४ वैशाख २०८१ मंगलबार
समाज

लकडाउन अवधिमै बेलहिया नाकाबाट ५१ हजार बढिले गरे ओहोर दोहोर

प्रतिमान निमा ईन्ष्टिच्युटमा बनाइएको होल्डीङ सेन्टर । सिमानाका बेलहियामा भएको चहलपहल ।

लकडाउन अवधिमा रुपन्देहीको बेलहिया नाकाबाट ५१ हजार बढि नागरिकले ओहोर दोहोर गरेका छन् । नेपाल सरकारले लकडाउन घोषणा गरेसँगै दैनिक रुपमा नागरिकहरु स्वदेश फर्किने र बाहिरीने क्रम जारी छ । 

रोजागारको सिलसिला, उपचारको क्रममा र भ्रमणमा रहेका नागरिकहरु लकडाउन भएदेखि बेलहिया नाकाबाट २३ हजार ८ सय ९५ जना नागरिक नेपाल आएका छन् । रुपन्देहीसहित ५५ जिल्ल्का नागरिक बेलहिया नाकाबाट नेपाल प्रवेश गरेका छन् । रुपन्देही जिल्लका ५२१ महिलासहित ५ हजार १ सय ४५ जना नागरिक स्वदेश आएका छन् । त्यस्तै २८ हजार ५६ जना नागरिक नेपालबाट भारत गएको जिल्ला प्रहरी कार्यालयको तथ्याङकमा देखिएको छ ।

अहिले पनि नेपाल आउने क्रम रोकिएको छैन पहिलाको तुलनामा केही कम भए पनि यस हप्तामा मात्र १५ सय ९ जना आएका छन् । आउने नागरिकहरुलाई प्रतिमान निमा ईन्ष्टिच्युटमा बनाइएको होल्डीङ सेन्टरमा राखी सम्बन्धित पालिका र प्रशासनलाई जानकारी गराइ पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्कबहादुर खत्रीले जानकारी दिए । आएका नागरिकहरुलाई होल्डीङ सेन्टरमा व्यवस्थापन गर्ने, गनतव्यमा जानका लागि सवारी साधनका पासहरु जारी गर्ने काम कार्यालयले गरिरहेको छ ।  

घट्दै क्वारेन्टिन

बाहिरबाट आएका नागरिकहरुका लागि रुपन्देहीमा ६४ वटा क्वारेन्टिनमा व्यवस्थापन गरिएको छ । सय वटा क्वारेन्टिन व्यवस्थापन भएपनि अहिले क्वारेन्टिन अवधि पूरा गरी घर फर्किने क्रम बढेकोले क्वारेन्टिनको संख्या घट्दै गइरहेको छ । रुपन्देही जिल्लामा हालसम्म ७ हजार ९ सय २२ जनालाई क्वारेन्टिनमा व्यवस्थापन गरिएको छ । हाल पनि १ हजार ७७ जना रुपन्देहीका विभिन्न क्वारेन्टिनमा रहेका छन् ।  

प्रकाशित: १३ असार २०७७ ०८:३६ शनिबार

लकडाउन अवधि बेलहिया नाका