८ वैशाख २०८१ शनिबार
समाज

लकडाउनका समयमा एक हजार एक सयभन्दा बढी महिला हिंसा

लकडाउनको अवधिमा महिलाहरू यौन तथा घरेलु हिंसाको शिकार भइरहेका छन् । लकडाउन सुरु हुनु अगाडि भन्दा लकडाउनको अवधिमा झण्डै दोब्बर संख्यामा महिलामाथि यौन तथा घरेलु हिंसा भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

लकडाउन अवधिका तीन महिनामा एक हजार एक सय १९ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको अभिलेख राखेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ । इन्सेकद्वारा असार २९ गते जारी लकडाउनका तीन महिनाको आवधिक प्रतिवेदनमा सो तथ्यांक सार्वजनिक गरिएको हो ।

प्रतिवेदनमा समेटिएका तथ्यांक २०७६ चैत ११ गतेदेखि २०७७ असार १० गतेसम्मका रहेका पनि इन्सेकले जनाएको छ । यो अवधिमा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८ सय ४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार १ सय १९ जना पीडित भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ ।

अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४ सय ७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २ सय ८४ जना पीडित भए । त्यसैगरी, यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, १ सय १२ जना घाइते भएको, १ सय २ जनालाई कुटपिट गरिएको, ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ ।

मानव अधिकारको संरक्षण र संवर्द्धनमा राज्यको दायित्व हुने भए पनि यस अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दछौँ ।

चैत ११ देखि असार २८ गतेसम्मको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा एक हजार चार सय २९ ओटा उजुरीहरू दर्ता भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।  

लकडाउन खुकुलो भएपछि महिला तथा बालबालिकाहरूमाथि भइरहेको हिंसाका घटनाहरूमा बृद्धि भएको प्रहरी कार्यालयले बताएको छ । दर्ता भएका अधिकांश उजुरीहरूमा घरभित्र र घरबाहिर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा दुर्व्यवहार भएको उल्लेख छ ।

लकडाउनको अवधिमा जबर्जस्तीकरणी २ सय ४६, जबर्जस्ती करणी प्रयास ६ सय ६७, घरेलु हिंसा ४ सय ६९, बोक्सीको आरोप तीन, मानव बेचविखन तथा ओसारपसार चार र बहुविवाहका ४० ओटा घटना भएका छन् ।

लकडाउनको अवस्थामा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

‘लकडाउनको अवधिमा पनि बलात्कार, महिला हिंसाजस्ता घटना बढ्नुले राज्यको सुरक्षा प्रबन्ध कमजोर छ, एउटी चेलीको सामूहिक रूपमा अस्मिता लुट्ने जस्ता जघन्य अपराधिक कार्यले प्रश्रय पाएको छ । यस किसिमको सामाजीक अपराधलाई समयमै सरकारले नियन्त्रण गर्नुपर्छ ।’

प्रकाशित: २९ असार २०७७ १६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App