धमा षडयन्त्र गरेका छन् । यस्तै, रह्यो भने अषारपछि भर्ना गरेको सबै कर्मचारीलाई हटाइदिन्छु । कोरोना परीक्षण नै बन्द हुन्छ ।’

आवदेन दिएर दर्ता नम्बर माग्दा एकैपटक अन्तर्वार्तामै बोलाउँछु भनेर फर्काइदिएको आवदेक प्रदिपकुमार दासले गुनासो पोखे । ‘दुई दिनपछि आवेदन दिएका एकजना साथीलाई फोन गर्दा मलाई जागिर भइसक्यो भनेर भने । हाम्रो पहुँच थिएन त्यसैले हामीलाई बोलाएन,’ उनको गुनसो छ ।  

प्रक्रिया मिचेर मनोमानी ढंगले कर्मचारी भर्ना गरेपछि आवेदकहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी समेत गरेको छ । उजुरीपछि जिल्ला प्रशासन कार्यालयले स्पष्ट ब्यहोरा खुलाएर पठाउन प्रयोगशालालाई अषार १७ गते पत्राचार समेत गरेको छ ।  

‘बिना अन्तर्वार्ता नै मनोमानी ढंगले मान्छेलाई आर्थिक प्रलोभनमा समेत लिइ नियम विपरित नियुक्ति गरेको भन्ने गुनासो उजुरी यस कार्यालयमा प्राप्त हुन आएकाले सो समबन्धमा के भएको हो स्पष्ट ब्यहोरा खुलाई यस कार्यालयमा यथाशिघ्र पठाइदिनु हुन अनुरोध छ,’ पत्रमा भनिएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको मुद्दा फाँटका कर्मचारी गनपैत झाले बताए । ‘आवेदकलाई कम्तीमा बोलाएको पनि छैन । मनोमानी गरेकै छन् । पत्राचार गरेपछि मनोमानी गरेकै छन् । तर भर्ना जरुरी थियो समय अभावले प्रक्रिया पुगेन भनेर बहाना बनाउँदै छन्,’ उनले भने, ‘अनुसन्धान हुँदैैछ । प्रशासकीय अधिकृत बाहिर हुनुहुन्छ । के कारबाही गर्ने वहाँ आइसकेपछि निर्णय हुनेछ ।’  

प्रयोगशालामा आवश्यक्ता नै नभएका कर्मचारी समेत भर्ना गरिएको र प्रयोगशालाभित्र रहेका कर्मचारीलाई कामै गर्न नदिएको कर्मचारीहरुको आरोप छ । ‘हामी प्रयोगशालामा बसिरहेका छौँ । तर करारमा भर्ना गरिएकाहरुलाई प्रयोगशालामा पनि ड्युटी दिइएको छ र सोही दिन फिल्ड भिजिट बापतको भत्ता समेत दिइएको छ,’ ल्याब टेक्निशियन युगलकिशोर यादवले भने । प्रयोगशाला प्रमुख साहले स्टोरले किन्नुपर्ने सरसमान समेत आफैले बढी मूल्यमा किनेर अनियमितता गरेको उनको आरोप छ ।  

तर निमित्त प्रमुख साहले आवश्यक समान स्टोरले खरीद नगर्दा मात्र आफू खरिदमा संलग्न हुने गरेको बताए । ‘५ लाखसम्मको समान त्यतिकै पनि किन्न सक्ने मेरो अधिकार हो । भान्सेको सरसमान किन्नु छ तर मौखिक रुपमा स्टोरका कर्मचारीलाई भन्दा टेर्दैनन् । प्रयोगशालाका लागि आवश्यक अन्य समग्रीको भुक्तानी दिन कर्मचारीले मानेको छैन । म आफ्नै पैसा तिरेर के के गर्नु ?,’ उनले सुनाए । भर्ना गरिएको कर्मचारीको म्याद नथप्ने उनको भनाइ छ । ‘हामीले म्याद थप्दैनौ जे गर्छ अब यहाँका नागरिक समाज र प्रशानले गर्ने हो । टेस्ट होस वा नहोस म के गर्न सक्छु अब,’ उनले थपे ।  

भान्से, प्रयोगशाला लगायतका प्रयोजनका लागि खरिद गरी ल्याएको समानको भुक्तानी दिन कर्मचारीले नमानेको उनले गुनासो पोखे । भाडाको गाडीमा सवारी चालक नियुक्त गरिएका कामेश्वर यादवलाई गाडी चलाउनु बाहेक अन्य प्रयोजनमा समेत भत्ता दिइएको प्रयोगशालाका कर्मचारीहरुको भनाइ छ ।

प्रकाशित: ३० असार २०७७ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App