नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले समस्याको मात्रै कुरा गरेर समाधान सम्भव नहुने बताएका छन्।
नेपाल निर्माण उद्योग परिषद्को कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले समस्यासँगै समाधानका उपाय पनि खोज्न आवश्यक रहेको उल्लेख गरे।
उनले भने, ‘हरेक समस्याको समाधान आफैंसँगै आउँछ। समस्याको गीत मात्रै गाएर केही हुँदैन, समाधानतिर लाग्नुपर्छ।’
नेपालमा रोजगारी नभएको र यहाँ बसेर केही गर्न नसकिने भन्ने धारणा गलत भएको उल्लेख गर्दै महासचिव पोखरेलले नेपालमै प्रशस्त अवसर रहेको बताए।
उनले उदाहरण दिँदै भने, ‘खाडी मुलुक गएर जति कमाइन्छ, त्योभन्दा दोब्बर भारतबाट नेपाल आएका साइकल ब्वाईले यहाँ कमाउँछन्। यसले नेपालमै अवसर छ भन्ने देखाउँछ।’
काठमाडौंसहितका सहरहरूमा भारतीय नागरिकहरूले धेरै क्षेत्र ओगट्न थालेको तथ्य उल्लेख गर्दै उनले भने, ‘नेपालमै अवसर हुँदाहुँदै नेपालीहरू विदेश पलायन हुनु दुःखद् छ। यहाँका सम्भावनाहरूको उपयोग गर्नुपर्ने बेला आएको छ।’
प्रकाशित: १० मंसिर २०८१ १६:१२ सोमबार