१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुत्केरीलाई हेलिकोप्टरमार्फत काठमाडाैं पठाइयाे

स्वास्थ्यमा समस्या आएपछि खोटाङकी एक सुत्केरी महिलालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीय अनिता राईलाई बिहीबार हेलिकोप्टरमार्फत प्रसूतिगृह थापाथली पठाइएको हो ।

बन्दाबन्दीको समयमा सुत्केरी भएकी तारालाई महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।  

सुत्केरी गराउन स्वास्थ्यचौकी खोटाङबजार पुगेकी ताराले बुधबार राति १ बजे छोरी जन्माएकी  थिइन् । तर सालनाल अड्किएपछि उनलाई उपचारमा पठाउनुपरेको हो । बिहानदेखि नै काठमाडौं पठाउने तयारी गरिए पनि प्रतिकूल मौसमका कारण दिउँसो ३ बजे मात्र सुत्केरीलाई थप उपचारका लागि काठ्माडौं पठाइएको आफन्त जगत किरातीले बताए ।

प्रतिनिधिसभा सांसद विशाल भट्टराई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल लगायतसँगको समन्वयमा सुत्केरीलाई थप उपचारमा पठाइएको हो । सुत्केरी राईको स्वास्थ्यमा रक्तस्रावको समस्या समेत देखिएको गाउँपालिका अध्यक्ष राईले बताए । बेलैमा हेलिकोप्टर ल्याउने प्रयास भए पनि वर्षा र कुहिरोका कारण सुत्केरीको उद्धारमा ढिलाइ भएको थियो ।  

अधिक रक्तस्राव हुँदा बिरामी परेकी ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी सिर्जना तामाङलाई गत चैत १५ गते राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारकी २३ वर्षीय रविता विक र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विकको उद्धार गरिएको थियो ।  

प्रकाशित: ४ असार २०७७ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App