१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

असारे विकासको बेथिति : घर भत्काएर कालोपत्रे बाटो

चितवनको भरतपुर महानगरपालिका १० मा दुई घरको बीचमा बाटो पिच गर्ने तयारी गरिँदै । तस्बिर : सूर्यप्रकाश/नागरिक

बास मासेर विकास स्वीकार्य हुन्छ ? अहँ हुँदैन । विकासका लागि उठीबास लगाउन पाइन्छ ? अहँ पाइँदैन । बाटो बिस्तार गरी कालोपत्रे गर्ने नाममा घरको बार्दलीमुनिको भाग (पेटी) नै भत्काएर भर्याङको मुख त्यही बाटोमै खुल्ने अवस्था आएपछि उनले पनि अस्वीकार गरिन् । तर असारे विकासको नसामा डुबेको समाजको अगाडि उनको केही लागेन ।  

उनी हुन् ५३ वर्षीया एकल महिला चन्द्रकला पौडेल । यो घटना हो चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० को । घरपछाडिको पर्खाल भत्काएर नपुगी घरको पेटी नै भत्काएर कोठाको संघारमै बाटो ल्याउन रोक्ने प्रयास गर्दा उनी र उनकी माइत आएकी छोरीले २४ घण्टा प्रहरी हिरासतमा बिताउनु पर्यो ।  

आफूमाथि अन्याय भएको भन्दै पौडेलले जिल्ला अदालत चितवनमा घर भत्काउने काम रोक्न निषेधाज्ञा जारी गरी पाउँ भनी असार १ गते निवेदन दिइन् । उनको निवेदनमाथि सुनुवाई गर्दै जिल्ला अदालतले एक हप्तासम्म कुनै काम नगर्नु भनी विपक्षीका नाममा निषेधाज्ञा जारी गरेपछि काम रोकियो । असार ७ गते दुबै पक्षको कुरा सुनेपछि अदालतले घरको पर्खाल र पेटी भत्किइसकेको अवस्थामा काम रोक्नु नपर्ने भन्दै पौडेलको निवेदन खारेज गरिदियो । यसको सूचना पाउनेबित्तिकै टोलवासी जम्मा भएर कालोपत्रे बाटोको आधार (बेस) तयार गर्न थाले ।

समाजबाट एक्लो बनाइएकी एकल महिला चन्द्रकला पौडेलले माइत आएकी छोरीको सहारा लिएर बाटो बिस्तारको काममा अवरोध गरिन् । छोरीसहित उनी आफ्नो घरअगाडि बाटोमा थचक्कै बसिन् । टोलवासीले खबर गरेपछि प्रहरी आई सम्झाउन थाले । घरभित्र प्रवेश गर्ने मूलबाटो नै भत्काएर भर्याङसम्म बाटो बिस्तार गर्ने कुरामा उनले सहमति जनाइनन् । बास मास्ने कुरा उनलाई स्वीकार्य भएन । दुई गाडी प्रहरीको अगाडि पौडेल आमाछोरी दुई जनाको केही लागेन । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय भरतपुरमा पुर्याएर कालोपत्रे बाटोको आधार तयार पारियो ।

भरतपुर महानगरपालिका १० मा पिच गर्न तयारी अवस्थाको बाटोमाथिका दुई झ्याल । तस्बिर : सूर्यप्रकाश/नागरिक

चौबीस घण्टा प्रहरी नियन्त्रणमा बसेर फर्कंदा पौडेल परिवारको घर अगाडि कालोपत्रे सडकको आधार (बेस) तयार भइसकेको थियो । घरको पेटीमाथि रोडरोलर कुदिसकेको थियो । यसअघि वैशाख ३१ गते लगाइएको डोजरले पौडेलको घर छेउको पेटी र घर पछाडिको पर्खाल भत्काएको थियो । घरको पेटीमाथि कुदेको रोडरोलरले उनको मन पनि भत्कायो । सात महिना अघिदेखि टोल सुधार समिति, वडा कार्यालय, भरतपुर महानगरको न्यायिक समितहुँदै हेल्लो सरकारसम्म आफू अन्यायमा परेको निवेदन दिँदा पनि घर भत्कनबाट जोगाउन नसकेपछि उनी अदालतको शरणमा पुगेकी थिइन् । जति हारगुहार गरेपनि अन्ततः उनी असारे विकासको बेथितिको शिकार बनिन् ।

अमृत पथमा यो कस्तो विष ?

