५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

लागुऔषध र तस्करीका सामानसहित ६ जना पक्राउ

भारतसँग सीमा जोडिएको मोरङको विभिन्न नाकामा प्रहरीले बुधबारदेखि थप कडाइ गर्न थालेको छ । जिल्लाको विभिन्न नाका हुँदै सर्वसाधारण र तस्कर सहजै आवतजावत गर्न थालेको समाचार आएपछि प्रहरी त्यस्ता ठाउँको पहिचना गरी थप सुरक्षाकर्मी परिचालन गरेको छ । बुधबार भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको अवस्थामा विभिन्न ठाउँबाट प्रहरीले तस्करीका सामान र लागुऔषधसहित मानिसहरू पक्राउ गरेको जनाएको छ ।  

विराटनगर महानगरपालिका–१६ भट्टीमोड र दरैयाबस्तीबाट तस्करीको सामान र लागुऔषधसहित प्रहरीले चार जना तथा जहदा गाउँपालिका–२ बाट दुई  जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।  

भारतबाट विराटनगर–१६ दरैयाबस्ती हुँदै आउँदै गरेका दुई वटा साइकल चेकजाँच गर्ने क्रममा फेन्सी सामान र कपडासहित दुई जना पक्राउ परेका थिए । विराटनगर– १५ का २५ वर्षीय मुन्ना मण्डल र २८ वर्षीय मोहम्मद सोरहाले भन्सार छली गरेर ल्याउँदै गरेको ४४ हजार मूल्य बराबारका सामान बरामद गरिएको थियो । त्यस्तै २६ वर्षीय अरुण साहले २२ हजार मूल्य बराबरका पानीपुरी, कपडा तथा किराना मालसामान ल्याउँदै प्रहरीले पक्राउ गरेको जनाएको छ ।  

जहदा गाउँपालिका–२ जयराम चोक हुँदै बुधबार बिहान करिब साढे छ बजेतिर भारतबाट नेपाल ल्याउँदै गरेको २ वटा एलइडी टेलिभिजन सेटसहित २ जनालाई पक्राउ गरेको प्रवक्ता राईले बताए ।  

धनपालथान गाउँपालिका–२ का २६ वर्षीय सचिन मण्डल र जहदा–७ का ४० वर्षीय प्रशान्त मण्डलले भन्सार छलेर २ थान टिभी ल्याउँदै गर्दा पक्राउ परेको प्रहरीले जनाएको छ । भारतबाट आउँदै गरेको को २७ प ४७७४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा तस्करी गरेर ल्याउँदै गरेको २ थान ३२ इन्चको एलइडी टिभी बरामर गरेको जनाएको छ ।  

त्यस्तै, प्रहरीले दरैयाबस्ती नजिकबाट विराटनगर–३ का ३५ वर्षीय राजु श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । प्र.१–०२–०४० प ५०२७ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा झोलामा हालेर भारतबाट ल्याउँदै गरेको डाइलेक्स डिसी १० बोतल, एसपी ७२ चक्की र नाइट्रोभेट १५ चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।    

प्रहरीका अनुसार बरामद भएका सम्पूर्ण सामग्री विराटनगर भन्सार कार्यालयमा बुझाएको र लागुऔषधसहित पक्राउ परेका लागि थप अनुसन्धानका लागि थुनामा रहेको छ । लकडाउन खुकुलो भएसँगै पछिल्ला समय मोरङको विभिन्न ठाउँबाट दैनिक उपभोग्य वस्तु, खाद्यमल लगायतका सामग्री खरिद गर्न सर्वसाधारण सीमावर्ती भारतीय बजारमा जाने गरेका छन् । सीमामा ओहोरदोहोर गर्न सहज भएसँगै तस्करीसमेत मौलाएका छन् ।  

 

प्रकाशित: २४ असार २०७७ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App