१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश २ मा स्वाबको चाङ, परीक्षण निराशजनक

मुलुकमै सबैभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का सबै क्वारेन्टिन सर्वसाधरणले भरीभराउ छन् । यहाँका क्वारेन्टिनहरूमा अधिकांश भारतबाट आएका हजारौँ नेपालीहरू छन् । आरडिटी परीक्षणमा अधिकांशको रिपोर्ट नेगेटिभ आइरहेपनि पिसिआर परीक्षणमा संक्रमणमा पोजेटिभ देखिएर संख्या बढ्दो छ । एकातिर संक्रमित बढ्दै गएको छ तर क्वारेन्टिनमा रहेकाहरूको स्वाब संकलन र परीक्षणको गति भने निराशजनक छ ।  

जनकपुर, वीरगंज र राजविराज गरी तीन ठाउँका पिसिआर मेसिनबाट स्वाब परीक्षण भइरहेको यो प्रदेशमा परीक्षणको दर एकदमै सुस्त छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभरमा हालसम्म ३४ हजार नौ सय ६७ जनाको स्वाब संकलन गरी परीक्षणकालागि प्रयोगशालामा पठाइएको छ ।  

तर बुधबारसम्म १० हजार एक सय ६४ जनाको स्वाब परीक्षणको नतिजा आउन अझै बाँकी छ । हालसम्म आएको स्वाब परीक्षणको नतिजा अनुसार दुई हजार सात सय १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना परीक्षणकालागि स्वाब दिएको करिब तीन सातादेखि कतिपय व्यक्ति रिपोर्टको पर्खाइमा छन् । 

निर्देशनालयका सूचना अधिकारी विजय झाका अनुसार क्वारेन्टिनमा रहेका करिब आठ हजार बढी व्यक्तिको स्वाब संकलन हुन अझै बाँकी छ भने भारतबाट स्वदेश फर्किएकाहरू क्वारेन्टिनमा आउने क्रम अझै जारी छ । स्वाब दिएको तीन सातासम्म समेत रिपोर्ट नआएपछि क्वारेन्टिनमा बस्नेहरू तनावमा छन् ।  

पिसिआर मेसिनको संख्या कम भएका परीक्षण सुस्त भएको सूचना अधिकारी झाले जनाए । ‘यहाँ औसतमा दिनको पाँच सय स्वाब संकलन भइरहेको छ तर तीनै ठाउँ गरी औषतमा दिनको तीन सय स्वाब मात्र परीक्षण हुन्छ । त्यसैले स्वाब दिएको करिब तीन हप्तासम्म कतिपय व्यक्ति रिपोर्ट पर्खेर बसिरहेका छन्,’ उनले भने । प्रदेश २ मा मात्र स्वाब परीक्षण सम्भव नदेखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, धुलिखेल, हेटौँडा लगायतका ठाउँमा पठाइने गरिएको उनले बताए । पिसिआर मेसिनको संख्या नथपिए परीक्षणको दर बढाउने कुनै उपाय नरहेको झाको भनाइ छ ।

प्रकाशित: ४ असार २०७७ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App