८ वैशाख २०८१ शनिबार
समाज

क्वारेन्टिन बने लेकसाइडका होटल

कोरोना संक्रमणबीच विभिन्न मुलुकबाट उद्धार गरेर स्वदेश फर्काइएका ८६ जना नेपाली यहाँका होटलमा बसेका छन्। होटललाई क्वारेन्टिन बनाएका उनीहरुले होटलमा बसेबापतको शुल्क आफैले तिर्नेछन्। तेश्रो मुलुकबाट फर्केका तर, होटलमा पैसा तिर्न नसक्ने ९७ जना भने पोखरा महानगरपालिको विभिन्न ११ वटा क्वारेन्टिनमा बसेका छन्।  

पश्चिमाञ्चल होटल संघका अनुसार लेकसाइडका विभिन्न आठवटा होटलमा ती नागरिक बसेका छन्। पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनका अनुसार विभिन्न १२ मुलुकबाट फर्केका नागरिकले होटललाई क्वारेन्टिन बनाएका हुन्। होटलमा बसेकामध्ये ६ जना परीक्षणपछि नेगेटिभ रिपोर्ट आएकोले घर फर्किएका छन् भने ८० जना अहिले पनि होटलमै छन्। होटलमा बसेका उनीहरुलाई पालैपालो पिसिआर परीक्षण गरेर घर पठाउने गरेको पोखरा महानगरपालिकाले बताएको छ।  

संघका अनुसार विदेशबाट फर्किएर होटलको क्वारेन्टिनमा बस्नेमा युएइबाट फर्केका १३, मालदिभ्सबाट आएका ११, भारतबाट आएका २४, कोरियाबाट फर्केका ३, अस्ट्रेलियाबाट आएका एकजना रहेका छन्। त्यस्तै कतारबाट फर्केका पाँचजना, बेलायतबाट फर्केका पाँचजना, मकाउबाट आएका तीन, जापानबाट आएका नौ, अमेरिकाबाट आएका ६ जना र मलेशियाबाट आएका २ जना रहेका छन्। ती बाहेक नेपालकै विभिन्न जिल्लाबाट पोखरा आएर होटलमा क्वारेन्टिनमा बस्ने पनि रहेका छन्। त्यसबाहेक गाउँको क्वारेन्टिनमा पुगेका एकजना व्यक्तिले बसोबास व्यवस्थित नभएको भन्दै होटल फर्किएर पनि बसेका छन्।  

‘लेकसाइडका विभिन्न आठवटा होटलमा उनीहरु बसेका छन्। एकतारेदेखि टुरिस्ट स्ट्याण्डर्ड सम्मका होटलमा स्वदेश फर्किएका ती नागरिक बसेका छन्,’ तुलाचनले भने, ‘विभिन्न समयमा नेपाल फर्किएपछि उनीहरुलाई प्रदेश सरकारले पोखरासम्म ल्याएको थियो।’ अध्यक्ष तुलाचनका अनुसार होटलमा बस्नेमध्ये धेरैजसो कास्कीका छन्। ती बाहेक रोल्पा, स्याङजा, पर्वत र म्याग्दीका बासिन्दा पनि रहेका छन्।  

संघका अनुसार होटललाई क्वारेन्टिन बनाएका ती पाहुनाले कोठामा एक्लै बस्दा प्रतिरात दुईदेखि तीनहजार रुपैयाँसम्म तिर्नुपर्नेछ भने साथीसँग मिलेर बस्दा प्रतिव्यक्ति २ हजारदेखि २५ सय रुपैयाँसम्म तिर्नुपर्नेछ। ‘त्यो रकमले बिहान खाजा, खाना, दिउँसो खाजा र बेलुकी खाना खानेछन्,’ उनले भने, ‘विभिन्न मुलुकबाट अझै पनि उद्धारका उडान हुने क्रम चलिरहेकोले थप होटलमा पाहुना आउने अनुमान छ।’

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले पैसा तिर्न तयार भएका व्यक्ति होटलको क्वारेन्टिनमा गएको र पैसा तिर्न नचाहनेलाई महानगरले भिन्दै क्वारेन्टिनमा राख्ने गरेको बताए। ‘विदेशबाट फर्किदैमा सबैले पैसा तिर्न सक्छन् भन्ने छैन। पैसा तिर्न तयार हुने व्यक्तिले होटललाई क्वारेन्टिन बनाएका छन्। पैसा तिर्न तयार नहुनेलाई महानगरले नै क्वारेन्टिन बनाएर राखेको छ,’ शर्माले भने, ‘१४ दिनसम्म उनीहरु क्वारेन्टिनमा बस्नेछन। त्यो अवधिमा कुनै समस्या नआए परीक्षणपछि घर फर्किनेछन्।’ महानगरको क्वारेन्टिनमा अहिले सबैगरि २१५ जना बसेका छन्। ती मध्ये अधिकांश भारतबाट फर्केका व्यक्ति हुन्।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले पनि स्वदेश फर्किएका केही व्यक्ति होटलमा बसेको र कतिपय होम क्वारेन्टिनमा बस्ने बाचा बाँधेर घर पुगेको पनि बताए। ‘१४ दिन त अनिवार्य क्वारेन्टिनमा बस्नैपर्छ। कतिपय होटलमा बसेका छन्। केही सरकारी निकायले चलाएको क्वारेन्टिनमा छन्,’ निर्देशक शर्माले भने, ‘पारिवारिक अवस्था देखाएर कतिपय घर पुगेका पनि छन्। तर, घर पुगिसकेपनि उनीहरुले क्वारेन्टिनको अवधि भने पुरा गर्नेपर्छ।’  

गण्डकीमा ९४९ संक्रमित

अन्यत्रको तुलनामा ढिलागरि संक्रमण फैलिएको गण्डकी प्रदेशमा ९४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ती मध्ये ८३३ जना पुरुष र ११६ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ। प्रदेशका ११ वटै जिल्लामा संक्रमण फैलिएपनि हिमाली जिल्ला मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एकजनामा मात्र संक्रमण पुष्टि भएको थियो।  

प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी नवलपुरका २१८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागलुङमा १९४ र स्याङजामा १७३ जनामा संक्रमण पुष्टि भएको छ। पर्वतका ८५ जना र म्याग्दीका १६ जनामा पनि संक्रमण देखिएको छ। त्यस्तै तनहुँमा ११८, गोरखामा ८४, कास्कीमा ४१ र लम्जुङका १८ जनामा संक्रमण देखिएको छ। प्रदेशका संक्रमितमध्ये २१४ जना निको भएका छन् भने दुईजनाको मृत्यु भएको छ।  

 

 

प्रकाशित: १६ असार २०७७ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App