१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश ५ मा नमुनाको चाङ, ७ हजार ९ सय ९९ स्वाब क्युमा

प्रदेश नं. ५ मा संक्रमितको संख्या हरेक दिन थपिदों छ। भारतबाट फर्केर क्वारेन्टाइनमा बस्नेको संख्या बुधबारसम्म २६ हजार १६७ छ। प्रदेश र केन्द्र सरकारले परीक्षणकालागि नमुना संकलन गर्न चाहिने भिटिएम प्रयाप्त उपलब्ध नगराएपछि अधिकाँस स्थानीय तहले भिटीएम किट आफै किनेर नमुना संकलन गरिरहेका छन्। तर त्यसको अनुपातमा परीक्षणको दायरा बढेको छैन।  

पहिले भन्दा स्वाब संकलनको दर बढेपनि पिसीआर परीक्षण गर्ने ल्याबहरुको क्षमता बिस्तार नगरीदा प्रयोगशालाहरुमा नमुनाको चाङ लागेको छ। बुधबार साँझसम्म  प्रदेशमा ७ हजार ९ सय ९९ वटा स्वाब परीक्षणको पर्खाइमा छन्। अहिले पिसिआर रिर्पोटकालागि दश/पन्ध्र दिनसम्म कुर्नु पर्ने बाध्यता छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा राजेन्द्र गिरीले १०/१२ दिनमा नमुनाको नतिजा उपलब्ध गराउन सकिने अवस्था रहेको बताए।  ‘उपलब्ध उपकरण र जनशक्तिले भेटेसम्म काम भइरहहेको छ। दैनिक २ सय स्याम्पलको नतिजा  दिइरहेका छौ तैपनि ल्याबमा १७ सय बढी नमुना थुप्रिएका छन’ डा गिरीले भने।  

प्रदेशमा ३ वटा प्रयोगशाला छन। ती मध्ये प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा १ हजार ७१० वटा नमुना क्युमा छन।  बाँकेको नेपालगञ्ज स्थित भेरी अस्पतालको प्रयोगशालामा ८ सय ८८ वटा र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा ४ हजार २६२ वटा नमुना परीक्षण हुन बाँकी छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला  काठमाण्डौ टेकुमा पठाइएका नमुना मध्ये ८ सय ६७ स्वाब परीक्षण हुन सकेको छैन।

प्रदेशका प्रयोगशालामा स्वाब थुप्रिएपछि  बाग्मती प्रदेशको हेटौडामा पनि नमुना पठाइएकोमा  बुधबार सम्म २ सय ६२ वटा नमुनाको रिर्पोट नआएको प्रदेशको स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले बताए। डा चौधरीले भारतबाट फकर्नेहरुको संख्या हवात्तै बढ्दा नमुना संकलन बढेको तर प्रयोगशालाहरुको क्षमता सोही अनुरुप नबढेको बताए। प्रयोगशालाको क्षमता बढाउन आवश्यक उपकरण तथा सामान र दक्ष जनशक्तिको व्यवस्थापन गनु पर्ने भएकाले ढिलाइ भएको उनले बताए। डा चौधरीले यो साता भित्र  भैरहवा र दाङको प्रयोगशालाको क्षमता बढाउन आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। ‘पहिले भैरहवा र दाङ्गको क्षमता बढाउँदैछौ। त्यसपछि भेरीको क्षमता बढाउने तयारी छ’ डा चौधरीले भने।  

पिसिआर रिर्पोट आउन ढिलाइ भएकै कारण प्रदेशका बिभिन्न जिल्लामा क्वारेन्टाइन भित्रै आन्दोलन गर्ने,भागेर घर जाने आत्महत्या लगायतका घटना हुन थालेका छन्। अर्घाखाँचीकै भूमिकास्थान नगरपालिकाको एक क्वारेन्टाइनमा बसेका ३५ जना ४ दिन अघि भागेपछि प्रहरीको सहयोगमा उनीहरुलाइ क्वारेन्टाइन फर्काउनु परेको थियो। भारतबाट आएर झण्डै एक महिनासम्म क्वारेन्टाइनमा बस्दा पनि रिर्पोट नदिइएको भन्दै क्वारेन्टाइनमा बसेकाहरु त्यहाँबाट निस्केर हिडेका थिए। बुधबार मात्रै अर्घाखाँचीकै शितगंगा ५ को हरि माविको क्वारेन्टाइनमा बसेका देवबहादुरले क्वारेन्टाइन परिषरमै झुण्डिएर आत्महत्या गरेका थिए।

आरडिटि पोजेटिभ आएकाहरुको समेत पिसिआर  रिर्पोट समयमै नआउदा निरासा बढेको र आत्महत्याका  घटना घट्न थालेको अर्घाखाँचीको शितगंगा नगरपालिका ५ का वडाध्यक्ष कमल पौडेलले बताए। पौडेलका अनुसार आरडिटि पोजेटिभ आएको र पिसिआर रिर्पोट दश दिन सम्म पनी नआउदा तनाव झेल्न गाह्रो भएको गुनासो देवबहादुरले आफन्त तथा संगै बस्नेहरुसंग गरेका थिए।  

अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले  पनि पिसिआर रिर्पोट आउन ढिलाइ हुँदा क्वारेन्टाइनमा बस्नेहरुमा नैरास्यता र आक्रोस बढेको बताए। ‘बरु कोरोना पोजेटिभ, नेगेटिभ जे भएपनि त्यही अनुरुप आफुलाइ तयार गर्छौ, रिर्पोट छिटो दिनुस। दोधारमा नराख्नुस तनाव भयो भनेर  क्वारेन्टाइनमा बस्नेहरुले  बारम्बार गुनासो गर्छन’ प्रजिअ पौडेलले भने।रीर्पोट आउन ढिलाइ भएकै कारण भारतबाट फर्केकाहरुलाइ महिना दिन सम्म क्वारेन्टाइनमै बस्नु पर्ने बाध्यता रहेको र त्यसले नकारत्मक प्रभाव पारीरहेको प्रजिअ पौडेलको भनाइ छ।

अहिले सम्म  प्रदेशमा ३० हजार ७ सय २१ वटा स्वाब लिइएको छ। त्यसमा २० हजार ८७७ केस नेगेटिभ आएको छ।  १ हजार ९ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। ८ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: ४ असार २०७७ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App