४ असार २०८१ मंगलबार
image/svg+xml
समाज

आत्महत्या गरेका दुईजनामा पनि संक्रमण पुष्टि

थप तीन संक्रमितको मृत्यु

प्रदेश ५ मा मृत्यु भएका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार मृत्यु भएकी महिला र अर्घाखाँचीको क्वारेन्टिनमा बुधबार बिहान आत्महत्या गर्ने ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो। यस्तै झुन्डिएर आत्महत्या गरेकी सुर्खेतकी एक युवतीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उता सुदूरपश्चिममा पनि दुईजना संक्रमितको मृत्यु भएको छ।

बाँकेको वैजनाथ गाउँपालिका–६ निवासी ४६ वर्षीया महिलाको सोमबार बेलुकी साढे ६ बजेतिर शंकास्पद मृत्यु भएको थियो। उनको सोमबार दिउँसो स्वाब संकलन गरिएकोमा मंगलबार बेलुकी ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।  

‘शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘रिपोर्ट पोजेटिभ आएपछि आज नेपाली सेनासहितको टोलीले दाह संस्कार प्रक्रिया अगाडि बढाएको छ।’ अस्पताल स्रोतका अनुसार गत जेठ ३० गते भर्ना भएकी महिलामा फोक्सोमा समस्या देखिएको थियो। सास फेर्न कठिनाइ भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। कोरोना संक्रमणको शंका लागेपछि उनको स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।  

रिपोर्ट नआउँदै मृत्यु भएपछि महिलाको शव अस्पतालको शवगृहमा राखिएको थियो। योसँगै बाँकेमा मृत्यु हुने कोरोना संक्रमितको संख्या दुई पुगेको छ। यसअघि नरैनापुर गाउँपालिका–५ निवासी २५ वर्षीय युवकको मृत्यु भएको थियो। भारतको मुम्बईबाट फर्केर आएका युवक क्वारेन्टिनमा बसिरहेको अवस्थामा मृत्यु भएको थियो। उनको पनि मृत्युपछि स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो। शिक्षण अस्पताल कोहलपुरमै कैलालीका एक व्यक्तिको पनि शंकास्पद मृत्यु भएको छ। मृतकको पनि स्वाब संकलन गरेर भेरी अस्पतालको प्रयोगशालामा पठाइएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। उनको भने अहिलेसम्म रिपोर्ट आइसकेको छैन।  

आत्महत्या गरेका पुरुषमा कोरोना  

अर्घाखाँचीको शीतगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीले बताए। आत्महत्या गरेका पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधिअनुरूप मृतकको शव व्यवस्थापन गर्ने तयारी भइरहेको अर्घाखाँचीका प्रजिअ विजयराज पौडेलले बताए।

शीतगंगा नगरपालिका–५ घर भएका ती पुरुष जेठ १० गते भारतको पन्जाबबाट फर्केका हुन्। भारतबाट फर्केकै दिनदेखि उनी क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिनमा बसेको १४ दिनमा गरिएको आरडिटीमा रिपोर्ट पोजेटिभ आयो। उनीसहित अन्य तीनजनाको रिपोर्ट पोजेटिभ आएपछि जेठ २३ गते नै थ्रोट स्वाब झिकी २४ गते परिक्षणका लागि भैरहवा पठाइए पनि रिपोर्ट नआउँदै बुधबार बिहान उनले आत्महत्या गरे। आफू सुत्ने बिस्ताराको तन्दाको पासो लगाई स्कुलपछाडिको रूखमा झुन्डिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए।  

आरडिटी पोजेटिभ देखिएको र पिसिआर रिपोर्ट आइनसकेको अवस्थामा शव व्यवस्थापनमा केही ढिलाइ भए पनि रिपोर्ट पााउनेबित्तिकै प्रक्रिया सुरु गरिएको बुढाथोकीले बताए। रिपोर्ट आउन ढिलाइ हुँदा दिनभर मृतकको शव रूखमै झुन्डिरह्यो।

प्रदेश प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार बुधबार मृतकसहित अर्घाखाँचीका ९७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने गुल्मीका दुईजनामा पनि पिसिआर रिपोर्ट पोजेटिभ छ। ‘दिउँसो आएका रिपोर्ट प्रदेश र केन्द्रमा पठाइसकेका छौं। अहिले साँझसम्म थपिएका रिपोर्ट पनि प्रदेश र केन्द्रमा पठाउँदैछौं,’ डा. गिरीले भने। उनले परीक्षणमा ढिलाइ नभई प्रयोगशालाको क्षमताभन्दा धेरै नमुना थुप्रिँदा समस्या भएको बताए। दैनिक दुई सय नमुना परीक्षण क्षमताको ल्याबमा नमुनाको चाङ लागेको उनले बताए। उनका अनुसार अहिल प्रदेश प्रयोगशालामा १७ सयभन्दा बढी नमुना थुप्रिएका छन्।  

आत्महत्या गरेकी युवतीमा पनि कोरोना

झुन्डिएर आत्महत्या गरेकी सुर्खेतको सिम्ता गाउँपालिका–८ की २५ वर्षीया युवतीमा पनि कोरोना पोजेटिभ देखिएको छ। उनले सोमबार घरनजिकै झुन्डिएर आत्महत्या गरेकी थिइन्। बुधबार गरिएको पिसिआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।  

युवती पति र तीन वर्षकी छोरीसहित गत जेठ १२ गते भारतबाट फर्किएकी थिइन्। ‘मृतक युवती स्थानीय तहले बनाएको क्वारेन्टिनमा १४ दिन बसेर घर फर्किएकी थिइन्,’ महाशाखा प्रमुख तिवारीले भने। आरडिटी परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनलाई घर पठाइएको थियो।  

उनको शव व्यवस्थापनका लागि नेपाली सेनालाई अनुरोध गरिएको तिवारीले जानकारी दिए। यसअघि मृत्युपछि सुर्खेत, दैलेख र डोल्पाका एकएकजनामा कोरोना पुष्टि भएको थियो।

कैलालीमा पनि कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएको हो।  

कैलालीको लम्की चुहा नगरपालिका–२ की ४३ वर्षीया महिलाको मंगलबार मृत्यु भएको थियो। बुधबार उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। टाउकोमा चोट लागेका कारण कोहलपुरमा उपचार गर्न गएकी उनको मंगलबार मृत्यु भएपछि स्वाब संकलन गरेर भेरी अञ्चल अस्पताल पठाइएको थियो। परीक्षण गर्दा बुधबार बेलुकी कोरोना पुष्टि भएको नेपालगन्ज मेडिकल कलेजका सहनिर्देशक डाक्टर नितेशकुमार कनौडियाले बताए। उनको शव अहिलेसम्म मेडिकल कलेजमै राखिएको छ।

यस्तै गोदावरी नगरपालिका–४ का ४६ वर्षीय कोरोना संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकृतले दिलीप श्रेष्ठले बताए। मृतक बस मालिक र चालकसमेत हुन्। उनले भारतबाट आएका नेपालीलाई महेन्द्रनगरको गड्डाचौकीबाट क्वारेन्टिनमा पु¥याउथे। सोही क्रममा उनमा कोरोना पुष्टि भएपछि आइतबार बिहान सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए उनको उपचारका क्रममा मृत्यु भएको हो।

 

 

 

 

 

 

 

प्रकाशित: ४ असार २०७७ ००:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App