भरतपुर बसपार्कबाट बाइपासको बाटोहुँदै आँपटारीतर्फ जाँदा देब्रेतिर नहरचोक नजिकै रहेको छ अमृत पथ । बाइपासरोडदेखि पश्चिमतर्फ दुई सय ७३ मिटर बाटो बिस्तार गरी कालोपत्रे गर्न लागिएको हो । साबिकमा तीन मिटर कायम बाटो अहिले ६ मिटर बनाउन खोज्दा अमृत पथमा वैमनस्यताको विष फैलिएको छ ।

बिस्तार गर्न लागिएको बाटोमा ६० घरधुरीको बसोबास छ । बाटो बिस्तारका लागि १६ वटा पर्खाल, नौ वटा सेफ्टीट्याङ्की र तीन वटा पेटी भत्काइएको अमृत पथ ढल तथा पिच निर्माण उपभोक्ता समिति अध्यक्ष सीता बस्यालले जानकारी दिइन् । बस्यालका अनुसार, सांसद विकास कोषबाट प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलमार्फत् ढल निकासका लागि १७ लाख र कालोपत्रे बाटोको लागि बागमती प्रदेश सरकारको सशर्त अनुदान ३० लाख रुपैयाँ प्राप्त भएको छ । बाटोको लागि दस प्रतिशत श्रमदान र ढलका लागि प्रतिमिटर दुई हजार पाँच सय रुपैयाँ उठाइएको उनले जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाले तोकेको सडक मापदण्ड अनुसार ६ मिटरभन्दा सानो बाटो कालोपत्रे नहुने भएकोले अमृत पथमा बाटो बिस्तार गरी कालोपत्रे र ढल निर्माण गर्न लागिएको वडा नम्बर १० का अध्यक्ष एवं महानगरका प्रवक्ता अरुण पीडित भण्डारी बताउँछन् । ६ मिटरभन्दा साना बाटोमा मोज्याक ओछ्याउने वा ढलान गर्ने गरिएको जानकारी दिँदै वडाध्यक्ष भण्डारी भन्छन्, ‘अमृत पथमा सडक कालोपत्रे गर्ने काम रोकिँदैन । नियम अनुसार काम हुन्छ ।’

नक्सा एकातिर, बाटो अर्कैतिर

घरको सङ्घारमा आएको असारे विकासले उठीबास लगाउने त्रासमा रहेकी चन्द्रकला पौडेलकी छिमेकी कलावती रेग्मी एकल महिला पौडेलमाथि समाजले अन्याय गरेको बताउँछिन् । पौडेल निवासको पेटी फालेर बाटो बिस्तार गर्दा पनि बाटो ६ मिटर कायम नहुने उनको भनाइ छ । आफ्नो नाममा रहेका दुई वटा घडेरी र चन्द्रकलाको घरतर्फ जमिन मिचेर बाटो बिस्तार गरिएको कलावतीले बताइन् ।

कलावतीका पति यज्ञप्रसाद रेग्मी साबिकमा कायम तीन मिटरको बाटोको नक्साको आधारमा दायाँबायाँ बराबर जमिन छाडेर ६ मिटर नबनाई आफूहरूको जमिन मिचेर बाङ्गो बाटोलाई सिधा बनाउने काम भएको बताउँछन् । नक्सामा बाटोको कित्ता देखाउँदै रेग्मीले भने, ‘यहाँबाट बाटो बाङ्गिएको छ । यहाँ नक्सा एकातिर छ, बाटो अर्कैतिर बनिरहेको छ ।’

भरतपुर महानगरपालिका १० मा सडक पिच गर्न एक घरको बार्दलीमुनि भत्काइएको भाग । तस्बिर : सूर्यप्रकाश/नागरिक

प्रकाशित: १० असार २०७७ १४:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App