१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

म्याग्दी पहिरो : पुरिएका १९ जनाको शव भेटियो

१३ जना अझै बेपत्ता

पश्चिम म्याग्दीका विभिन्न गाउँमा गएको पहिरोमा परेर हराएका मध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ । धवलागिरी गाउँपालिका–६,मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म १९ जनाको शव भेटिएको प्रहरीले बताएको छ ।  

मराङमा बेपत्ता भएकामध्ये ११ जना र विममा ८ जनाको शव भेटिएको हो । मराङमा अझै ११ र बिममा २ जना गरि १३ जना अझै बेपत्ता भएको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले अहिलेसम्म १९ जनाको शव फेला परेको जानकारी दिए । अरु बेपत्ताको खोजिका लागि सुरक्षाकर्मी परिचालन भएको उनले बताए । यी बाहेक म्याग्दीमा शुक्रबार खोलाले बगाउँदा अरु दुईजनाको पनि मृत्यु भएको थियो । बाढीपहिरोले म्याग्दीमा २१ जनाको ज्यान लिईसकेको उनले बताए  

प्रहरीका अनुसार मराङको रिखामा बेपत्ता भएकामध्ये सुकना लामगादे, आशिस लामगादे, आयुष लामगादे, आयुसा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र जनिमा केसीको १८ वर्षीय छोरा प्रकाश केसीको शव भेटिएको छ ।  

यसैगरी विमको पहिरोमा बेपत्ता भएका मध्ये ४० वर्षीय विष्णु पौडेल, ४ वर्षीया इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, विरबहादुर नेपाली, उनको ३ महिनाको छोरा तथा विष्णु नेपाली र सन्दिप नेपालीको शव भेटिएको छ । मृतकको अन्य विवरण भने खुल्न सकेको छैन । बाढिपहिरोको चपेटामा परेका धवलागिरी गाउँपालिकाका ५ सय ९० जनालाई बस्तीबाट हटाइएको प्रनाउ कुँवरको भनाई छ ।

मराङको पहिरोमा परेर मेरुदण्डमा समस्या भएपछि २२ वर्षीया गर्भवती मन्जिता श्रीपाली तथा ७ वर्षीय सफल श्रीपालीको हेलिकप्टरमार्फत उद्धार गरी बेनी अस्पतालमा ल्याई प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको छ । त्यस्तै मालिका–७,विमका ३६ वर्षीय पूर्णबहादुर नेपालीको अहिले बेनी अस्पतालमा उपचार भई रहेको छ । बाढी पहिरोबाट विस्थापित मराङको कल्लेनी र जहरेमा बस्ने ८९ जनाको उद्धार गरी धवलागिरी–७,सिबाङस्थित हेम माविमा ५० जना तथा बाँकी ३९ जनालाई आफन्तकोमा स्थानान्तरण गरिएको छ ।  

उत्तरी म्याग्दीको रघुगंगा–३, राहुघाट खोलानजिकै वस्तीको २१ घरधुरीका ८५ जनालाई सोही ठाउँको गायत्री मन्दिरमा स्थानान्तरण गरिएको छ । जिल्लाभरबाट शुक्रबार र शनिबार गरी ८ सय ५० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको हो ।

उद्धारमा ढिलाईका कारण सुत्केरी महिलाको ज्यानको जोखिमलाई मध्यनजर गरी ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र निर्माण ब्यवसायी संघका अध्यक्ष नारायण जिसीको ब्यक्तिगत लगानीमा धवलागिरी–७ कल्लेनीबाट ५ जना, गर्भवती महिला र उनका ९ बर्षिय छोरा २ जना, घरभित्र फसेका ४ जना, वडा नं ७ ताकमबाट दुई जनालाई बेनी ल्याइयो र ३ जनालाई बस्तीमा पु¥याइएको थियो । प्रभु हेलिकप्टरबाट बेनी  अस्पताल र पोखरा पठाइएको थियो ।  

मराङ र बिममा १२ जना पहिरोस्थलमै अझै फसेका छन् । मराङ र विमको पहिरो गएको घटनास्थलमा सांसद भूपेन्द्रबहादुर थापा, पूर्व सांसद नवराज शर्मा, म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरसहितको टोली रहेको छ ।

प्रकाशित: २७ असार २०७७ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App