१६ चैत्र २०८० शुक्रबार
समाज

अंगिरा पासी घटनाको प्रहरी प्रतिवेदन : जातीय विभेदबाटै सृजित अपराध

जबरजस्तीकरणी, जातीय छुवाछुत र आत्महत्या दुरात्साहन अभियोगपत्र अदालत पेश

रुपन्देही देवदहकी १३ वर्षीया बालिका अंगिरा पासीको कथित तल्लो जात भएकै कारण जबरजस्तीकरणी गरि घटना घटाइएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धानमा देवदह ११ का २५ वर्षीय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि विरेन्द्र सहित उनका आमा र सानीआमाले जातीय विभेद गरि अंगिरालाई मृत्युको मुखसम्म पुर्याएको अनुसन्धानमा फेला पारेको छ । प्रहरी अनुसन्धानमा कथित माथिल्लो जातको केटा भएकै कारण विरेन्द्रले अंगिरामाथि पटक पटक जबरजस्तीकरणी गरेको समेत देखिएको छ ।  

जेठ १० गते जनप्रतिनिधि र समाजका अगुवाहरूले १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने कोईला भन्ने २५ वर्षीय विरेन्द्र भरलाई कारवाहीको सट्टा जिम्मा लगाइदिएका थिए । कथित तल्लो जात (दलित) भएकाले घर लैजान नमानेका विरेन्द्र र उनकी आमा अकाली भरले तल्लो जात भन्दै कुटपिट गरेको केहि घन्टामै रोहणी नदी किनार छेउको रुखमा झुन्डिएको अवस्थामा अंगिराको शव भेटिएको थियो । तल्लो जात भएकाले विरेन्द्र र उनको परिवारलाई केटीलाई अस्विकार गरेको, समाजले समेत केटाको जिम्मा लगाएपछि बाध्य भएर मृत्यूको रोज्न पुगेको प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।  

पोष्टमार्टम रिर्पोटले आत्महत्या देखाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले बताए । परिवारले हत्याको दावी गरेको भएपनि अनुसन्धानका क्रममा आत्महत्या देखाएको उनको भनाई छ । तर, अंगिरामाथि जबरजस्तीकरणी, जातीय भेदभाव र आत्महत्या गर्ने अवस्थासम्म पुर्याउने गरि अपराध भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि प्रतित सिंह राठौरले प्रहरी अनुसन्धानमा गम्भिर प्रकृतिको अपराध देखा परेको बताए । 

प्रहरीले अनुसन्धान प्रतिवेदन आईतबार सरकारी वकिललाई बुझाएको छ । सरकारी वकिल कार्यालयले जबरजस्तीकरणी, जातीय छुवाछुत र आत्महत्या दुरात्साहन गर्ने मुद्धाको अभियोगपत्र जिल्ला अदालत रुपन्देहीमा पेश गरेको छ । जिल्ला अदालतमा आरोपितहरूको बयान लिनेक्रम मंगलबारबाट शुरु भएको छ ।

पिडितका तर्फबाट सरकारी वलिक सहित अधिवक्ता शिव गौडेल र इन्दिरा आचार्यले निशुल्क बहसमा गर्ने भएका छन् । अंगिराकी आमा शान्तिले जेठ १३ गते इलाका प्रहरी कार्यालयमा केटा विरेन्द्र भर सहित आमा अकाली र ठूली आमा शितलीलाई विपक्षी बनाई जाहेरी दिएकी थिईन । सोही जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको हो । 

प्रहरी अनुसन्धानले गम्भिर अपराध गरि अंगिरालाई आत्महत्या गर्नुपर्ने बाध्यकारी स्थिती सृजना गरेको निष्कर्ष निकालेको छ । तर परिवारले भने हत्या नै भएको दावी गर्दै आएका छन् । जातीय विभेदकै कारण १३ वर्षीय बालिकाले मृत्यूवरण गर्नुपरेको अधिकारकर्मी विनोद पहाडीले बताए । उनले अदालतमा घटना पुगेको तर अझै पनि विश्वस्त हुन नसकेकाले दलित समुदाय आन्दोलनमा उत्रेको बताए । संयुक्त दलित संघर्ष समिति रुपन्देहीले सोमबार र मंगलबार अदालत अगाडि अंगिराको न्यायको माग गर्दै धर्ना सहित खबदारी प्रदर्शन गरेका थिए ।  

जनप्रतिनिधि र समाजका अगुवालाई अनुसन्धानमा ल्याइएन

१३ वर्षीय अंगिराको आरोपित विरेन्द्रको जिम्मा लगाउनमा देवदह ११ का वडाअध्यक्ष अम्बर बहादुर चौधरी सहित समाजका अगुवाहरूलाई भने प्रहरीले अनुसन्धानको दायरामा ल्याएन । कानुन बुझेका व्यक्तिहरूले बालिकामाथि जबरजस्तीकरणी हुँदा पनि न्याय दिनुको सट्टा विरेन्द्रको जिम्मा लगाएर पठाएकै कारण अंगिराले ज्यान गुमाउनुपरेको पिडित परिवार बताउँछन् । तर, प्रहरीले भने किटानी जाहेरीमा विपक्षी बनाएका तीन जनालाई मात्रै पक्राउ गरि अनुसन्धान गरेको थियो ।  

अनुसन्धान प्रतिवेदन अदालतमा पुगेसकेकाले सामाजिक रुपमा गम्भिर अपराध गरेका वडाअध्यक्ष र समाजका अगुवाहरूले भने छुटकारा पाउने भएका छन् । जाहेरी नदिनका लागि समेत पटक पटक  दबाब दिदै आएको विरेन्द्रको परिवारले अदालतमा घटना पुग्दा पनि विभिन्न धम्कीहरू दिदै आएका छन् । ‘अझै पनि न्याय नपाउने हो की भन्ने डर छ’ अंगिराकी आमा शान्तिले भनिन ।  

अंगिराको न्यायका लागि रुपन्देही सहित देशैभर दवावमूलूक प्रर्दशन भएपछि घटनालाई प्रहरीले संवेदनशिल रुपमा लिएको हो । जातीय भेदभावबाट सृजित अपराध भएकाले घटनामा संलग्नलाई छाडिए सडक संघर्षमा होमिने रुपन्देहीका दलित अगुवा किस्मत विश्वकर्माले बताए । उनले जातीय भेदभावकै कारण हत्या हुने, हिंसा हुने क्रम नरोकिएकाले प्रहरी, प्रशासन र अदालतप्रति आफूहरू संशकित रहेको बताए ।

प्रकाशित: ९ असार २०७७ ०९:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App