१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सिक्टाले छाड्यो खेतमा पानी

सिक्टा सिँचाइ आयोजनाको पश्चिम मुल नहरमा छाडिएको पानी । तस्बिर : नागरिक

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी छाडेको छ । आयोजनाले पश्चिम नहर र निर्माणाधिन पुर्वी नहरबाट पानी छाडेको हो । पश्चिम मुल नहरको जेठी नालासम्म र पुर्वी नहरको साविक राजकुलोबाट किसानको खेतमा पानी छाडिएको आयोजनाका निर्देशक लोकबहादुर थापाले बताए । धान रोपाईलाई मध्यनजर गर्दै विभिन्न शाखा तथा प्र–शाखा नहरबाट खेतबारीमा पानी छाडिएको उनले बताए ।  

‘हामीले बैशाख महिनाबाट केही ठाउँमा पानी छाड्यौं, त्यसपछि जेठ १५ पछि पनि क्रमशः विभिन्न शाखा र प्रशाखाबाट पानी छाड्ने काम भइरहेको छ,’ थापाले नागरिकसँग भने ‘यो वर्ष करिव १६ हजार हेक्टर जमिनमा सिक्टाको पानी छाड्ने हाम्रो अनुमान छ ।’ असार १५ सम्म आइपुग्दा अधिकांस किसानको खेतमा पानी पुगेको उनको दाबी छ । सिक्टा सिचाइँ आयोजनाबाट बाँकेमा कुल ४२ हजार हेक्टर क्षेत्रफलमा सिचाइँ सुबिधा पुर्याउने सरकारको लक्ष्य छ । पश्चिम मुल नहरबाट ३३ हजार र पुर्वी नहरबाट ९ हजार हेक्टर क्षेत्रफलमा सिचाइँ पुर्याउने लक्ष्य राखिएको छ । थापाका अनुसार पश्चिम मुल नहर अन्तर्गत रहेका सिधनिया र डुडुवा शाखा तथा जेठी नाला हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो ।  

५० क्युमेक्स क्षमता रहेको सिक्टाको पश्चिम मुल नहरबाट अहिले २ देखी ३ क्युमेक्स पानी छाडिएको उनले जानकारी दिए । ‘बैशाख महिनातिर ४ देखी ५ क्युमेक्ससम्म पानी छाडेका थियौं, अहिले बर्खायाम पनि सुरु भइसकेको हुँदा आवश्यकता अनुसार २ देखी ३ क्युमेक्स मात्र छाडिरहेका छौं,’ उनले थपे ‘आवश्यक परेमा बढाउँदै लैजाने हो ।’ तर, अहिले तत्कालका लागि पानीको क्षमता बढाउने अवस्था नरहेको बताए । नहरमा थोरै परिमाणको पानी चलाइएको हुँदा अहिले कतै समस्या नदेखिएको आयोजनाका इन्जिनियर बताउँछन् ।  

यस्तै पुर्वी नहर अन्तर्गत रहेको साबिक राजकुलोबाट पनि आवश्यकता अनुसार किसानको खेतबारीमा राप्ती नदीको पानी छाडिएको आयोजना निर्देशक थापाले जानकारी दिए । ‘पर्याप्त मात्रामा बर्षा नभएपनि यसवर्ष सिक्टाको नहर पुगेको ठाउँमा किसानले समयमै धानको ब्याड राख्न र रोपाई गर्न पाएका छन्,’ उनले भने ।  

यसअघि परिक्षण गर्ने क्रममा दुई पटक उक्त आयोजनाको पश्चिम मुल नहर भत्किएको थियो । पहिलो पटक ढकेरीस्थित झिझरी खोला र दोस्रो पटक चंगाई नाला नजिक मुल नहर भत्किएको थियो । राज्यको अर्बौ रुपैयाँमा बनेको सिचाइँ नहर पटक–पटक भत्किएपछि सर्बत्र चासो बढेको थियो । संसदिय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सिँचाइ मन्त्रालय, विभाग, विदेशी विज्ञ टोली लगायतले अध्ययन तथा अनुसन्धान गरेका थिए । लामो अनुसन्धान पश्चात अख्तियारले सिक्टामा साढें आठ अर्ब बराबर भ्रष्टाचार भएको ठहर गर्दै तत्कालिन आयोजनाका कर्मचारी, ठेकेदार, परामर्शदाता लगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ ।  

सरकारले बाँकेमा २०३२ सालबाट सिक्टा सिचाइँ आयोजनाको काम अगाडी बढाउन खोजेको थियो । तर, भारतले विभिन्न बहानामा आयोजना बन्न नदिएपछि रोकिएको थियो । त्यसपछि नेपाल सरकारले आफ्नै पहलमा २०६२÷६३ सालबाट बाँकेको अगैयामा हेडवर्कस निर्माण गरी आयोजनाको काम अगाडी बढाएको हो । आयोजनाको काम समयमै सम्पन्न नहुँदा किसानले पर्याप्त मात्रामा सिँचाइ सुबिधा पाउन सकेका छैनन् । आयोजनाको सम्पुर्ण काम सम्पन्न हुँदासम्म लागत खर्च करिव ३० अर्ब नाघ्ने सरकारको अनुमान छ । आयोजनामा अहिलेसम्म करिव १६ अर्ब खर्च भइसकेको बताइएको छ ।

प्रकाशित: १६ असार २०७७ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App