१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘होलेसुङ–जनकराज मार्ग’ स्तरोन्नती

दुर्छिमस्थित होलेसुङ–जनकराज मार्गले छोएको बस्ती । तस्बिर सौजन्य : तिलक चाम्लिङ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले चार वर्षअघि निर्माण गरेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नती गरिएको छ । स्थानीयको श्रम र पसिनामा अढाई वर्ष लगाएर २०७२ सालमा निर्माण गरिएको दुर्छिम छापडाँडाको दलस्वर चोकदेखि सुनकोसीको बतासे जोड्ने १३.२७ किलोमिटर सडकका लागि १ नम्बर प्रदेश सरकारले २५ लाख बजेट उलपब्ध गराएपछि स्तरोन्नतीको काम गरिएको हो । 

प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट सुनकोसी किनार बतासेबाट चुमाखुसम्मको खण्ड स्तरोन्नती गरिएको सडक स्तरोन्नतीका लागि बनाइएको उपभोक्ता समितिका अध्यक्ष कमल चाम्लिङले बताए । सडक स्तरोन्नतीकाक्रममा ठाउँ–ठाउँमा जालीसहितको पर्खाल हाल्नुका साथै ढुंगाको सोलिङ हालिएको छ ।  

पूर्वी तराईबाट उदयपुरको लिम्चुङबुङ गाउँपालिका हुँदै त्रि–धार्मिकस्थल हलेसी आवत–जावत गर्ने सबैभन्दा छोटो पर्यटन मार्गका रुपमा उपयोग गर्न सकिने सम्भावना बोकेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतीका लागि आर्थिक वर्ष २०७६/०७७ मा आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नम्बर १ ले आवश्यक बजेट विनियोजन गरेको थियो । ‘आफ्नो गाउँ आफै बनाऔं’ तथा ‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित खोटाङ तथा खोटाङ बाहिर ३७८ दाताको आर्थिक सहयोगमा २०६९ साल चैत ५ गते दुर्छिमको दलश्वरचोकदेखि सुरु गरिएको सुनकोशी किनारको बतासेघाट जोड्ने सडक २०७२ साल जेठ ९ गते उद्घाटन गरिएको थियो । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयराम सडक खण्डमा पर्ने दुर्छिमको दलस्वर चोकबाट छुटेको सो सडक करिब ६१ लाख ९० हजारमा पूरा भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।  

करिब चार सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढि आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो । समाजसेवी जनकराज राईले मात्र २२ लाख ५४ हजार २३७ रुपैयाँ सहयोग गरेको उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणका लागि तत्कालिन दुर्छिम गाविसबाट २ लाखको हाराहारीमा मात्र प्राप्त भएको थियो । बाँकी रकम दाताबाट गच्छे अनुसार जुटाइएको हो ।

हलेसीसँग जोडिएको दुर्छिमबाट दक्षिणतर्फ सुनकोशी हुँदै उदयपुर तथा उत्तरतर्फ मंगलटार, दुधकोसी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने सडकले दुर्छिमकै होलेलुङको भग्नावशेष बस्ती र चिहानस्थल समेत छोएको छ ।  

उत्कृष्ट काम गर्ने समूहलाई पुरस्कार
यसैबीच, ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतीकाक्रममा उत्कृष्ट काम गर्ने समूहलाई पुरस्कृत गरिएको छ । सडक स्तरोन्नतीका लागि टोल–टोलका युवालाई समेटेर बनाइएको समूहलाई गरेको कामको मूल्यांकनका आधारमा ‘होलेसुङ–जनकराज राई मार्ग’ निर्माणका अभियान्ता एवं चन्दादाता जनकराज राईले प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरेका हुन् । 

सडक स्तरोन्नतीकाक्रममा खटिएका सात वटा समूहमध्ये सबैभन्दा उत्कृष्ट पर्खाल लगाएर प्रथम बनेका सालतेम्मा समूहलाई नगद १० हजार, दोश्रो बनेका भञ्ज्याङ समूहलाई पाँच हजार र तेश्रो बनेका वानाम्ला समूहलाई दुई हजार पाँच सय प्रदान गरिएको हो । सडक स्तरोन्नतीकाक्रममा उत्कृष्ट काम गरेका समूहका लिडरलाई ‘होलेसुङ–जनकराज राई मार्ग’ निर्माण उपभोक्ता समितिका अध्यक्ष केवलनारायण राईले प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् ।

प्रकाशित: ३० असार २०७७ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App