१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

ओली-दाहाल टकरावले नेकपामा तनाव

एकीकरणका सबै प्रक्रिया टुंगाेमा नपुग्दै विभाजनको सँघारमा

शीर्ष नेताहरू आआफ्नो अडानमा कायमै रहँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ। विवाद लम्बिँदै जाँदा पार्टी विभाजनसम्म पुग्ने हो कि भन्ने आशंका बढेको छ।  दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू आआफ्नो अडानमा रहँदा पार्टी र सरकार दुवै अप्ठेरोमा पर्ने देखिएको छ। 

दुई वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको हो। तर एकीकरणका सबै प्रक्रिया टुंगोमा नपुग्दै नेकपा विभाजनको सँघारमा पुगेको विश्लेषण गर्न थालिएको छ।  

पार्टीभित्र देखिएको तिक्ततालाई सहमतिमा परिणत गर्न शनिबारका लागि बोलाइएको स्थायी कमिटी बैठक सहमतिका लागि भन्दै दुई दिन पर सारिएको छ। तर दुवै पक्ष सहमतिभन्दा विवाद र विभाजनको बाटोतर्फ अग्रसर भएका छन्। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालसहितका नेताहरू शनिबार आआफ्नै गुटगत छलफलमा सक्रिय  भए। निकट नेताहरुसँगको परामर्शमा रहेका प्रधानमन्त्री ओलीले साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग झन्डै एक घण्टा छलफल गरे। लगत्तै उनले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर पार्टीमा गम्भीर संकट आएको भन्दै आफूले कुनै पनि बेला अप्रिय निर्णय  लिन सक्ने बताए। प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछाड्ने अडान दोहो¥याएका ओलीले मन्त्रीहरूलाई आफूले लिने निर्णयको पक्ष वा विपक्ष कता लाग्ने हो भन्नेमा स्पष्ट हुन पनि आग्रह गरेका छन्। ‘स्थिति एकदम जटिल छ, हरेकले निर्णय गर्नुपर्ने बेला आएको छ,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘म र राष्ट्रपतिविरुद्ध ठूलो षड्यन्त्र भयो।’

प्रधानमन्त्री ओली पदका लागि पार्टी विभाजनतर्फ उन्मुख भएको आरोप लगाउँदै खुमलटार–कोटेश्वर (पुष्पकमल दाहाल–माधवकुमार नेपाल) निकट सचिवालयका एक सदस्यले भने, ‘मन्त्रीहरुसँग जसरी प्रधानमन्त्रीले छलफल गर्नुभयो र जे कुरा बाहिर आएको छ त्यसले अबचाहिँ उहाँले नै पार्टीभित्र मुठभेडको अवस्था निम्त्याएको हामीले बुझेका छौं।’

ओली पक्षको आरोप

सरकारलाई असहयोग गरेको  

बेग्लै भेला गरेर प्रधानमन्त्रीबाट हटाउन खोजेको  

पार्टीमा गुटबन्दी बढाएको  

विदेशी शक्ति पार्टीभित्र हाबी गराएको  

सरकारको कामलाई पार्टीले स्वीकार्न नसकेको  

ती सदस्यका अनुसार पार्टी विभाजन हुनबाट रोक्न दाहालले आइतबार ओलीसँग वार्ता गर्ने  भएका छन्। ‘दाहाललाई बालुवाटारमै गएर ओलीसँग छलफल गर्नुस् भनेका छौं। एकता कायम राख्नेगरी छलफल गर्नुस् भनेका छौं। तर प्रधानमन्त्रीले मन्त्रीहरुसँग गरेको छलफलमा भएको कुराकानी सुन्दा निकास आउला भन्ने अपेक्षा भने कमै गरेका छौं’, ती सदस्यले भने।  

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बोलाएर पार्टी एकता संकटमा परेको बताएका थिए। ‘मविरुद्ध मात्र होइन, राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेसम्मको सूचना आएको छ। जसले लोकतन्त्रलाई नै खतरामा लैजाँदैछ। म चाहन्छु पार्टीभित्र विश्वासको वातावरण बनोस्, मैले अप्रिय निर्णय गर्न नपरोस्’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक मन्त्रीले भने। ती मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आफूलाई विभिन्न बहानाबाजी गरेर हटाउन पार्टीकै जिम्मेवार नेताहरु लागिपरेको र पार्टीबाट सरकारलाई असहयोग भएको गुनासो गरेका थिए।  

