१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शनिबार रुपन्देहीमा फुर्तीफार्ती देखाएको सलह आइतबार झरीले सुस्तायो

खेती लगाउने बेला शनिबार एका एक सलहको बथान जिल्ला पसेपछि आत्तीएका किसानलाई आइतबारको मौसमले केही राहत दियो । शनिबार रातिदेखि परेको झरीका कारण सलहको उडान र गतिविधि सुस्ताएपछि किसानले राहत महशुस गरेका हुन ।

शनिबार बुटवल लगायतका केही स्थानमा निकै फुर्तीफार्ती देखाएको सलहको बथानको उडान र गतीविधि झरीकै कारण अवरुद्ध भएपछि बालीनालीमा यसले ठूलो क्षति हुन नपाएको कृषि बिज्ञहरुले बताएका छन । प्रदेश कृषि निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीका अनुसार झरीले सलहलाई शिथिल बनाउने भएकाले बालीनालीमा ठूलो क्षति गर्न सक्दैन । उडान भर्न पनि सक्दैन । त्यसैले तत्काल सलहबाट आत्तिइ हाल्नु पर्ने अवस्था नरहेको तर सावधानी भने अपनाउनु पर्ने अधिकारीले बताइन् ।  

सलहको क्षतिको अवस्था तथा नियन्त्रणका लागि आइतबारदेखि प्रदेशका अधिकाँश जिल्लामा किट बिज्ञ तथा कृषि अधिकारीहरु स्थलगत अध्ययनमा खटिएका छन् । प्रदेशको कृषि मन्त्रालयले स्थानीय तहहरुसंगको समन्वयमा जनचेतना मुलक सन्देशहरु किसान समक्ष पुर्‍याउने,धुवाँको माध्यमबाट सलह धपाउने तथा औषधि छर्कीएर नष्ट गर्ने लगायतका तयारी गरीरहेको छ । एक किलोको बिस रुपैयाँमा सरकारले नै किनीदिएर सलह संकलन गर्न सर्बसाधारणलाई प्रोत्साहन गर्ने उपाय अवलम्बन गरेको छ ।

प्रदेशको कृषि निर्देशनालयका प्रमुख यामनारायण देवकोटाका अनुसार प्रदेशका कुनैपनि जिल्लामा आइतबार सलहका नयाँ बथान भेटिएनन् । शनिबार बास बसेकाले पनि ठूलो क्षति गरेका छैनन् । सलहकै गतिविधि अध्ययनका लागि खटिएका अधिकारीहरुका अनुसार आइतबार रुपन्देहीको सैनामैना, पाल्पाको दोभान स्थित झ्याङला,अर्घाखाँचीको शितगंगा, नवलपरासीको सुनवल र दाङका केही स्थानमा सलहका टुक्रे बथान बास बसेका थिए ।  

मौसम प्रतिकुलताका कै कारण तीनले बालीनालीमा ठूलो क्षति भने गरीसकेका छैनन् । निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीले रुपन्देहीको सैनामैनामा मकै,मुङदालका बोट,धैचा र आपका रुखमा सामान्य क्षती पुर्‍याएको बताइन् । उनका अनुसार सो क्षेत्रमा आइतबारै साँझ बिषाधि छर्केर सलह नष्ट गरीने छ । दोभान र शितगंगामा मकैका बोटमा सामान्य क्षति गरेको छ । सैनामैनाका नगरप्रमुख चित्रबहादुर केसीले शनीबारदेखि नै सलहबाट बालीनाली जोगाउ अपनाउनु पर्ने सावधानीका सम्बन्धमा नगरबासीलाई माइकिङ गर्दैसचेत बनाइएको बताए । बुटवल उपमहानगरले पनि सलहबाट बालीनाली जोगाउन सचेतना मुलक माइकिङ्क लगायतका कार्यक्रम गरेको छ ।  

बरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीका अनुसार शनिबार देखिएको सलहका बथान मौसमकै कारण टुक्रिएको र अधिकतर पाल्पा र रुपन्देहीको सीमा क्षेत्रको जंगलमा रुमल्लीएको छ । उनका अनुसार केही दिन झरी परीरहे सलहको शक्ति ह्रास हुँदै जानेछ र त्यसले बालीनालीमा क्षति पुर्‍याउन सक्दैन ।

बुटवलमा साढे ८ किलो सलह संकलन
बुटवल नगरपालिकाले आइतबार साढे ८ किलो सलह किनेको छ । प्रतिकिलो २० रुपैयाँका दरले १ सय ७० रुपैयाँमा साढे ८ किलो सलह किनेको हो । बुटवलको लक्ष्मीनगरका स्थानीयले संकलन गरेको सलह नगरपालिकाले किनिदिएको नगरपालिकाका वातावरण तथा अनुगमन महाशाखाका प्रमुख भुवाप्रसाद लुइटेलले जानकारी दिए । शनीबार एक्कासी सलहको बथान जिल्ला प्रवेस गरेपछि बुटवल नगरपालिकाले प्रतिकिलो २० रुपैयाँमा सलह किन्ने निर्णय गरेको थियो । 

सो निर्णय अनुरुप सलह संकलन गरेर ल्याएका दुई जनाबाट साढे ८ किलो सलह किनेको महाशााखा प्रमुख लुइटेलले नागरिकलाइ बताए । प्रदेशको कृषि मन्त्रालयले पनि किरा नियन्त्रणकालागि तत्काल विशेष पहलकदमी चाल्ने निर्णय गर्दै बिस रुपैयाँ प्रतिकिलोका दरले सलह किन्ने निर्णय गरेको छ ।

प्रकाशित: १४ असार २०७७ १५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App