coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोनाको स्रोत भेटिन्न, तर संक्रमणले मृत्यु

कोरोना भाइरस संक्रमणले स्याङजाका अर्का एकजना पुरुषले बुधबार राती उपचारको क्रममा पोखरामा ज्यान गुमाए। कतैपनि ट्राभल हिस्ट्रि नभएका ती पुरुषको मृत्युले समुदायमा त्रास बढाएको छ। मृतक सहित उनका परिवारका कोही सदस्यको पनि ट्राभल हिस्ट्रि नहुँदानहुँदै पनि कोरोना संक्रमणले ज्यान जाँदा समुदायमा संक्रमण फैलिएको हुन सक्ने त्रास बढाएको स्वास्थ्यकर्मीले बताएका छन्। उनी सहित कोरोनाका कारण गण्डकीमा दुईजनाको ज्यान गएको छ। दुवैजना मृतक स्याङजाका हुन्।

जिल्ला स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माका अनुसार आँधीखोला गाउँपालिका–१ सिरुवारीका ती मृतकले गाउँमै किराना पसल संचालन गरेका थिए। स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा पनि उनको पहिलेको घर भएकोले त्यता पनि बाक्लै आउजाउ थियो। तर, कहाँबाट संक्रमण फैलियो भनेर अहिलेसम्म पत्ता लगाउन नसकेको उनले बताए।  

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराईरहेका  ५५ वर्षिय ती पुरुषको बुधबार राती साढे ११ बजे मृत्यु भएको अस्पतालले बताएको छ। ‘उनलाई कहाँबाट संक्रमण भयो भन्ने अहिलेसम्म श्रोत पहिचान भएको छैन, किराना पसल संचालन गर्ने भएकोले सामान ल्याउँदा वा लैजाँदा संक्रमितसँग सम्पर्क भएको अनुमान छ,’ शर्माले भने, ‘तर, यकिन श्रोत पहिचान भएको छैन।’  

गाउँमै पसल संचालन गरेर बसेकोले उनी र परिवारका सदस्यको ट्राभल हिस्ट्रि नभएको पनि उनले बताए। ट्राभल हिस्ट्रि बिना संक्रमित भएर ज्यान गएकोले संक्रमण समुदायमा फैलिएको हुनसक्ने त्रास बढाएको शर्माले बताए।  मृत्यु भएका पुरुषको परिवार र छिमेकीको भनाईका आधारमा अहिलेसम्म आँधीखोलाका ४० जनासँग कन्टयाक्ट ट्रेसिङ गरिएको शर्माले बताए। किराना पसलमा किनबेचका लागि आउने ग्राहकसँग उनको सम्पर्क भएको अनुमान छ। ‘मृतकको सम्पर्कमा आएका आँधीखोलाका ४० जनाको पहिचान भएको छ। तर, पुरानो घर अर्जुनचौपारीमा पनि भएकोले त्यहाँ पनि कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भईरहेको छ,’ उनले भने, ‘तर, श्रोत भेटाउन उत्ति सहज छैन।’ बिरामी परेर कोरोना संक्रमणको पुष्टि हुँदासम्म उनको स्वासप्रश्वासमा बढी समस्या भएर भेन्टिलेटरमा राख्नुपरेकोले पनि कन्ट्याक्ट ट्रेसिङमा समस्या भएको शर्माले बताए।  

‘सम्पर्क खुलाउन सक्ने व्यक्तिको ज्यान गईसकेको छ। परिवार र छिमेकीको भनाईको आधारमा हामीले पहिचान गर्ने हो,’ उनले भने,‘हामी त्यही कामका लागि खटिएका छौ। श्रोत भेट्न मुस्किल छ।’ शर्माका अनुसार ब्राम्हण समुदायका ती मृतक गाउँका धार्मिक गतिविधिमा पनि सहभागि हुने गरेका थिए। अर्जुनचौपारीमा श्राद्धमा पनि उनी पुगेका थिए। त्यसैले अर्जुनचौपारीका सम्पर्कमा आएका व्यक्ति पनि पहिचान गर्नुपरेको उनले बताए।  

शर्माका अनुसार सुरुमा उनलाई असार ६ गते ज्वरो आएको थियो। त्यसपछि उपचारको लागि  भोलिपल्ट पञ्चमुल स्वास्थ्यकेन्द्रमा पुगेका थिए। श्वासप्रश्वासमा समस्या भएपछि उनलाई जिल्लाका अस्पतालमा भेन्टिलेटर सुविधा नहुँदा थप उपचारका लागि पोखरा पठाइएको थियो। पोखरामै आएपछि उनको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको शर्माले बताए। कोरोना पुष्टि हुँदासम्म उनी भेन्टिलेटरमा पुगिसकेका थिए। त्यसले गर्दा पनि श्रोत पहिचानमा समस्या भएको थियो।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार तीनदिन अघि ती पुरुषलाई उपचारका लागि अस्पतालको आईसियुमा राखिएको थियो। निमोनिया र डायबिटिजले  समेत ग्रसित भएका उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखिएको आचार्यले बताएका छन्। उपचारको क्रममा मृत्यु भएको उनले बताए।

 

 

प्रकाशित: ११ असार २०७७ ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App