कम्युनिस्ट आन्दोलन र राष्ट्रियता दुवै संकटमा रहेका कारण आफूले दुवै पद नछाड्ने अडान ओलीले मन्त्रीहरुसँग पनि दोहो¥याएका थिए। ‘अहिले मुलुकमा कम्युनिस्ट आन्दोलन र राष्ट्रियता दुवै खतरामा छ। यसले मुलुकको हित गर्दैन। त्यसकारण म दुवै पद नछाड्ने मुडमा पुगेको हुँ। कम्युनिस्ट आन्दोलन र राष्ट्रियता जोगाउन तपाईंहरुको साथ र भूमिका पनि महत्वपूर्ण हुन्छ’, ती मन्त्रीले भने। कम्युनिस्ट आन्दोलन जोगिन्छ वा राष्ट्रियता जोगिन्छ भने मात्रै आफूले राजीनामा दिने ओलीले बताएको जानकारी बालुवाटार बैठकमा सहभागी ती मन्त्रीले दिए। अहिले भारतसँग टसल परिरहेको अवस्थामा आफूले राजीनामा दिनु ठिक नभएको पनि ओलीले बताएका थिए।  ‘स्थिति निकै जटिल छ। दुवै पक्ष आआफ्नो अडानमा अडिग रहेको पाइयो, मुठभेडमै जाने अवस्था देखिँदैछ’, प्रधानमन्त्रीको ब्रिफिङ सुनेर फर्केका अर्का मन्त्रीले भने।  

प्रधानमन्त्री ओलीले आफू कुनै हालतमा पछि नहट्ने संकेत गरेका छन्। भोलिका दिनमा आइपर्ने समस्यासँग जुध्न पनि ओलीले आफूलाई साथ दिन मन्त्रीहरूलाई आग्रह गरेका छन्। ‘प्रधानमन्त्रीज्यूले समसामयिक घटनाबारे बताउनुभयो। राष्ट्रियता र कम्युनिस्ट आन्दोलन संकटमा पार्नेगरी प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग्ने काम भएको छ। कम्युनिस्ट आन्दोलन र राष्ट्रियताको पक्षमा लड्नका लागि पनि म राजीनामा दिन्नँ’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले भनिन्। उनका अनुसार प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलन र राष्ट्रियता जोगाउन आफूलाई साथ दिन सबै मन्त्रीलाई  आग्रह गरेका थिए।  ओलीले पार्टीमा विश्वासको वातावरण बनोस् भन्ने आफ्नो चाहना रहेको समेत बताएका थिए।  

दाहाल–नेपाल पक्षको आरोप  

ओलीमा व्यक्तिवादी चरित्र हाबी भएको  

अहंकार र दम्भ देखाएको  

पार्टीसँग समन्वय नगरेको  

विधि अनुसार पार्टी सञ्चालन नगरेको  

सरकारी नियुक्ति एकलौटी गरेको  

पार्टीका निर्णय नमानेको  

बालुवाटार बैठकमा मन्त्रीहरू घनश्याम भुसाल, वर्षमान पुन, विना मगर र पार्वत गुरुङले पनि धारणा राखेका थिए। उनीहरुले पार्टीलाई विभाजन हुन नदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।  

ओली र दाहालबीच शुक्रबार भएको छलफलबाट कुनै निष्कर्ष ननिस्केपछि दुवै पक्षले आआफ्नोे तयारी जारी राखेका छन्। शनिबार बिहान दुई अध्यक्षबीच भएको टेलिफोन कुराकानीपछि स्थायी कमिटी बैठक स्थगित गरिएको थियो।

दाहालले आइतबार ओलीसँग समय लिएरै छलफल गर्ने भएका छन्। पार्टी एकता कायम राख्न कुनकुन बिन्दुबाट छलफल थाल्ने, कुन बिन्दुमा पुगेर टुंग्याउने भन्नेबारेमा दाहालले छलफल गर्ने उनी निकट स्रोतले जनाएको छ।  

गौतमलाई मनाउने ओली पक्षको प्रयास

दुई अध्यक्षबीचको विवाद मत्थर नभएपछि उपाध्यक्ष वामदेव गौतमलाई ओली पक्षधर नेताहरुले मनाउने कोसिस गरेका छन्। शुक्रबार राति उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, विष्णु रिमाल, किरण गुरुङ, राजन भट्टराईसहितले गौतमलाई भेटेका थिए। उनीहरुले रातिको खाना गौतमसँगै खाएर तत्कालीन एमालेका तर्फबाट हुने अध्यक्षको जिम्मेवारी लिन आग्रह गरेका थिए। तर गौतमले भने आफूले ओलीबाट पटकपटक धोका पाएकाले उनलाई साथ दिन नसक्ने बताएका थिए। ‘मलाई ओलीले धेरै धोका दिए। उनलाई मैले सधैं सहयोग गरेको छु। पार्टी अध्यक्ष बनाउन, संसदीय दलको नेता बनाउन र अन्य विषयमा पनि मैले उनलाई साथ दिएको थिएँ तर बदलामा धोका मात्रै पाएँ’, गौतमलाई उद्धृत गर्दै स्रोतले भन्यो।  

