७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

उपत्यका भित्रिनेको भीडः प्रहरी भन्छ– मन्त्रीकै फोन आउँछ त, के गर्नु

संक्रमण फैलिने जोखिम बढ्दो

फाइल तस्बिर

सरकारले काठमाडौं उपत्यकामा लकडाउन खुकुलो गरी नाकाहरुमा कडाइ गरिएको बताइरहँदा उपत्यका भित्रिनेको संख्या भने बढेको छ। बाहिरी जिल्लाबाट उपत्यकामा आउनेको संख्या बढेपछि त्यसको दबाब प्रहरीलाई परेको छ।

प्रहरीले पास बोकेर आएका बाहेकलाई नाकाबाटै फिर्ता पठाइएको दाबी गर्दै आएको छ। तर नाकाहरुमा अवलोकन गर्दा भने अवस्था बेग्लै छ। शुक्रबार नागरिककर्मी थानकोट नाका क्षेत्र पुग्दा भनसुनका आधारमा उपत्यका छिर्नेको भीड नै देखियो। सरकारले प्रहरीलाई कडाइ गर्न भनेपनि दबाबमा परेर केहीलाई छाड्ने गरिएको नाकामा खटिएका प्रहरीले नै बताए। ‘हामीले सकेसम्म कडाइ गर्छौं तर मन्त्रीकै फोन आउँछ त,अनि के गर्नु,’ महानगरीय प्रहरी वृत्त थानकोटका एक प्रहरीले भने, ‘प्रहरीले चाहेर मात्रै कडाइ हुँदैन।’

प्रहरीले जथाभावी सवारीसाधन र यात्रुलाई उपत्यकामा प्रवेश गर्न दिएपछि यातायातकर्मीले पनि विरोध गरेका छन्। यातायातकर्मी रामबहादुर थापाले महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले आफूखुसी सवारीसाधन छाड्ने गरेको बताए। उनले आफू नाकाहरुमा उपस्थित भएर अवलोकन गर्दापनि एसएसपी ढकालले कैयौं यात्रु छाडेको र छाड्न आदेश दिने गरेको दाबी गरे।  

सुरुसुरुमा कडाइ गरेपनि पछिल्लो समय थर्मलगनले ज्वरोसमेत ननापी मानिसलाई उपत्यकामा प्रवेश दिइएको छ। यसले कोरोना संक्रमणको जोखिम बढाएको छ।  

‘मैले लामो समयदेखि यो क्षेत्रमा काम गर्दै आएको छु तर अहिले ट्राफिक प्रहरीले आफूखुसी सवारीसाधन उपत्यकामा प्रवेश गराएको छ, यसले झन् महामारी फैलने डर छ। प्रहरीले आफूखुसी यात्रुहरुलाई नाकाबाट प्रवेश गर्न दिएको प्रमाण मसँग छ,’ उनले भने। उनले नाकाहरुमा उपस्थित भएर हेर्दा चेकजाचमा पनि कडाइ नभएको बताए। सुरुसुरुमा कडाइ गरेपनि पछिल्लो समय थर्मलगनले ज्वरोसमेत ननापी उपत्यकामा मानिसलाई प्रवेश गर्न दिइएको उनको भनाइ छ। ‘हुनत प्रहरीको पनि आफ्नो समस्या होला तर भनसुन र पैसाको लोभका यस्तोबेला उपत्यकामा जथाभावी प्रवेश गर्न दिनुहुन्न,’ थापाले भने। यसरी जथाभावी प्रवेश दिँदा उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको उनले बताए।

महाशाखामा एसएसपी भीम ढकालले सक्दो कडाइ गरेको दाबी गरे। उनले जथाभावी ओहोरदोहोर गर्न पूर्ण रोक लगाइएको बताए। ‘हामीले बिनाकाम हिँड्नेलाई छाडेका छैनौं,’ उनले भने, ‘अनुमान गरेर यसोउसो भन्न मिल्दैन।’ उनका अनुसार लकडाउन अवधिमा प्रहरीले २५ सय सवारीसाधन नाकाबाट फिर्ता पठाएको छ। शनिबार पनि ८० वटाभन्दा बढी सवारीसाधन र २ सय यात्रुलाई विभिन्न नाकाबाट फिर्ता पठाइएको उनले दाबी गरे। ‘ठोस समस्या लिएर आएकालाई अवस्था हेरेर प्रवेश गर्न दिन्छौं अन्यथा फर्काउँछौं,’ उनले भने। उनले माथिल्लो तहका व्यक्तिहरुको फोन आएपनि प्रहरीले आफ्नो अडान नछाडी काम गरेको दाबी गरे।

प्रकाशित: ७ असार २०७७ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App