५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

देशलाई आर्थिक सङ्कटबाट जोगाउन एमाले-कांग्रेसको सरकार: सञ्चारमन्त्री

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउनको लागि नेपाली कांग्रेस–एमालेको संयुक्त सरकार गठन भएको बताएका छन्।

लमजुङको बेंसीसहर नगरपालिका–७ मा शनिबार एमाले लमजुङको तेस्रो बैठकलाई सम्बोधन गर्दै उनले यसअघिको सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताए।

साथै, उनले वर्तमान सरकार मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्ने जिकिर गरे। सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने पनि दाबी गरे।

संविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उनले आवश्यकता अनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मूलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट पारे।

मन्त्री गुरुङले भने, "खासगरी सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन।"

उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरू घटाउनुपर्नेमा जोड दिए।

यसैगरी, एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घलेले वर्तमान सरकारले मुलुकको विकासका लागि काम गरिरहेको बताए।

प्रकाशित: ५ आश्विन २०८१ १८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App