२ असार २०८१ आइतबार
image/svg+xml
समाज

टोल–टोलमा लाफिङ क्लव, घर–घरमा चुट्किला

चौकुने गाउँपालिकाको नीति–कार्यक्रम

चौकुने गाउँपालिकाले टोल–टोलमा लाफिङ क्लव र घर–घरमा हाँस्य चुट्किला पुस्तक वितरण गर्ने भएको छ । ‘हाँसौ, हसाऔँ र स्वस्थ बनौं’ नारालाई सार्थक बनाउन टोल–टोलमा ‘लाफिङ्ग क्लव’ स्थापना गर्ने र ‘चौकुने हाँस्य चुट्किला’ नामक पुस्तक प्रकाशन गरि घर–घरमा वितरण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले ‘योग गरौं, स्वास्थ्य बनौ’ भन्ने मुल नारालाई सार्थक बनाउनका लागि शुद्ध आचरण र आहार–विहारलाई दिनचर्याका अंग बनाउने अभियान पनि सञ्चालन गर्ने जनाएको छ ।  

गाउँपालिकाले विदेशबाट फर्केका नागरिकहरू तथा वेरोजगार युवाहरूलाई रोजगारी प्रदान गर्ने गरेर नीति, कार्यक्रम र बजेट ल्याएको अध्यक्ष धिरबहादुर शाहीले जानकारी दिए । ‘पालिकास्तरका आयोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, मुख्यमन्त्री रोजगार कार्यक्रमलगायतका कार्यक्रमका माध्यमबाट विदेशबाट आएका र बेरोजगारहरूलाई रोजगारी प्रदान गर्ने लक्ष्य हामीले राखेका छौं,’ अध्यक्ष शाहीले भने, ‘यसका लागि पूर्वाधार निर्माण, कृषि, पशुपालनलगायतका क्षेत्रमा आवश्यक मात्रामा बजेट छुट्याएका छौं ।’ उनले आगामी आर्थिक वर्षको बजेटले विदेशबाट रोजगारी गुमाएर फर्किएका युवाहरूलाई गाउँमै स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘विदेशबाट फर्केका युवाहरूको तथ्यांक संकलन गरेर उनीहरूको सीपलाई गाउँमै प्रयोग गर्ने लक्ष्य अनुसार नीति, कार्यक्रम र बजेट ल्याएका छौं,’ उनले भने, ‘बेरोजगार युवाहरूको सीप र क्षमता अनुसारको काम दिएर उनीहरूलाई गाउँमै टिकाउँछौं ।’  

नीति तथा कार्यक्रममा साल्म, कोइरालबास, रेक्चा, बागमारा, सिमलगैरा, धनरासलाई बाख्रापालन तथा फलफुलको पकेट क्षेत्रको रुपमा विकास गर्ने र यो क्षेत्रमा व्यावसायिक बाख्रापालन र फलफुल खेती गर्ने कृषकहरूलाई प्रोत्साहन स्वरुप अन्तर सरकारी सहलगानी गरिने उल्लेख छ । यस्तै दुना–टपरी, सिन्का, बेसार, मैनवत्ती, सावुनलगायतका उद्योगका लागि अनुदानको व्यवस्था गरिएको छ । 

गाउँपालिकाले आगामी आर्थिक वर्षमा सान्नेघारीमा बाबु–आमा र अभिभावकको अभाव र गरिवीका कारण पढ्न पाउने अधिकारबाट वञ्चित गरिव, विपन्न, असहाय, अशक्त, अपाङ्ग टुहुरा बालबालिकालाई आवासीय सुविधासहितको छात्रावास र बालगृह स्थापना गर्ने जनाएको छ । यस्तै गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूलाई स्वास्थ्य वीमा गर्नका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले ‘उपाध्यक्ष कोशेली कार्यक्रम’मार्फत सुत्केरी महिलाहरूलाई एक हजारको पोषण सामाग्री उपलब्ध गराउने छ । ‘सुत्केरी महिलाहरूलाई कुपोषणबाट मुक्त गराउन यो कार्यक्रम ल्याएका हौं,’ उपाध्यक्ष निर्मला रानाले भनिन्, ‘उपाध्यक्ष कोसेली भेटमार्फत प्रति सुत्केरी एक हजार रुपैयाँको पोषण सामग्री खरिद गरी उपलव्ध गराइने छ ।’

छोरी सुरक्षा कार्यक्रमलाई प्रभावकारी र दीगोपन दिनका लागि प्रदेश सरकारसंग समन्वय गरेर ‘बैंक खाता छोरीको : सुरक्षा जीवन भरीको’ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । यस्तै बढीमा दुई ओटा छोरी जन्माएर बन्ध्याकरण गर्ने परिवारलाई सम्मान तथा पुरस्कारको व्यवस्था पनि आगामी आर्थिक वर्षको बजेटमा गरिएको छ ।  

‘हरित चौकुने’को नारालाई सार्थक रुप दिन प्रत्येक वडाका नर्सरी स्थापना र ‘एक घर, ५१ विरुवा’ अभियान सञ्चालन गरिने अध्यक्ष शाहीले जानकारी दिए । गाउँपालिकालाई मादक पदार्थ सेवनमुक्त घोषणा गर्ने अभियान अन्र्तगत मदिरा नियन्त्रण कार्यविधि निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘चौकुनेलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने दीर्घकालीन सोचलाई साकार पार्नका लागि मापसे निरुत्साहन अभियान सञ्चालन गर्न मदिरा नियन्त्रण कार्यविधि जारी गर्नेछौं,’ अध्यक्ष शाहीले भने, ‘टोल, वडा हुँदै सिंगो गाउँपालिकालाई मदिरामुक्त घोषणा गर्ने लक्ष्य अनुसार बजेट छुट्याएका छौं ।’ यस्तै महिला हिंसा न्युनिकरणका लागि ‘महिला–पुरुष मिलिजुली अभियान’ सञ्चालन गरी सोच र व्यावहारमा सकारात्मक परिवर्तन ल्याइने उल्लेख छ ।

प्रकाशित: ११ असार २०७७ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App