२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिकता ऐन संशोधनविरुद्ध प्रदर्शनमा मन्त्रीदेखि मेयरसम्म

प्रदेश २

मंगलबार जनकपुरमा नागरिकता विधेयकको विरोधमा गरिएको प्रदर्शनमा सहभागी प्रदेश सरकारका मन्त्री तथा सांसदहरु । तस्बिरः राहित/नागरिक

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने प्रावधानलाई कानुनमा व्यवस्था गर्न लागिएको विरोधमा मंगलबार प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरिएको छ ।  

प्रदर्शनमा प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र मेयर समेतको सहभागिता जनाएका थिए । जनकपुरको जनकचोकबाट जनता समाजवादी पार्टीले निकालेको विरोध प्रदर्शनमा प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह, प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया, प्रदेश सांसद प्रमेश्वर साह, रामअशिष यादव, शैलेन्द्र यादव र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पनि सहभागिता जनाए थिए । प्रदर्शनमा सहभागिता जनाएका मन्त्रीहरु कोण सभामा सहभागिता जनाएनन् ।

लहानको सहिद चोकबाट जनता समाजवादी पार्टीले निकालेको विरोध प्रदर्शनमा सहभागीहरु नगर परिक्रमा गरेर सहिद चोकमै कोण सभा गरेका थिए । सप्तरीको राजबिराज स्थित शिव मन्दिरको अगाडीबाट जनता समाजवादी पार्टीले निकालेको जुलुसमा सामाजिक विकास मन्त्री नवलकिशोर साह समेत सहभागी भएका थिए । जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो

जनता समाजवादी पार्टी रौतहटले गौरको मधेसी क्रान्ति चोकबाट निकालेको जुलुस नगरपरिक्रमा गरी कोणसभामा परिणत भएको थियो । बारा, पर्सा, सर्लाही, महोत्तरीमा समेत जनता समाजवादी पार्टीले प्रदर्शन गरेको जनाइएको छ । नागरिकता संशोधन विधेयक फिर्ता नलिए आन्दोलन चर्काउने सहभागीहरुले चेतावनी दिए । उनीहरुले विदेशी बुहारीको हकमा नागरिकता पाउने समय ७ वर्षको गर्दा महिलाहरुसित अन्याय हुने तर्क गरे ।

प्रदेश सांसद प्रमेश्वर साहले नेपाल र भारतको रोटीबेटीको सम्बन्ध टुटाउन नागरिकता विधेयकलाई संशोधन गर्न लागिएको आरोप लगाए । ‘नेपाल–भारतबीच वैवाहिक सम्बन्ध अहिलेको होइन । त्रेतायुगमा राम र सीताको विवाह भएको हो,’सांसद साहले भने,‘वैवाहिक सम्बन्ध दुई देशबीचको होइन । पारिवारिक नातामा हामी बाधिएका छौं । यसलाई भत्काउने काम सहय हुन्न ।’

प्रदेश २ को प्रदेशसभाले पनि नागरिकता संशोधन विधेयक फिर्ता लिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव स्वीकृत गरिसकेको छ । संशोधन विधेयकको विरोधमा जसपाले आफ्नो आधार क्षेत्रमा प्रदर्शन तथा विरोधका अन्य कार्यक्रमहरु गर्दै आएको छ । नेपाली कांग्रेसले पनि नागरिकता संशोधन विधेयक फिर्ता लिन विरोधका विभिन्न कार्यक्रम अघि बढाएको छ ।

जुलुसमा सहभागीलेहरु ‘नागरिकता विधेयक खारेज गर, मधेसमाथिको विभेद बन्द गर, बेटी रोटीको सम्बन्ध बिगार्न पाइँदैन’ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शनमा उत्रेका थिए ।

नागरिकता संशोधन विधेयक विभेदकारी रहेकाले खारेजीको विकल्प नरेको जसपाका नेताहरुले बताएका छन् । नागरिकता संसोधन विधेयक ल्याएर सरकारले विभेद गर्न खोजेको उनीहरुले आरोप लगाउँदै आएका छन् ।  

नागरिकता सम्बन्धी अन्तरिम संविधानमा भएको व्यवस्थालाई तोडेर विभेदकारी र पुर्वाग्रही ढंगले ल्याउन लागिएकोले यो विधेयक खारेज हुनुर्ने सहभागीरुको भनाई छ ।

प्रकाशित: १६ असार २०७७ १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App