२० श्रावण २०७७ मंगलबार
समाज

दुःखको पहाडले थिचेपछि...

मदजूरको व्यथा

वीर अस्पतालमा विरामी विपना राई र उनका पति हिरालाल श्रेष्ठ।

गरीबलाई नै बरोबर समस्याको पहाडले किन थिचिरहन्छ? गरीबको जीवनमा सुखको बिहानी कहिले आउँछ? महामारीले पनि गरीबलाई नै किन बढी सताउँछ? यस्तैयस्तै प्रश्नहरूले विक्षिप्त बनेका छन् मजदूर हिरालाल श्रेष्ठ। यतिबेला उनी बिरामी श्रीमतीको उपचार गर्ने पैसाको अभावमा बेचैन छन्।  

उनकी श्रीमति विपना राईको शनिबारदेखि काठमाडौंस्थित वीर अस्पतालमा उपचार हुँदैछ। ‘डाक्टरसाबले फोक्सोमा इन्फेक्सन छ भन्नुभएको छ’, उनले भने ‘धन्न कोरोना भएको रहेनछ। पिसिआरको रिपोर्ट चाहिँ नेगेटिभ आयो।’  

डाक्टरले केही दिन अस्पतालमै बस्नुपर्छ भनेका छन्। तर, उनीसँग खल्तीमा पैसा छैन। कसरी उपचार गराउने भन्ने चिन्ताले सताएको छ। भक्तपुरको दधिकोटमा बसेर मजदूरी गर्दै आएका श्रेष्ठलाई गाउँलेहरूले चन्दा उठाएर अस्पताल पठाइदिएका थिए। अस्पतालमै पुगेर दोलखाका पर्यटनकर्मी लीलाराम खड्काले पनि केही रकम सहयोग गरे।  

विगत दुई महिनादेखि विपना बिरामी छिन्। औषधि किन्दा, प्रयोगशालाको बिल तिर्दा उठेको सहयोग रकम पनि सकियो। अब के गर्ने भन्ने चिन्ताले टोलाइरहन्छन् उनी।

‘लकडाउन नभएको भए त विदेशमा भएका साथीहरूले पनि पैसा पठाइदिन्थे होला! घरको अवस्था कमजोर छ’, उनले निन्याउरो अनुहारमा भने, ‘तनावैतनाव भयो। अब म के गरुँ?’

उनी भर्खर १९ वर्षका भए, विपनाचाहिँ १८ वर्षमा हिँड्दैछिन्। उनले ८ कक्षासम्म र विपनाले कक्षा १० सम्म पढेका छन्।  

उनी घर बनाउने ठाउँमा इट्टा बोक्ने, मसला घोल्ने लगायतका काम गर्थे। लकडाउन सुरु भएसँगै ज्यालामजदुरीको काम पाउन गाह्रो भयो। यस्तैमा विगत दुई महिनादेखि श्रीमती बिरामी पर्दा झन् समस्या बढ्यो।    

उनको घर भोजपुर जिल्लाको षडानन्द नगरपालिका–८ तुङ्गेछामा छ। त्यहाँ बूढा बाबा, हजुरआमा र भाइ बस्ने गरेको श्रेष्ठले सुनाए। त्यस्तै विपनाको माइतीघर भोजपुरकै सालेवा गाउँ हो। बुबा सानैमा बितेपछि उनकी आमाले अर्को विवाह गरिन्। त्यसैले उनी मावलीमा बसेर पढ्दै थिइन्, त्यहीबेला हिरालालसँग भेट भयो।  

‘म ट्रयाक्टर चलाउँथे। विपनासँग माया बस्यो’, उनले सुनाए, ‘अनि हामीले अढाई वर्षअघि बिहे गर्यौं‍।’  

कलिलैमा बिहे गरेपछि उनीहरूमा जिम्मेवारी बढ्यो। छोरी जन्मिइन्। उनीहरूकी छोरी कृतिका वर्ष दिनकी भइन्।  

दुईचार पैसा कमाउन वर्ष दिनअघि उनीहरू गाउँबाट काठमाडौं पसे। समस्यै समस्यामा जेलिँदा उनीहरूले डेराको भाडा समेत तिर्न सकेका छैनन्। लकडाउनमा गाउँलेले गरेको सहयोगबाट जसोतसो गुजारा चलिरहेको थियो। श्रीमती बिरामी हुँदा उनको रेखदेख गर्नुपर्ने भएकाले कतै मजदूरीमा जाने अवस्था पनि भएन।  

भविष्य सम्झँदा उनीहरूको मन कहालिन्छ। अहिलेका लागि उपचार खर्च जुटाउनुपर्ने बाध्यता छ। उनले मनकारीहरूबाट सहयोगको याचना गरेका छन्। उनलाई ९८१८७६१०३२ मा सम्पर्क गरेर सहयोग गर्न सकिन्छ। 

प्रकाशित: २९ असार २०७७ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App