एकता जोगाउने निर्णय  

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले विवाद मिलाउन केही समय मागेपछि स्थायी कमिटीको शनिबार बस्ने भनिएको बैठक दुई दिन पर सारिएको छ। बैठक स्थगित भएपछि सचिवालयका ६ जना सदस्यसहितले दाहाल निवास खुमलटारमा भेला भएर पार्टी फुट्न नदिने निर्णय गरेका छन्। उनीहरुले ओलीलाई पार्टी निर्णयमा सहमत गराउने र पार्टी एकतालाई अझ बढी मजबुत बनाउने निर्णय गरेका छन्। भेलामा  दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा पनि सहभागी थिए। उनीहरुले पार्टीभित्र उत्पन्न विवाद जतिसक्दो चाँडो मिलाउन प्रयत्नसमेत गर्ने बताएका थिए।  

खुमलटारमा सचिवालय सदस्यहरुको भेला सकिएपछि वरिष्ठ नेता नेपालले आफ्ना पक्षका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरे। उनले भीम रावललगायत नेताहरुसँग छलफल गरेको स्रोतको दाबी छ। खुमलटारमा पनि पूर्वमाओवदी खेमाका नेताहरुको छुट्टै बैठक बस्यो।  

राष्ट्रपति सक्रिय

सत्तारुढ दलभित्र आन्तरिक विवाद चुलिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उपाध्यक्ष वामदेव गौतमलाई निवासमा बोलाएर भेट गरेकी छिन्। उनले गौतमसँगको कुराकानीमा पार्टी एकतामा जोड दिएकी थिइन्। शुक्रबार गौतम महासचिव विष्णु पौडेललाई लिएर राष्ट्रपति निवास पुगेका थिए। भेटमा केके विषयमा कुराकानी भयो भन्नेबारे गौतमले केही बताउन चाहेका छैनन्। राष्ट्रपतिले ‘नेकपामा पूर्वएमालेको खेमाबाट नेतृत्व गर्ने तपाईंबाहेक अर्को नेता नभएकाले पार्टी एकतालाई जीवित राख्न’ गौतमलाई आग्रह गरेको स्रोतको दाबी छ।  

त्यसैगरी राष्ट्रपति भण्डारीले महिला सांसदहरुलाई पनि निवासमा बोलएर पार्टीभित्र देखिएको पछिल्लो परिस्थितिबारे छलफल गरेकी छन्।  

‘मुलुकको पछिल्लो परिस्थितिबारे राष्ट्रपतिले केही नेता र सांसदसँग जानकारी लिनुभएको हो, त्यसबाहेक अन्य केही भएको छैन’, राष्ट्रपति कार्यालय स्रोतले भन्यो।  

दबाब अभियान  

नेकपामा आन्तरिक विवाद चुलिँदै गएपछि दोस्रो तहका नेताहरुले मध्यस्थताको पहल अघि बढाएका छन्। केन्द्रीय सदस्यहरुले पनि पार्टी विभाजन नगर्न शीर्ष नेताहरुलाई दबाब  अभियान सञ्चालन गरेका छन्। ओली, दाहाल र नेपालनिकट नेताहरूले दबाब अभियान सुरु गरेका हुन्।  

महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको संयोजन र नेतृत्वमा तेस्रो तहका नेताहरूले शुक्रबारदेखि नै सो अभियान सुरु गरेका हुन्। उनीहरुले  शनिबार पनि भेला भएर सातवटै प्रदेशमा एकताका लागि दबाब अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्।   अभियानमा पूर्वएमाले खेमाबाट मन्त्री गुरुङसहित केन्द्रीय सदस्य तथा सांसदहरू गणेश पहाडी, खिमलाल भट्टराई, यज्ञराज सुनुवार, लीलानाथ श्रेष्ठ, झपट रावललगायत छन् भने पूर्वमाओवादी समूहबाट टेकबहादुर बस्नेत, सुरेश राई, कमला रोक्का, श्याम श्रेष्ठलगायत छन्।  

कृषिमन्त्री घनश्याम भुसालको नेतृत्वमा पनि छुट्टै दबाब अभियान सुरु गरिएको छ। त्यस्तै, केन्द्रीय सदस्यहरू जगन्नाथ खतिवडा, ठाकुर गैरे, हिमाल शर्मा, डा. विजय पौडेल, रामकुमारी झाँक्रीसहित करिब ५० नेता–कार्यकर्ताको अगुवा समूहले शुक्रबारबाट सुरु गरेको पार्टी कार्यालय धर्ना अभियानलाई शनिबार पनि निरन्तरता दिएको छ। समूहले ७७ वटै जिल्ला पार्टी कार्यालयमा धर्ना र दबाब अभियान सञ्चालन गर्ने भएको छ।

प्रकाशित: २१ असार २०७७ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App