नेपाल-चीन सीमामा हिमनदी भत्किएपछि आएको विनाशकारी बाढीमा परी नेपाल र चीनमा कम्तीमा २७३ जनाको मृत्यु भएको छ।
एक हजार ३०० भन्दा बढी मानिस अझै बेपत्ता छन्। बेपत्तामा विदेशी र तीर्थयात्रीसमेत छन्। बाढीका कारण हिमालय क्षेत्रमा सयौं मानिस विस्थापित भएका छन्। बिहीबार उद्धार टोलीले नेपाल-चीन सीमाका विभिन्न क्षेत्रमा बेपत्ताको खोजी जारी राखेका छन्। बाढीले भवन, पुल र सडकमा ठूलो क्षति पुर्याएको छ। नुवाकोटका विभिन्न ठाउँमा घरका दोस्रो तलासम्म हिलो जमेको छ भने सवारीसाधन पुरिएका छन्। भग्नावशेष रुखका हाँगा तथा बिजुलीका तारमा अड्किएका छन्। धेरै क्षेत्रमा यातायातसमेत अवरुद्ध भएको छ।
जानकारी अनुसार नेपालमा २७० जनाको मृत्यु भएको छ भने ८२६ जना बेपत्ता छन्। चीनमा तीन जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता छन्। बाढीले नेपालमा दर्जनौं पुल भत्काउनुका साथै करिब ४० किलोमिटर सडकमा क्षति पुर्याएको छ।
नेपाली सेनाले हेलिकोप्टरबाट बाढी प्रभावित क्षेत्रबाट १०० भन्दा बढी मानिसको उद्धार गरेको सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए। उनका अनुसार आठ विदेशी नागरिकलाई काठमाडौं ल्याइएको छ। त्रिशूली जलविद्युत् आयोजनाका संरचनामा फसेका मानिसलाई पनि उद्धार गरिएको उनले बताए। चितवनमा समेत बाढीले बगाएर ल्याएका शव फेला परेका छन् भने घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
नेपाल रेडक्रसका अनुसार कम्तीमा तीन गाउँका करिब एक हजार २०० जना विस्थापित भएका छन्। उद्धारपछि अहिले राहत वितरणमा ध्यान दिइएको रेडक्रसले जनाएको छ। नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा बेपत्ता ८२६ जनामध्ये ५१७ जना विदेशी छन्। तीमध्ये १७८ जना भारतीय नागरिक छन्। बेपत्ता विदेशीमध्ये ६० भन्दा बढी अमेरिकी नागरिक छन् भने ३० भन्दा बढी देशका नागरिक रहेको बोर्डले जनाएको छ। केही विदेशी कैलाश पर्वतको तीर्थयात्राका लागि गएको बताइएको छ।
भारतीय आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवले आफ्नो कैलाश तीर्थयात्रा समूहका ७७ जना नेपाल-चीन सीमाको अध्यागमन कार्यालयमा बाढीमा परेको बताएका छन्। चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता भएको बताएका छन्।
तिब्बतको ग्यारोङ बन्दरगाह नजिकै पहिरो गएपछि कतिपय ठाउँमा १.५ मिटरभन्दा बढी हिलो जमेको चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ। केही सडकमा दुई मिटरसम्म हिलो जमेको छ। वर्षा जारी रहेकाले थप पहिरोको जोखिम रहेको चेतावनी दिइएको छ।
चिनियाँ अधिकारीहरूले उद्धारका लागि सैन्य विमानमार्फत टोली पठाएका छन्। चीनका प्रधानमन्त्री ली छियाङ बिहीबार ग्यारोङ पुगेका छन्। यसैबिच, त्सोग्याल नदी र पुरुप्कियाङजाङबु नदीको संगममा बनेको अवरोध ताल भरिएर फुट्न सक्ने भन्दै चेतावनी दिइएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणले सुरुमा घटनालाई ४.४ म्याग्निच्युडको भूकम्प भने पनि पछि यो हिमनदी भत्किँदा उत्पन्न भएको कम्पन भएको निष्कर्ष निकालेको थियो। इसिमोडका विज्ञहरूले पनि हिमनदीबाट आएको हिमपहिरोका कारण बाढी आएको हुन सक्ने बताएका छन्। उनीहरूका अनुसार त्रिशूली नदीको पानीको सतह आधा घण्टामै करिब ९ मिटर बढेको थियो।
जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने क्रम पनि तीव्र भएको छ। अनुसन्धानकर्ताहरूका अनुसार सन् २००० यता हिन्दुकुश हिमालय क्षेत्रमा हिमनदीको बरफ घट्ने दर दोब्बर भएको छ। हिमालय क्षेत्र बाढी, पहिरो र अन्य चरम मौसमी घटनाको जोखिममा रहेको विज्ञहरू बताउँछन्। एजेन्सीको सहयोगमा
प्रकाशित: ११ भाद्र २०८३ १६:०५ बिहीबार





